सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यू,
अभिवादन!
जेठ २८ गते निजी कामको सिलसिलामा हुम्ला जाने अवसर मिल्यो। यसअघि दुईपटक गए पनि हुम्ला सडक सञ्जालमा जोडिएपछि यो पहिलो भ्रमण थियो र यसपटक गाडी चढेर सिमकोटबाट खार्पुनाथ जाने योजना थियो। २९ गते बिहान नेपालगन्जबाट समिट एयरको जहाजबाट सिमकोट उड्न पाइयो।
प्रधानमन्त्रीज्यू, यस क्षेत्रमा भनेको दिनमा जहाज पाउनु पनि ठूलै उपलब्धि मान्नुपर्छ। नेपालगन्जबाट कर्णालीका कुनै पनि स्थानमा नियमित जहाज उड्दैनन्। जहाजहरूले जता बढी यात्रु वा मालसामान ढुवानी गर्न पाउँछन्, त्यतै उड्छन्। यस क्षेत्रमा जहाजहरू विशुद्ध मुनाफाको लागि मात्र उड्छन्। नेपाल वायु सेवा निगमको सेवा नाम मात्रैको र अति अविश्वनीय छ भने निजी क्षेत्रका विमानहरूको एकाधिकारको नमुना यहाँ प्रत्यक्ष अनुभूति गर्न पाइन्छ।
कर्णाली प्रदेशको हुम्ला सडक सञ्जालमा जोडिएको देशकै कान्छो जिल्लामा पर्दछ। जमुनाहा–हिल्सा राजमार्गको खार्पुनाथ र सिमकोटको सिमानामा पर्ने तिब्बतबाट आएको ग्याङ्रु (दोजाम) खोला नदीमा पक्की पुल नबन्दा सडक सञ्जालले यो जिल्लालाई छोए पनि एउटा पुलको अभावमा सिमकोटको जनजीवन निकै कष्टकर छ। यस नदीमा पक्की पुल बन्न दुई वर्षअघि सुरु भए पनि पुल निर्माणको काम कछुवा गतिमा छ। आगामी तीन वर्षमा पनि पुल बन्ने लक्षण देखिँदैन। यसबाट पनि प्रष्ट हुन्छ, हुम्ला र काठमाडौँ जोडिएकै छैन भन्ने कुरा।
भरपर्दो सडकमार्गको अभावमा नेपालगन्ज वा सुर्खेतबाट जाने जहाज नै यातायातका मुख्य साधन हुन्। तर, न सरकारी न निजी, कुनै पनि वायु सेवाको नियमित उडान छैन। कहिलेकाहीँ हप्ता दिनसम्म जहाज नपाएर नेपालगन्ज वा सिमकोटमा अलपत्र रहनुपर्ने बाध्यता हुन्छ।
सुशासन र विकासको राग जति नै अलापिए पनि सहर र पहुँच भएका ठाउँहरूमा एउटा निकायले पिच गर्ने र अर्कोले भत्काउने गरेर करोडौँ स्वाहा पार्दा पनि पुगेकै छ। बाटो नै नभएको मन्त्रीको खेतमा पक्की पुल बनाउँदा पनि विकास भनिएकै छ। तर, अन्तर्राष्ट्रिय राजमार्गको रूपमा जमुनाह-हिल्सा खण्डको खार्पुनाथमा एउटा बेलिब्रिज हाल्न भने विगत तीन वर्षदेखि बहनाबाजी चलिरहेको छ। यो हुम्लावासीप्रति अन्याय मात्र होइन, हेपाहा व्यवहार पनि हो।
मार्टिन लुथर किङले भनेझैँ संसारको कुनै एक ठाउँको अन्याय सबै ठाउँको न्यायको लागि चुनौती हो भनेर मान्ने हो भने संघीय सरकारका यस्ता अन्यायपूर्ण गतिविधिहरूले अर्को सशस्त्र विद्रोहको आधार निर्माण गर्दै छ र सिंगो समाजलाई अन्यायको अनुभूति दिलाउँदै निराश बनाएको छ। यस सम्बन्धमा यस पुस्ताका आसलाग्दा प्रधानमन्त्रीज्यूको तत्परताको व्यग्र अपेक्षा छ। यहाँले चाहेमा यस्तो अन्यायको अन्त्य एक हप्तामा हुन्छ।
