काठमाण्डौ:नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अब उथलपुथलले केही हुन नसक्ने बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले प्रचण्डको जीवन नै उथलपुथल भएको दाबी गरे।
‘अरुलाई दोष दिएर उम्कने ठाउँ छ जस्तो लाग्दैन। म कमरेड प्रचण्डलाई भन्न चाहन्छु तपाईंको जीन्दगी उथलपुथल नै छ। तर, हिजो तपाईंको उथलपुथलको औचित्य थियो होला। तर, अब त्यो उथलपुथले थचक्क बस्नुबाहेक केही देखिँदैन। अब उथलपुथलले काम गर्दैन,’ उनले भने। साथै, उनले प्रचण्डलाई बलियो प्रतिपक्ष बन्नका लागि कांग्रेस र एमालेले सुवर्ण अवसर समेत दिएको उनले बताए।
नेपाली कांग्रेसले आफ्नो पार्टीले नेपालको संविधानको रक्षा गर्ने भन्दै कसैको अर्ती उपदेश आवश्यक नभएको बताएको छ। पार्टीको तर्फबाबट शुक्रबार प्रतिनिधिसभामा बोल्दै प्रमुख समेतक समेत रहेका सांसद रमेश लेखकले कांग्रेस पार्टी जन्म भएकै बेलादेखि लोकतन्त्रका लागि लडेको पार्टी रहेको जिकिर गरे।
‘नेपाली कांग्रेस जन्मिएदेखि लोकतन्त्रको लागि लडेको पार्टी हो। त्यसकारण यो लोकतान्त्रिक संविधानलाई कमजोर पार्ने कुरामा कांग्रेसमाथि काल्पनिक आक्षेप लगाउने कुरामा बन्द गरिनुपर्छ। यो संविधान हामीले ल्याएको हो, संविधानको रक्षा हामी गछौँ। हामीलाई कुनै अर्ति उपदेश आवश्यक छैन,’ उनले भने।
साथै, उनले दुईवटा ठूला पार्टी मिल्दा कोही आत्तिनुपर्ने अवस्था नरहेको जिकिर गरे। ‘दुईवटा पार्टी मिल्नेबित्तिकै तर्सिनुपर्ने, आत्तिनुपर्ने छैन। नयाँ घटना भयो भन्ने पनि होइन। इतिहासमा यसरी ठूला पार्टी मिलेका छन्। हामी यसरी मिल्दैगर्दा नयाँ इतिहास निर्माण गरेका छौँ,’ उनले भने।