१० मंसिर २०८१, सोमबार

एकीकृत समाजवादी ७ सांसदसहित ठूलो समूह एमाले फर्किंदै !
  • न्युज मानसराेवर

काठमाडौं: गत बिहीबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीविरुद्ध तानाबाना बुनिँदै गरेको सूचना पाएको दाबी गरे। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकलाई सम्बोधन गर्दै उनले यस्ता षडयन्त्रको मूल्यांकन गरेर सतर्कता अपनाउनुपर्ने बताएका थिए। उनको अभिव्यक्तिसँगै उक्त पार्टी फुट्न लागेको चर्चा चुलिएको छ।

नेपालले भनेका थिए, ‘राष्‍ट्रिय राजनीतिमा नयाँ-नयाँ घटना भइरहेका छन्। त्यसबाट हामी बेखबर छैनौं। हाम्राविरुद्ध अनेकौं तानाबाना बुनिँदैछन् भन्‍ने सुन्‍नमा आइरहेको छ। कति सत्य हो थाहा छैन। तर, ती षडयन्त्रको मूल्यांकन गरेर सतर्क रहनुपर्छ।’

उनको अभिव्यक्ति प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली लक्षित रहेको बैठकमा सहभागी एक नेता बताउँछन्। उक्त पार्टीका केन्द्रीय सदस्यदेखि जिल्ला अध्यक्षहरूलाई धमाधम एमाले फर्काइरहेका ओलीले पार्टी फुटाउन सक्ने त्रासमा छन्, नेपाल। त्यसको बाछिटा पार्टीभित्र देखिन थालिसकेको छ।

गत २१ असारमा सम्पन्‍न १०औं राष्‍ट्रिय महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिवसहित ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको थियो। एकीकृत समाजवादीले २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउँदैछ। महाधिवेशनले १० दिनभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने घोषणा गरेको थियो। तर, पार्टीभित्रको विवादका कारण अझै पूरा हुन सकेको छैन।

डोटीबाट निर्वाचित सांसद प्रेम आलेले महाधिवेशन नै बहिष्‍कार गरेका थिए। पार्टीले सजायस्वरूप उनलाई केन्द्रीय कमिटीबाट हटाइदियो। त्यसलगत्तै उनले पार्टी छोडेको घोषणा गर्दै अब उप्रान्त स्वतन्त्र भएर काम गर्ने बताएका थिए। एमाले फुटाएर एकीकृत समाजवादी गठन गर्ने बेलामा अध्यक्ष नेपाललाई साथ दिएका आले पछिल्लो समय नेतृत्वको कार्यशैलीप्रति असन्तुष्‍ट छन्।

आले मात्र होइन, गत निर्वाचनमा प्रतिनिधिसभामा १० सिट जितेको उक्त पार्टीका ७ सांसद पार्टी नै फुटाएर भए पनि एमाले फर्किने तयारीमा लागेको स्रोतहरूको दाबी छ। अध्यक्ष नेपालको पक्षमा राजेन्द्र पाण्डे र मेटमणि चौधरी मात्र रहेको र बाँकी सांसद एमाले फर्कन तयार रहेको स्रोतको दाबी छ।

अध्यक्ष नेपाल, पाण्डे र चौधरीका साथै कृष्‍णकुमार श्रेष्‍ठ ‘किसान’, धनबहादुर बुढा, अम्मरबहादुर थापा, प्रकाश ज्वाला, शेरबहादुर कुँवर, प्रेमबहादुर आले र भानुभक्त जोशी उक्त पार्टीका निर्वाचित सांसद हुन्।

स्रोत भन्छ, ‘नेतृत्वको कार्यशैली नै अहंकारी भयो। एमालेमा अपमान भयो मात्र भन्‍ने, नयाँ बनाएको दललाई पनि सक्रिय बनाउन चासो छैन। केन्द्रीय समिति त भनेको समयमा टुंगो लगाउन सकेको छैन। अनि यस्तो नेतृत्वले पार्टीको अस्तित्व रहन्छ?’ स्रोतको दाबी छ, ‘हामीले अभियान नथालेर मात्रै हो, एमाले फर्किने अभियान थालेको दिन ९० प्रतिशत साथीहरू फर्किन तयार हुनुहुन्छ।’

राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम ५ मा छुट्टै नयाँ दल बनाउन सकिने व्यवस्था छ। ‘संघीय संसदमा प्रतिनिधित्व गर्ने कुनै दलको केन्द्रीय समिति र संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले ऐनको दफा ३३ को उपदफा (२) बमोजिम छुट्टै नयाँ दल बनाएमा त्यस्तो दल दर्ताका लागि विवरण र कागजातसहित अनुसूची- ५ बमोजिम आयोगसमक्ष निवेदन दिनुपर्नेछ,’ उपनियम (१) मा उल्लेख गरिएको छ।

