नेपालगन्ज:नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामीले महासचिव भीम बहादुर रानाभाटलाई बैठकमा उपस्थित नभएको भन्दै स्पष्टीकरण सोधेका छन् । संघको साउन ८ गते भएको बैठकको विविध निर्णय अन्तर्गत रानाभाटलाई ३ दिनभित्र आफै उपस्थित भई लिखित स्पष्टिकरण पेश गर्न अध्यक्ष धामीले महासचिव रानाभाटलाई पत्र पठाएका हुन् ।
महासचिव रानाभाटले अध्यक्षद्वारा पठाएको स्पष्टिकरणको पत्र आफुले बुझेको बताएका छन् । उनले महासचिवले बैठक बोलाउनु पर्नेमा विधान विपरित अध्यक्ष धामीले आफैले बैठक बोलाएपछि बैठकको जानकारी पत्र बुझ्न अस्वीकार गरेको बताएका छन् ।
‘विधान बमोजिम महासचिवले बैठकको निमन्त्रणा गर्ने हो’, उनले भने, ‘अध्यक्षले संघको विधान विपरित गर्न खोजेपछि बैठकको जानकारी पत्र नबुझेको हुँ ।’
रानाभाटले अध्यक्ष धामीले साउन ८ गते बोलाएको बैठक विधान विपरित रहेकाले त्यस सम्बन्धी पत्र संघको कार्यालयमा पत्र बुझाएको जानकारी दिएका छन् । ‘म बैठकको अघिल्लो दिन पनि संघको कार्यालय गएको थिए, म यही हुँदाहुँदै सरसल्लाह नै नगरी अध्यक्ष आफैले बैठक बोलाउनु विधान विपरित हो’, महासचिव रानाभाटले भने । संघ अध्यक्ष धामीले कार्यसमिति बैठकको निर्णय बमोजिम संघको विधानको दफा २९ (ठ) अनुसार स्पष्टिकरण पेश गर्न भनेका हुन् ।