९ मंसिर २०८१, आईतवार

होटल तथा पर्यटन व्यवसायीहरूको भेलाले जारी गर्यो नेपालगन्ज घोषणा
  • न्युज मानसराेवर

नेपालगन्ज:होटल तथा पर्यटन व्यवसायीहरूले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका लागि पर्यटकहरूको ‘गेटवे’ का रूपमा रहेको नेपालगन्ज बजारलाई २४सैं घण्टा चलायमान हुने गरी व्यवस्था मिलाउन माग गरिएको छ ।

लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट नेपालगन्जमा भेला भएका नेतृत्वदायी होटल तथा पर्यटन व्यवसायीहरूको भेलाले जारी गरेको नेपालगन्ज घोषणामा उक्त माग गरिएको हो । यसअघि पनि स्थानीय स्तरमा नेपालगन्जलाई २४ घण्टा नै चलायमान हुने गरी आवश्यक सुरक्षा व्यवस्था लगायतका पूर्वाधारको माग गरिंदै आएपनि प्रदेश स्तरमै संगठित रूपमाले यसपटक यो प्रस्ताव गरिएको छ ।

होटल व्यवसायीहरूको छाता संस्था, होटल व्यवसायी महासंघ लुम्बिनीको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनमा भेला भएका दुई सय बढी प्रतिनिधिमूलक व्यवसायीहरूले नेपाल प्रवेशको नेपालगन्ज स्थित जमुनाह नाकालाई पनि २४सैं घण्टा खुल्ला राख्न सम्बन्धित निकायसँग समन्वयको माग गरे ।

‘जमुनाह नाकामा पर्यटन सूचना केन्द्र स्थापना गर्न नेपाल सरकार र सरकारका सम्बन्धित निकायहरूसँग जोडदार माग गर्दछौं’, व्यवसायीहरूको सात बुंदे नेपालगन्ज घोषणा पत्रमा भनिएको छ । यद्यपि, जमुनाहमा पर्यटन सूचना केन्द्र स्थापना गरिएपनि सुचारु गर्न ढिलाई हुँदा व्यवसायीहरूले त्यसको लाभ लिन नसकेका हुन् ।

नेपालगन्ज घोषणा पत्रको अर्को बुंदामा नेपालगन्ज विमानस्थलमा भैरहेको स्तरोन्नतीतर्फ ध्यानाकर्षण गरेका व्यवसायीहरूले क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरको बिमानस्थल अनुसार उडान व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइएको छ ।

‘खासगरी नेपालगन्ज–दिल्ली उडानमा होटल तथा पर्यटन व्यवसायीहरूको जोड हो’, महासंघका अध्यक्ष भाष्कर काफ्लेले नेपालगन्ज घोषणापत्रबारे भने, ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल यथाशिघ्र नियमित सुचारु गर्न माग पनि गरिएको छ ।’

  • १३ श्रावण २०८१, आईतवार प्रकाशित

  • Nabintech