बाँके:जिल्ला प्रशासन कार्यालय बाँकेले उच्छृंखल व्यवहार गरेको भेटेमा कानुनी कारवाही गर्ने चेतावनी दिएको छ । प्रशासनले शनिबार सूचना जारी गरेर पर्वलाई लक्षित गर्दै विभिन्न खालका गतिविधि नगर्न र गरे कडा भन्दा कडा कानुनी कारवाही गर्ने चेतावनी दिएको छ ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीले सूचना जारी गर्दै मुस्लिम समुदायको महान् पर्व मोहर्रम शुरुवात भइसकेको सन्दर्भमा धार्मिक व्याली तया कार्यक्रमहरू सञ्चालन भइरहेको र यसलाई शान्तिपूर्ण ढंगबाट सम्पन्न गर्न जिल्लास्थित सुरक्षा संयन्त्र र सद्भाव समिति अहोरात्र खटिइरहेको बताएका छन् ।
पर्वको सिलसिला जोड्दै सहायक प्रमुख जिल्ला अधिकारी माझीले पर्वको संवेदनशील क्षणमा राति अबेर बिना काम हिँड्ने मोटरसाइकल लगायतका सवारी साधन तीव्र गतिमा चलाउने, हातमा रड लगायतका घातक घरेलु हतियार प्रदर्शन गर्ने तथा बोकेर हिड्ने कार्य नगर्न जानकारी गराएका छन् । उनले सामाजिक सञ्जालमा विद्वेष फैलाउने खालका सामग्री सम्प्रेषण गर्ने जस्ता उच्छृंखल व्यवहार नगर्न-नगराउन र कसैले गरेको देखेमा प्रहरीलाई जानकारी दिन अनुरोध गरेका छन् ।
‘सूचनाको बर्खिलाप कुनै किसिमका गतिविधि गरे-गराएको पाइएमा प्रचलित कानून बमोजिम कडाभन्दा कडा कारवाही भइजाने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ,’ सहायक प्रमुख जिल्ला अधिकारी माझीले सूचनामा भनेका छन् ।