एकीकृत समाजवादीका एक उच्च नेताका अनुसार पार्टी फुटाउन संसदीय दलमा ४० प्रतिशत पुर्‍याउन कठिन छैन। तर, केन्द्रीय समितिमा ४० प्रतिशत पुर्‍याउन मुश्किल नै पर्छ। केन्द्रीय कमिटी विस्तारमा नेतृत्वले चासो नदेखाएकाले सबै सदस्यहरू रुष्‍ट रहेको स्रोतको दाबी छ। ‘९३ जना राख्‍नुभएको छ, हेर्दै जानूस्, नेतृत्व सुध्रिएन भने त्यही ९३ पनि ३० मा खुम्चिन समय लाग्दैन,’ स्रोत भन्छ।

बिहीबार अध्यक्ष नेपालले दिएको ‘हाम्राविरुद्ध अनेकौं तानाबाना बुनिँदैछन्’ भन्‍ने अभिव्यक्ति पार्टीभित्रको असन्तुष्‍टि र ओलीको ढोक्सा नै हो। एमाले फुटाउने बेलामा देउवा सरकारले अध्यादेश ल्याएर सहज बनाइदिएको थियो। एकीकृत समाजवादीका नेताहरूलाई धमाधम पार्टीमा स्वागत गरिरहेका ओलीले अध्यादेश ल्याएर पार्टी फुटाइदिन सक्ने त्रास अध्यक्ष नेपालमा देखिन्छ।

एकीकृत समाजवादीका अर्का एक केन्द्रीय सदस्यका अनुसार पार्टी विभाजनको क्रममा माधव नेपालले भनेका थिए, ‘हामी गएपछि एमालेलाई समस्या पर्छ। ओलीको कार्यशैली सुध्रियो भने बार्गेनिङ गरेर फेरि फर्किनुपर्छ। पाटीमा बलियो पकड बन्छ।’ तर, यतिका वर्षसम्म न त नेपाल सुध्रिए न ओली नै। एमाले झन बलियो हुँदै जाँदा एकीकृत समाजवादी दिनानुदिन कमजोर भइरहेको छ। नेपालको आश्‍वासनमा एमाले छोड्न तयार भएका नेताहरू शक्तिविहीन हुन पुगेका छन्।

बिहीबारको केन्द्रीय समिति बैठकमा सहभागी ती नेता भन्छन्, ‘अध्यक्षज्यूकै शर्त हो एमालेमा फर्किने। उहाँहरू के गर्नुहुन्छ हामीचैं फर्किने नै हो। हाम्रो पनि त्याग छ, जिन्दगीको अमूल्य समय बितेको छ पार्टी बनाउन। किन माया लाग्दैन र?’

उनका अनुसार केन्द्रीय समितिमा पनि ४० प्रतिशत पुर्‍याउन छलफल भइरहेको छ। पार्टी फुटाउन नसके सांसदहरू कारवाहीमा पर्ने भएकाले सकेसम्म विभाजनकै लागि छलफल भइरहेको उनी बताउँछन्। भन्छन्, ‘सकेसम्म पार्टी फुटाउने भन्‍ने छ। सकिएन भने हामीचैं फर्किन्छौं। सांसद साथीहरू पार्टीभित्रै संघर्ष जारी राख्‍नु हुन्छ।’

उनका अनुसार ओली सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधनका लागि नयाँ विधेयक दर्ताको तयारी गरेको छ। नयाँ विधेयकमा ‘प्रतिनिधिसभामा राष्‍ट्रिय दल बन्‍न नसकेका दलका प्रत्येक सांसदको हैसियत स्वतन्त्र हुने र नयाँ दल रोज्‍न पाउने’ भन्‍ने व्यवस्था गर्न लागिएको उनको दाबी छ। नयाँ दल रोजेमा पहिलो दलले सांसदलाई कारवाही गर्न नपाउने व्यवस्था गरिने स्रोतको दाबी छ।

‘नयाँ विधेयक पास हुन समय लाग्‍न पनि सक्छ। संसद अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने विषयमा पनि छलफल भइरहेको छ,’ उनी भन्छन्, ‘एमालेका मित्रहरूसँग निरन्तर संवादमा छौं। पार्टी विभाजनमा माधवजीलाई सहयोग गरेर अन्तिम समयमा छुट्टिनुभएका साथीहरू एमालेमा हुनुहुन्छ। कुरा मिलाउँदै हुनुहुन्छ। ठूलो समूह एमाले जाँदैछ।’

पदभन्दा आकांक्षी धेरै भएपछि केन्द्रीय सदस्य छान्‍न हम्मे

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी छ। गत बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने विषयमा छलफल भइरहेको छ। बैठकको शुरुमा अध्यक्ष नेपालले पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका छन्।

अध्यक्ष नेपाले बैठकको शुरुमा बोल्दै भनेका थिए, ‘हामीले थप प्रष्‍ट मापदण्ड तयार गर्नुपर्ने हुन्छ। हामीले एउटा मापदण्ड बनाइसकेका छौं, त्यसले पुगिरहेको छैन। त्यसैले त्यसमा अरू कुरा जोडेर भए पनि मापदण्डहरू परिमार्जन गर्न आवश्यक छ। यो विषयमा पनि छलफल गछौं। सहमतिको साथ हुन सकेको अवस्थामा हामी नाम ल्याउँछौं होला। तर, त्यो परिस्थिति बनिरहेको छैन।’ प्रदेश अध्यक्ष र इन्चार्जहरूले छलफल र परामर्शबाट आफ्नो प्रदेशमा सहमतिको प्रयास गर्नु जरुरी रहेको उनले औंल्याएका थिए।

बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिन कार्यविधि तथा मापदण्ड बनाउने, कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्नेलगायत विषयमा छलफल भइरहेको छ।

केन्द्रीय सदस्यका लागि सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्यांकन गरी सन्तुलन मिलाएर मनोनयन गर्ने एकीकृत समाजवादीको तयारी छ। पार्टीमा २०६ केन्द्रीय सदस्य पद रिक्त छन्।

सबै जिल्लाको पहुँच केन्द्रीय नेतृत्वमा पुर्‍याउन तथा भौगोलिक सन्तुलन कायम गर्न प्रत्येक जिल्लाबाट कम्तीमा एकजना सदस्यको प्रतिनिधित्व सुनिश्‍चित गरिएको छ। समावेशीकरणको सिद्धान्तअनुसार महिला र खुला समूह निर्धारण गरी २५ देखि ४५ वर्षको उमेर समूह र खुला उमेर समूह निर्धारण गरिएको छ।

केन्द्रीय सदस्य चयन गर्न सकस पार्टीमा पदभन्दा आकांक्षी धेरै भएपछि एकीकृत समाजवादीलाई केन्द्रीय सदस्य चयन गर्न हम्मे हम्मे परेको छ।  प्रदेश कमिटी अध्यक्ष र इन्चार्जले प्रदेशबाट सम्भावित केन्द्रीय सदस्यहरूको नाम बुझाएको लामो समय बितिसक्दा पनि पार्टीले सदस्यहरूको नाम टुंगो लगाउन सकेको छैन। प्रदेशहरूको सिफारिसपछि संगठन विभागले सदस्य चयनको गृहकार्य थालेको छ।

१६-२१ असारमा सम्पन्‍न महाधिवेशनले  १० दिनभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने घोषणा गरे पनि ३ साता बितिसक्दा पनि केन्द्रीय सदस्यहरूको नाम टुंगो लगाउन सकेको छैन।

यसअघि २२-२३ असारमा बसेको केन्द्रीय कमिटी बैठकले १० दिनभित्र केन्द्रीय सदस्यको नामावली तयार पार्न प्रदेशका इन्चार्ज र संयोजकलाई जिम्मा दिएकामा समय सीमाभित्रै प्रदेशले नामावली बुझाइसकेको र अब सबै अधिकार केन्द्रलाई भएको एक प्रदेश अध्यक्ष बताउँछन्।

भूगोलसहित विभिन्‍न कार्यक्षेत्र, समावेशी र खुला प्रत्येक क्षेत्रमा ३३ प्रतिशत महिलालाई आरक्षण गर्नुपर्नेछ । महिलालगायत सबै निर्वाचन क्षेत्रबाट २० प्रतिशत २५ देखि ४५ वर्ष उमेर समूहलाई आरक्षण गर्नुपर्नेछ। सबैभन्दा बढी वागमतीबाट २३ जना केन्द्रीय सदस्य हुनेछन्। त्यसपछि कोशी र मधेशबाट २१-२१ जना केन्द्रीय सदस्य बन्‍नेछन्। कर्णालीबाट १९, लुम्बिनीबाट १८, सुदूरपश्‍चिमबाट १६, गण्डकीबाट १५ केन्द्रीय सदस्य हुनेछन्। यस्तै, सम्पर्क प्रदेशबाट ८, पेशागतबाट ६, भारत र अन्य प्रदेशबाट १-१ जना केन्द्रीय सदस्य बन्‍नेछन्।

विधानअनुसार सबै जिल्लाबाट कम्तीमा एकजना केन्द्रीय सदस्य हुनेछन्। प्रदेशअन्तगर्तका २५ सय संगठित सदस्यबराबर एकजनाका दरले केन्द्रीय सदस्य थप हुनेछन्। समावेशी क्षेत्रबाट महिला, आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम, थारू, अल्पसंख्यक गरी ७० जना केन्द्रीय सदस्य हुनेछन्। पदाधिकारीसहित खुला क्षेत्रबाट ८० जना केन्द्रीय कमिटीमा पुग्‍ने छन्। केन्द्रीय समितिको एकतिहाइ पोलिटब्युरो, पोलिटब्युरोको एकतिहाइ स्थायी कमिटी र २१ सदस्यीय पदाधिकारी रहनेछ।

एकीकृत समाजवादीले केन्द्रीय सदस्यका लागि संगठित सदस्यता लिएको १० वर्ष पूरा भएको हुनुपर्ने, विगतमा जिम्मेवारी सम्पादनको अवस्था, पार्टी नीतिको व्याख्या, विश्लेषण गर्ने क्षमता, जनताबीच क्रियाशीलताजस्ता मापदण्ड बनाएको छ।

  • १३ श्रावण २०८१, आईतवार प्रकाशित

  • Nabintech