१० मंसिर २०८१, सोमबार

बाँकेमा असार महिनाभर ६४ जना फरार प्रतिवादी पक्राउ
  • न्युज मानसराेवर

नेपालगन्ज :  जिल्ला प्रहरी कार्यालय बाँकेले असार महिनाभर ६४ जना फरार प्रतिवादीलाई पक्राउ गर्दै कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा बुझाएको छ । बाँके प्रहरीले ३ वर्ष ३ महिना ११ दिन कैद र ३ लाख १३ हजार ७२७ रुपैयाँ जरिवाना असुलउपर गर्नुपर्ने भएका ६४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ ।

त्यस्तै असार मसान्तसम्म प्रहरीले ८५ लाख ३६ हजार ८ सय रुपैयाँ बराबरको अबैध भन्सार छलीको सामान, अवैध तस्करीमा प्रयोग भएको एउटा भ्यान र ३ वटा मोटरसाइकल बरामद गरी आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको जानकारी दिएको छ ।

अवैध तस्करी रोक्ने क्रममा बाँके प्रहरीले अबैधरुपमा भारतबाट ल्याइएको १ लाख ६० हजार रुपैयाँको ब्रोइलर कुखुराको चल्ला बरामद गरेर पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जमा बुझाएको जनाएको छ।

त्यस्तै बाँकेभर गरिएको ट्राफिक कारबाहीतर्फ २७५४ वटा सवारी साधनलाई कारवाही गर्दै असारभर २१ लाख ४९ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको जिल्ला प्रहरीले बाँकेले जानकारी दिएको छ ।

प्रहरीले असारमा दर्ता भएका १४५ वटा मुद्दामा ९१ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याएको छ भने ५४ वटा पेन्डिङ भएका मुद्दालाई फर्छ्यौट गरेको हो ।

असारभर प्रहरी कार्यालयमा परेको ठाडो उजुरीतर्फ  ४२४ वटा मुद्दा प्राप्त भएको ३५२ फर्छ्यौट भएकोमा १० वटा सम्बन्धित निकायमा पठाइएको र ६२ वटा बाँकी निबेदन फर्छ्यौट प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँँगीले बताए ।

लागूऔषध ओसारपसारबिरुद्धको अपरेसनमा बैंक प्रहरीले २५ ग्राम ९४० मिलिग्राम ब्राउनसुगरसहित १७ जना ओसारपसारकर्ताहरुलाई पक्राउ गरेर कानूनी दायरामा ल्याएको छ ।

बाँके प्रहरीले असार ३० गते नेपालगन्ज-४ स्थित आफ्नै घरबाट हराएको मोटरसाइकल फेला पार्दै सम्बन्धित सवारी धनीको जिम्मा लगाएको जानकारी दिएको छ भने  हराएका १५ थान मोबाइल फेला पारेर सम्बन्धित ब्यक्तिलाई बुझाएको छ । त्यस्तै प्राचीन स्मारक (बुद्धको मुर्ती) सहित ३ जना ब्यक्तिहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याएको डीएसपी डाँँगीले जानकारी दिएका छन् ।

महिला तथा बालबालिका सम्बन्धि मुद्दातर्फ असारभर बाँके प्रहरीमा १४ वटा मुद्दा दर्ता भएकोमा १२ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याएको हो । घरेलु हिंसातर्फ ७० वटा उजुरी प्राप्त भएकोमा ४६ वटा फर्छ्यौट भएको र बाँकी अनुसन्धानको क्रममा रहेको जिल्ला प्रहरीले बाँकेले जनाएको छ ।

  • २ श्रावण २०८१, बुधबार प्रकाशित

  • Nabintech