सन् २०११ म पहिलोपटक हुम्ला पुग्दा मनमा विभिन्न प्रकारका विचार खेलेका थिए। देशकै सबैभन्दा उच्च भूभागमा अवस्थित जिल्ला सदरमुकाम वनविज्ञानका विद्यार्थीहरूको लागि निकै रहस्यमयी छ। २ हजार ९०० मिटरमा पाइने सिमसार र सिमसारमाथि बस्ती अनि बस्तीमाथि कोणधारी प्रजातिको सदावहार वन, वन र बस्तीको बीचमा अव्यवस्थित, परम्परागत रूपमा जीवन निर्वाहको लागि गरिने खेती। कच्ची विमानस्थलको रमझम, अति नै विस्तारै चल्ने इन्टरनेट र ल्यान्डलाइन टेलिफोनबाहेक त्यतिबेला हुम्लामा कुनै पनि प्रकारको आधुनिकताको अनुभूति हुँदैनथ्यो।
यसपालि पुग्दा हुम्ला निकै फेरिएको अनुभूति भएको छ। ग्रेप परियोजनाले कर्णाली र सुदूपश्चिमका १९ वटा पालिकाहरू (धनगढी र वीरेन्द्रनगरलगायत)मा गरेको व्यावसायिक वातावरण सर्वेक्षणमा सबैलाई पछि पार्दै सिमकोट गाउँपालिका एक नम्बरमा आएको छ भने खार्पुनाथ पाँचौँ नम्बरमा छ। यसबाट के प्रष्ट हुन्छ भने हुम्ला नयाँ युगमा प्रवेश गर्न लालायित छ र स्थानीय नेतृत्वले सीमित स्रोत र साधनका बाबजुद अनन्त प्रयास गरिरहेका छन्। सबैभन्दा अचम्म त के लाग्यो भने जमुनाह–हिल्सा सडकको खार्पुनाथमा पुल नै बनेको छैन तर सिमकोटदेखि हिल्सा नियमित बस चल्न थालेको छ। सिमकोटबाट लिमी लाप्चा उपत्यकामा जिपद्वारा यात्रा गरी सहज तरिकाले मानसरोवर कैलाश दर्शन गर्न सकिन्छ।
५ हजार २०० मिटरको लेक छिचोलेर गाडीको रोमाञ्चक यात्रा हुम्लाका विकासप्रेमी नेताहरूद्वारा नै सम्भव भएको हो। यसमा संघीय तथा प्रदेश सरकारका नेताहरूको भूमिका अत्यन्तै न्यून छ। पूर्वसांसद छक्कबहादुर लामाका अनुसार काठमाडौँबाट लाप्चाको सीमामा डोजर लगेर निकै कम बजेटमा चीनतिरबाट लिमी लाप्चाको बाटो निर्माण गरिएको हो।
वास्तवमा नेपालमा संघीयताको स्थापनापश्चातका ९ वर्षलाई मूल्यांकन गर्ने हो भने जति नै भ्रष्टाचार र ढिलासुस्ती भए पनि विगत २३० वर्षमा गरिएका विकासभन्दा धेरै गुणा भौतिक विकास भएका छन् र मुख्य रूपमा नागरिकमा विकासप्रति आशा र विश्वास जागेको छ। तर संघीय सरकारको आर्थिक नीति र सबै क्षेत्रमा भएको चरम राजनीतिकरणका कारण शक्ति र सत्तामा पहुँच हुनेहरूले जे गरे पनि हुन्छ भन्ने मान्यताको विकास भएका कारण नागरिकमा चरम निराशा र आक्रोश छ।
पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीलाई जनसंख्या नै नभएको ठाउँमा किन बजेट हाल्ने भनेर संघ तथा प्रदेशमा सोधिने प्रश्नले निकै मन कुँड्याएको छ। मूलधारका राजनीतिक पार्टीहरू नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी, रास्वपा तथा समाजवादीहरूले जवाफदेहिता र जिम्मेवारीलाई उच्च तवरले निर्वाह गर्ने हो भने नेपाली समाजको द्रूत विकासलाई कसैले रोक्न सक्दैन।
