२२ भाद्र २०८१, शनिबार

वर्षात् नहुँदा बाँकेमा रोपेका खेत पनि सुक्न थाले

सिचाइँ सुविधा बढी भएको राप्ती सोनारी गाउँपालिकामा हालसम्म सबैभन्दा बढी ९० प्रतिशत रोपाइँ

  • न्युज मानसराेवर

नेपालगञ्ज : साउनको दोस्रो साता पुग्दासम्म पनि बाँकेमा ७० प्रतिशत मात्रै रोपाईं भएको छ । गत दुई सातादेखि वर्षा नहुँदा पानीको अभावमा रोपाइँ सुस्त हुन जाँदा ७० प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

यति बेलासम्म रोपाइँ सम्पन्न भइसक्नुपर्नेमा समयमा वर्षा नहुँदा अझैपनि ३० प्रतिशत बढी रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकील अहमद खाँले बताए ।

उनले जिल्लाका अधिकांश किसानले आकाशे पानीको भरमा धान खेती गर्दै आएकोले नै आकाशबाट समयमा पानी नपर्दा रोपाइँमा ढिलाइ हुँदै गएको बताए । दुई साता अघि परेको पानीले बिउ राख्ने र केही दिन रोप्ने काम गरिए पनि अहिले खेतमा पानी नहुँदा रोपेका खेत पनि सुक्न थालेको प्रमुख खाँले बताए ।

अन्य पालिकाको तुलनामा सिचाइँ सुविधा बढी भएको राप्ती सोनारी गाउँपालिकामा हालसम्म सबैभन्दा बढी ९० प्रतिशत रोपाइँ भइसकेको र अन्य पालिकामा ६० देखि ७० प्रतिशत मात्र रोपाइँ हुन सकेको कृषि ज्ञान केन्द्रले जनाएको छ । डुडुवा, जानकी र बैजनाथमा सबैभन्दा कम रोपाइँ भएको सो कार्यालयले जनाएको छ ।

एक पटक केही दिन नरोकिएर वर्षा हुने हो भने जिल्लामा रोपाइँ सम्पन्न गर्न एक साता मात्र लाग्ने कृषि ज्ञान क्रेन्द्रका अधिकृत रामप्रकाश यादवले बताए ।

असार १५ गते धान दिवस मनारइरहँदा जिल्लामा पानी नपरेकोले अधिकांश किसानले बिउसमेत राख्न पाएका थिएनन् । सो अवधीसम्म दुई प्रतिशत मात्र रोपाइँ भएको थियो । तर पछि केही दिन वर्षा भएकोले रोपाइँमा प्रगति भएको हो ।

बाँकेमा धान रोपाइँ हुने कुल ३६ हजार पाँच सय हेक्टर खेतीयोग्य जग्गा छ । सोमध्ये अधिकांशमा सिचाइँ सुविधा नभएकोले धान खेतीका लागि किसान आकाशे पानी कुर्न बाध्य छन् ।

  • ११ श्रावण २०८१, शुक्रबार प्रकाशित

  • Nabintech