२३ भाद्र २०८१, आईतवार

नेपालगन्ज नाकाबाट एक अर्ब ११ करोड बढीको आलु आयात
  • न्युज मानसराेवर

नेपालगन्ज:  बाँके पश्चिम नेपालका विभिन्न जिल्लामा तरकारी खेती गर्ने किसान र उत्पादन दुवै बढ्दै गए पनि भारतबाट हुँदै आएको आलुको आयात भने घट्नुको साटो बर्सेनि बढ्दै गएको पाइएको छ ।

नेपालगन्ज नाकाबाट मात्रै गत आव २०८०-८१ मा एक अर्ब ११ करोड बढीको आलु भारतबाट आयात भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।

नेपालगन्ज भन्सार कार्यालयका अनुसार गत आव २०८०-८१ मा नेपालगन्ज नाकाबाट मात्रै एक अर्ब ११ करोड ६१ लाख पाँच हजार रुपियाँको चार करोड ४९ लाख ८४ हजार ६६९ किलो आलु भारतबाट आयात गरिएको छ ।

भन्सार कार्यालयको तथ्याङ्क अनुसार अघिल्लो आव २०७९-८० भन्दा गत आवमा १८ करोड रुपियाँको आलु आयात वृद्धि भएको हो । आव २०७९-८० मा ९३ करोड ६० लाख ६९ हजार मूल्य बराबरको तीन करोड ७५ लाख ८५ हजार ८८ किलो आलु आयात गरिएको थियो । नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले आलु आयातबाट नेपालगन्ज भन्सारले आव २०७९-८० मा १४ करोड ७७ लाख २२ हजार रुपियाँ राजस्व सङ्कलन गरेको थियो भने गत आव २०८०-८१ मा २७ करोड २२ लाख ४४ हजार राजस्व सङ्कलन गरेको बताउनुभयो ।

आलुको आयात वृद्धि भएसँगै राजस्व सङ्कलन पनि अघिल्लो आवको तुलनामा गत आवमा १३ करोड रुपियाँ वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ ।

कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सकिल अहमद खाँले केही वर्षयता बाँके, बर्दिया, दाङ र सल्यानलगायतका जिल्लामा आलु उत्पादन उल्लेखनीय मात्रामा हुँदै आए पनि भारतबाट पनि आयात नघट्नुले माग अझै धेरै रहेको प्रमाणित भएको बताउनुभयो ।

उहाँले आलु र प्याजमा आत्मनिर्भर बन्न सरकारले विभिन्न कार्यव्रmम सञ्चालन गरिरहेको जनाउँदै अझै पनि यति ठुलो परिमाणमा आयात हुनुले चिन्ता बढाएको बताउनुभयो ।

  • ९ श्रावण २०८१, बुधबार प्रकाशित

  • Nabintech