२९ गते दिउँसो सिमकोट गाउँपालिकाको कार्यालयमा पुग्दा पालिका अध्यक्ष विजय भण्डारीले हाम्रो समूहलाई खादा लगाएर हार्दिकताका साथ स्वागत गर्नुभयो। विजयजीसँग यसअघि नै भेट भई आत्मीय सम्बन्ध स्थापित भइसकेको थियो। अचानक मलाई आफ्नो कार्यकक्षमा देख्दा उहाँ चकित हुनुभयो। हामीले हुम्ला यात्रा र हुम्लाको समग्र अवस्थाको बारेमा कुरा गर्यौँ, सिमकोट र खार्पुनाथ गाउँपालिकामा सञ्चालित परियोजना र व्यावसायिक वातावरण सर्वेक्षण प्रतिवेदनबारे कुरा गर्यौँ।
अन्त्यमा उहाँले लिमी लाप्चा भ्याली गएर मानसरोवर कैलाशको दर्शन गर्ने कि भनेर सोध्नुभयो। कैलाश मानसरोवर त निकै टाढाको कुराजस्तो ठानेर मलाई सम्भव लागेन। तर, उहाँले भित्तामा भएको लाप्चाको भ्युप्वइन्टबाट खिचिएको मानसरोवर कैलाशको तस्बिर देखाउँदै भन्नुभयो, केही टाढा छैन, आज गएर दर्शन गरेर भोलि आउन सकिन्छ।
लाप्चासम्म जिप जाने भएकाले सिमकोटबाट मानसरोवर र कैलाश पर्वत एकदम नजिक भएको र दर्शन गरेर आउन सकिने कुरा बताउनुभयो। सिमकोट र खार्पुनाथको कार्यक्रम सकिएपछि नेपालगन्ज फर्किने जहाजको पनि सुनिश्चितता नभएपछि लिमी लाप्चा जाने कार्यक्रम तय भयो।
मलाई मानसरोवार र कैलाश पर्वत जाने हिल्सातिरबाट मात्रै हो भन्ने लागेको थियो। यसपटक नयाँ कुरा थाहा भयो। शनिबार बिहानै विजय होटलको बोलेरो रिजर्भ गरी साढे ७ बजेतिर लाप्चा उपत्यकाको लागि हिँड्यौँ। सिमकोटबाट उत्तरतर्फ गाउँ र बारी छल्दै जिप उकालो लाग्यो। करिब आधा घण्टापछि सल्लाको जंगल पछ्याउँदै ओरालो बाटो लाग्यो। अब सिमकोट हाम्रो आँखाबाट ओझेल परिसकेको थियो र एक छिनमा नाम्खा गाउँपालिकामा पर्ने हेक्पा खोला आयो।
माथि हेक्पा बस्ती। दुईतिर सल्लाको घना जंगलको बीचमा हेक्पा खोला। एक छिन फोटो खिचेर खोलामाथिको काठको पुल तरेर (खोलामा पक्की पुल बन्दै गरेको) उकालो लाग्दै हिल्सा जाने सडक छोडेर हामी अगाडि बढ्यौँ। हेक्पा खोला कटेपछि दुईटा बाटा छन्। एउटा तातोपानीभन्दा अगाडिबाट लिमी लाप्चा जाने र हिल्सा जाने बाटो छुट्ने। अर्को हेक्पाबाट उकालो लाग्दै लेकधिगा हुँदै अगाडि जाने बाटो। गाडी चालक कृष्ण भाइले छोटो बाटो रोजेकाले हामी उकालो लाग्यौँ।
करिब एक घण्टाको यात्रापछि ३ हजार ५०० मिटर उचाइमा अत्यन्तै रमणीय लेकधिगामा पुग्यौँ। कोणधारी प्रजातिको सदाबहार जंगल र बाटोमुनि हरिया रुखहरू र ठूला गह्राहरू भएका बारीले त्यो ठाउँ निकै उत्पादकत्व भएको अनुमान गर्न सकिन्छ। त्यहाँ भएका गोठ र गुम्बाले त्यो ठाउँमा मानिसहरूको चहलपहल हुन्छ भन्ने कुरा प्रमाणित गर्दछ भने अलिकति अगाडि जानेबित्तिकै नाम्खा गाउँपालिकाको आयोजनामा निर्माणाधीन फुटबल मैदानले यो ठाउँ बाक्लो बस्तीको नजिक रहेको अनुमान गर्न सकिन्छ।
करिब एक घण्टाको यात्रापश्चात् १० बजेतिर ३५०० मिटर उचाइमा रहेको खोलाको किनारमा खाना खाने ठाउँमा पुग्यौँ। पहाडको खोँचमा यो खोलाको वरिपरि भोजपत्रको वन देख्न सकिन्छ। यसवर्षको हिउँ पग्लेपछि करिब एक महिनापहिला हेक्पाका दुई परिवार त्यहाँ गएर व्यापार सुरु गरेका रहेछन्। तिनै दुईमध्ये एकजनालाई खाना बनाउन लगाएर हामी त्यहाँका मनोरम दृश्यहरूलाई क्यामरामा कैद गर्न, सूचना संकलन अनि टिकटक र रिल बनाउन थाल्यौँ। बाटोमा फस्टाएको मौसमी व्यापारले यात्रुहरूलाई आराम गर्न, बास बस्न र खाना खान सुविधा भएको छ।
