राप्तीसोनारी:शुक्रबारदेखि परेको निरन्तर झरीका कारण बाँकेको नदी तटीय क्षेत्रहरू जोखिममा परेका छन् । बर्षात्का कारण बाँकेका नदीका सतह बढ्दै जाँदा तटीय क्षेत्रका केही घरहरू शनिबार डुबानमा परेका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बर्षा निरन्तर भएमा नदीको सतह अझै बढ्न सक्ने भएका ‘हाई अलर्ट’मा रहेको जानकारी दिएका छन् । डुबानको जोखिम बढेकाले उद्दारका लागि सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताएका छन् । उनले शनिबार बाढीको जोखिम रहेका स्थानहरूको अनुगमन गरेको जानकारी दिंदै जोखिममा रहेकाहरूलाई सुरक्षित स्थानमा सार्न थालिएको जानकारी दिए ।
शनिबार बाँकेको राप्ती नदीले खतराको तह पार गरेको छ । शनिबार राती ७ः३० बजे राप्ती नदी कुसुमको जलमापन केन्द्रमा पानीको सतह ८ः१० मिटर मापन भएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले जानकारी दिएका छन् । उनले अबेर रातीसम्म पानीको सतह सामान्य घटबढ भैरहेको उल्लेख गर्दै आइतबार विहानसम्म सतर्कता अपाउन अनुरोध गरिएको जानकारी दिए ।
शनिबार जोखिममा रहेका १ सय ३५ जनालाई सुरक्षित स्थानमा सारिएको छ । डुडुवा गाउँपालिका–१ पाझाका ३५ जना बालबालिका, जेष्ठ नागरिक, महिला र डुडुवा १ कै कृषि चौफेरीका एक सय जना बालबालिका, जेष्ठ नागरिकलाई सुरक्षित स्थान सामुदायिक भवनमा सारियो आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले जानकारी दिए ।
राप्ती नदीमा जलस्तर बढेपछि नरैनापुर, राप्तीसोनारी र डुडुवामा शनिबार दिनभर जसो चेतावनीको साइरन बजाइएको थियो । नदी तटीय क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत सतर्क बन्न सूचित गरिएको छ । नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउनुका साथै नदीमा माछा मार्ने, नुहाउने, ओहोरदोहोर गर्ने, दाउरा सङ्कलन गर्नेजस्ता कार्य नगर्न आग्रह गरिएको छ ।
राप्तीमा पानीले खतराको तह पार गरे राप्तीसोनारी गाउँपालिकाको बैजापुर, बिनौना, फत्तेपुर, डुडुवा गाउँपालिकाको होलिया, चौफेरी, बेतहनी, कम्दी तथा नरैनापुरको गङ्गापुर, कुदरबेटवा, सोनवर्षालगायत क्षेत्र डुबानमा पर्ने गरेका छन् । राप्तीसोनारी गाउँपालिका–१ का विभिन्न गाउँमा बाढी पस्न थालेको स्थानीयले बताएका छन् । बाघखोर गाउँका १० घरमा राप्तीको पानी पसेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले बाढीमा फसेको एक जनालाई शनिबार उद्दार गरेको जानकारी दिएको छ । राप्तीसोनारी गाउँपालिका वडा नं. ४ मोरङ्गा स्थित गौशालामा काम गर्ने सोनुराम थारु मोरङ्गा खोलामा पानीको बाहाब बढ्न गई अलपत्र परेका थिए । उनलाई इप्रका बैजापुरबाट खटिएको प्रहरी टोलीले सकुशल उद्दार गरेको थियो । गाईबस्तु गौशालामा नै सुरक्षित रहेको प्रहरीले जनाएको छ ।