२३ भाद्र २०८१, आईतवार

ललितपुर र कैलाली गरि ९ जनामा हैजा पुष्टि, द्रुत प्रतिकार्य टोली परिचालन

फैलिन नदिन गर्नुपर्ने प्रतिकार्यका लागि प्रभावित क्षेत्रमा टोली परिचालन

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: देशका दुई जिल्ला ललितपुर र कैलालीमा हैजाको सङ्क्रमण भेटिएको छ । ललितपुरमा सात र कैलालीमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो भने कैलालीमै थप दुई जनामा पनि सङ्क्रमणको आशङ्का गरिएको छ ।

धनगढी उपमहानगरपालिका–१ का दुई महिलामा हैजाको सङ्क्रमण पुष्टि भएपछि रोगको रोकथामका लागि प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालन गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोष श्रेष्ठले हैजा फैलिन नदिन गर्नुपर्ने प्रतिकार्यका लागि प्रभावित क्षेत्रमा टोली परिचालन गरिएको जानकारी दिए । थप दुई बालकमा हैजाको आशङ्का गरिएको छ, तर यसको पुष्टि हुन भने बाँकी रहेको पनि उनले बताए ।

हैजाबाट पीडितलाई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना गरिएको छ । द्रुत प्रतिकार्य टोलीले प्रभावित क्षेत्रका बासिन्दाले उपभोग गरिरहेको खानेपानीको नमुना लिने कार्यका साथै अन्य प्रतिकार्यको काम थालेको छ ।

नेपाल खानेपानी संस्थान, खानेपानी डिभिजन कार्यालय र सङ्घीय खानेपानी आयोजनाको कार्यालयलाई वितरित खानेपानीको शुद्धीकरण गर्ने गराउने कार्यका लागि लिखित अनुरोध गरिएको श्रेष्ठले बताए ।

यस्तै ललितपुरमा थप तीन जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । यसअघि ललितपुरमा चार जनामा सङ्क्रमण भेटिएकोमा थप तीन जनामा पनि सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । उनीहरुको टेकु र पाटन अस्पतालमा उपचार भइरहेको छ । दूषित खानेपानीका साथै झिँगा तथा दूषित खानेकुराबाट हैजा फैलिन सक्ने भएकाले यस्ता खानेकुरा नखान स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

  • १२ श्रावण २०८१, शनिबार प्रकाशित

  • Nabintech