बाँके:बाँकेमा जग्गाको सरकारी मूल्य प्रतिकट्ठा १ करोड रुपियाँसम्म वृद्धि गरिएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा आइतबार बसेको घरजग्गा न्यूनतम मूल्य निर्धारण समितिको बैठकले नेपालगञ्ज उपमहानगरको जग्गालाई ‘क’ देखि ‘छ’ सम्म वर्गीकरण गरेर मूल्य निर्धारण गरेको हो ।
बैठकले बाँकेका आठ वटै स्थानीय तह अन्तर्गत जग्गाको न्यूनतम मूल्याङ्कन गर्दै मूल्य वृद्धि गरेको छ । सरकारी मूल्याङ्कन अनुसार सबैभन्दा बढी मूल्य नेपालगञ्जको रहेको छ ।
घरजग्गाको न्यूनतम मूल्य निर्धारण समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले आर्थिक वर्ष २०८१/०८२ का लागि नेपालगञ्ज उपमहानगरपालिका भित्रको क वर्गमा पर्ने जग्गाको न्यूनतम मूल्य प्रतिकट्ठा एक करोड १४ लाख ५९ हजार ७ सय ५० सम्म कायम गरिएको बताउनुभयो । उहाँका अनुसार यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५ प्रतिशतले बढेको हो ।
आर्थिक वर्ष २०७९/८० मा ८६ लाख ६५ हजार प्रतिकट्ठा कायम गरिएको थियो भने आर्थिक वर्ष २०७८/०७९ मा सो जग्गाको मूल्य प्रतिकट्ठा ६८ लाख ७७ हजार थियो भने २०८०/०८१ मा प्रतिकट्ठा मूल्य ६७ लाख ८५ हजार रुपियाँ कायम गरिएको थियो । आव ८०/८१ का लागि ख वर्गको क्षेत्रमा प्रतिकट्ठा ५९ लाख रुपियाँ न्यूनतम मूल्य तोकिएको थियो ।
सोही प्रकारले आर्थिक वर्ष २०७८/०७९ मा ख वर्गको जग्गाको मूल्य प्रतिकट्ठा ४८ लाख ९३ हजार कायम गरिएको थियो । नेपालगञ्ज उपमहानगरपालिकामा आर्थिक वर्ष २०८०/८१ का लागि ग वर्गको क्षेत्रमा प्रतिकट्ठा ४८ लाख ९५ हजार, घ वर्गको प्रतिकट्ठा ३१ लाख ६० हजार, ङ वर्गको पक्की सडकसँग जोडिएको जग्गाको प्रतिकट्ठा ३० लाख ३५ हजार, ग्राभेल बाटोसँग जोडिएको प्रतिकट्ठा २९ लाख २० हजार रुपियाँ कायम गरिएको थियो भने २०८१/०८२ का लागि उक्त जग्गाहरूमा प्रति कठ्ठा १५ प्रतिशत मूल्य बढाउने निर्णय गरेको छ ।
त्यस्तै, क देखि छ वर्गमा नपर्ने जग्गा बाहेक र कुनैपनि सडकमा नपर्ने खेती प्रयोजनको जग्गालाई प्रतिकट्टाको १५ प्रतिशत मूल्य निर्धारण गरिएको छ । जिल्लामा जग्गाको सरकारी मूल्याङ्कनभन्दा वास्तविक किनबेचको मूल्याङ्कन भने निकै बढी रहेको छ । सोही आधारमा जग्गाको कारोबार बढी हुने गरेको छ । बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाका उप मेयर कमरुद्दीन राई, नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह, राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिषा थारु र मालपोत कार्यालयका प्रतिनिधिहरू सहभागिता रहेको थियो ।