मुग्लिन:नारायणगढ मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान साढे तीन बजे पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी सोही सडक खण्डको १७ किलोमा अर्को यात्रुबसमा पहिरोबाट झरेको ढुंगाले लागेर चालकको निधन भएको पनि प्रहरीले जनाएको छ । सिमलतालमा दुईवटा बस पहिरोमा बगेको भन्ने जानकारी आए पनि एउटा बसको केही भाग मात्र देखिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए । बस काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स रहेको बसबाट हाम फालेका ३ यात्रुले बताएको डीएसपी रिजालले जानकारी दिए ।
चितवनका प्रमुख जिल्ला अधिकारीका इन्द्रदेव यादवका अनुसार सिमलतालमा बगेका दुई बसमध्ये वीरगन्जबाट काठमाडौँ गइरहेको एन्जल बसमा २४ जना र काठमाडौंबाट गौर आइरहेको गणपति डिलक्समा ४१ जना यात्रु रहेका छन् ।
त्यसैगरी सोही सडक खण्डको १७ किलोमा बिहान साढे तीन बजे आसपासमा खसेको पहिरोबाट आएको ढुंगाले लागेर बसका चालकको निधन भएको छ । बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसलाई ढुंगाले लाग्दा गम्भीर घाइते भएका चालक नवलपरासीका मेघनाथ विकको उपचारका क्रममा चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा निधन भएको डीएसपी रिजालले बताए । उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन भएको चितवन प्रहरीका एसपी भावेश रिमालले बताए ।
चितवनमा भएको दुर्घटना स्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी तथा उद्धार कार्य सुरु गरेको छ । शुक्रवार बिहान ३ बजे भरतपुर २९ सिमलतालमा गएको पहिरोमा परेर दुई वटा गाडी बेपत्ता भएको थियो । दुवै गाडीमा गरी ६५ जना सवार थिए ।
स्थानीय बासीका अनुसार केही यात्रुले झ्यालबाट फलानेर बचेको र केही अझै बेपत्ता भएकाले खोजी सुरु गरिएको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
भरतपुर महानगरपालिका वडा नं। २९ सिमलताल भन्ने ठाउँमा अविरल वर्षाका कारण ठूलो पहिरो झरी बिरगंजबाट काठमाडौँ जाँदै गरेको विङर गाडी र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका हुन ।