१० मंसिर २०८१, सोमबार

४२औँ विपी स्मृति दिवस, कोहलपुरमा भोजन वितरण

बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागु गर्नुभएका तत्कालिन जननिर्वाचित प्रधानमन्त्रि विपी कोईरालाको अहिले पनि अभाव

  • न्युज मानसराेवर

कोहलपुर,बाँके:प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४२औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । आजै नेपाली काङ्ग्रेस प्रतिनिधिसभा क्षेत्रिय कार्य समिति क्षेत्र नं १ प्रदेश सभा (ख) को आयोजनामा कोहलपुर ५ मा रहेको निलसागर आश्रममा त्यहा रहेका अनाथ अशक्तहरुलाई भोजन वितरण गरिएको नेपाली काङ्ग्रेस बाँके क्षेत्र नं १ प्रदेश (ख) सचीव भिम पौडेलले न्युज मानसरोवरलाई वताएका छन ।

लुम्विनी प्रदेश सदस्य टेक नारायण भुषालको आतिथ्यतामा गरिएको भोजन वितरण कार्यक्रममा नेपाली काङग्रेसका जिल्ला उपसभापति कृष्ण कार्कि, नेताहरु बलराम शर्मा, चिन्तामणि धिताल, लक्ष्मण पौडेल, भिम पौडेल लगाएतका नेताहरुको उपस्थितीरहेको निलसागर आश्रम कोहलपुरकी अन्जु निलसागरले वताईन । उनले विपीको स्मृतिमा असहाय अशक्तहरुलाई भोजन वितरण गरेको भन्दै यस्तो पवित्र कार्यको लागि खुलेर प्रशंसा गरेकी छिन ।

राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्दै आउनु भएका विपीको स्मृतिमा नेपाली काङ्ग्रेसले कोहलपुरका १५ वटै वडामा बृक्षारोपन कार्यक्रम समेत सम्पन्न गरेको छ । बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागु गर्नुभएका तत्कालिन जननिर्वाचित प्रधानमन्त्रि विपी कोईरालाको अहिले पनि अभाव खडकिरहेको नेपालीहरुले अनुभुत गरिरहेका छन ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्याउनुभएको छ । कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उहाँ पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।

नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उहाँका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवं ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छ ।

विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो ।

विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त हुनुभएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभएको थियो । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठवटा ज्यान मुद्दाको पर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उहाँ स्वदेश फर्कनुभएको थियो । उहाँले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ ।

प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले स्वतन्त्र रूपमा चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पुर्याउन योगदान दिनुभयो । प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री, संसद्का सभामुख एवं मन्त्रीहरुलाई बन्दी बनाइएको सुन्दरीजल बन्दीगृहलाई २०६१ साल भदौ २४ गते बिपी सङ्ग्रहालयका रूपमा उद्घाटन गरियो । बिपीको जीवनका महत्त्वपूर्ण चिजबीजको सङ्कलन गरी दर्शनीय बनाइएको सङ्ग्रहालय २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भई हाल पुनःनिर्माण गरिएको छ ।

सङ्ग्रहालयमा बिपीको जीवनका महत्त्वपूर्ण सामग्रीका साथै २००७ सालको क्रान्तिमा प्रयोग गरिएको ट्याङकर, कांग्रेसले २०२९ सालमा क्रान्तिलाई खर्च जुटाउन अपहरण गरेको नेपाल वायुसेवा निगमको विमान पनि राखिएको छ । बिपी स्मृति दिवसका अवसरमा कांग्रेस, भ्रातृ संस्था र बिपी सङ्ग्रहालय समितिले मुलुकभर विभिन्न कार्यक्रम गर्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

  • ६ श्रावण २०८१, आईतवार प्रकाशित

  • Nabintech