खाना खाएर करिब १ घण्टा खोलाको किनारैकिनार हिँडेपछि उकालो चढेर हामी करिब ४२ सय मिटरको उचाइको भञ्ज्याङमा पुग्दछौँ, जहाँबाट हिमाल र भरखरै हिउँ पग्लेर उजाड भएका डाँडाहरू देख्न सकिन्छ भने करिब ४ हजार मिटरको आसपासमा घाँसे मैदानहरूमा चौँरी, भेडा, बाख्राहरू चरिरहेको देख्न सकिन्छ। बाटोमा प्रशस्तै साना ठूला हिउँताल देख्न सकिन्छ भने कतिपय हिउँतालहरू सुकिसकेका रहेछन्। लेक बेसी हुँदै अगाडि बढ्दा बाटोमा ठूला घाँसे मैदान, हिउँदमा तल झरेका चौँरीहरू उकालो लाग्ने बेला भएको रहेछ। हिमाली क्षेत्रको जनजीवन अहिले पनि पशुपालनमा आश्रित छ भन्ने कुरा यी दृश्यबाट सहजै अनुमान लगाउन सकिन्थ्यो। बाटोको वरपरदेखि वनजंगल, विभिन्न प्रजातिहरू, ढुंगा आदि हेर्दा हुम्लामा आधुनिक अनुसन्धान सहितको विज्ञान प्रविधिले कुनै प्रभाव पारेको संकेत देखिँदैन।
विज्ञान र प्रविधिले चिनिने यस युगमा लिमी लाप्चा आफ्नै प्राकृतिक लयमा छ। सडक मार्ग र केही पुलहरूबाहेक लिमी उपत्यकाको आधुनिकतासँग भेट भएको छैन। यात्राकै क्रममा ५२ सय मिटरको न्यालु लेक कटेर अगाडि बढेपछि तलुङ खोलाको किनारैकिनार अगाडि बढ्यौँ। तलुङ खोला र तिब्बतबाट आएको निङ खोलाको संगमस्थलभन्दा अलिकति अगाडि यी दुवै प्राकृतिक रूपमा बाँध बनेर छोम्गो ताल बनेको रहेछ। अचम्म के छ भने यो प्राकृतिक रूपमा बनेको तालमा कैलाश पर्वतको आकृति देखिँदो रहेछ। कैलाश पर्वत र मानसरोवरको झल्को दिने भएको भएर हामीले छोम्गो ताललाई कान्छी मानसरोवर नामाकरण गर्यौँ।
पूर्वसांसद छक्कबहादुर लामाका अनुसार, निङ नदीको किनारैकिनार तिब्बतसँग पुरानो व्यापारिक नाका छ। प्राचीन कालमा तिब्बतबाट निन्वा (बुराउसे, बरगाउँ, तोर्पा र लिमासंग) बसाइँ सरेर आउने क्रममा ताक्योन कार्बो हिमालमा हिउँ परेर रोकिएको बखत तोक्यान कार्वो देवता (सेतो घोडा चढेर हिँड्ने) ले हिउँ पगालेर बाटो खुलाइदिएको किम्वदन्ती छ। त्यही भएर निन्वा क्षेत्रका भोटे समुदायले कुलदेवताको रूपमा तोक्यान कार्बो देवताको पूजा गर्ने गरेका छन। तोक्यान कार्वो देवता बुद्ध भगवानको भन्दा पनि प्राचीन भएको विश्वास गरिन्छ। यो क्षेत्र बौद्ध धर्मको आगाध आस्थाको धरोहर पनि हो। हर्क गुरुङका अनुसार लिमी उपत्यकामा काग्युपा लामा रिञ्जिन जाङ्ग्पो (सन् ९८५) ले निर्माण गरेको ऐतिहासिक बौद्ध गुम्बा पनि छ। यो उपत्यका कति सम्म गुमनाम रहेछ भने प्रसिद्ध भूगर्भविद टोनी हागन पनि यो विन्दुमा पुग्न सकेका रहेनछन्। उनले सिमकोटबाट उत्तरपूर्वमा थाकुलाकोटबाट २०० किमि पर कैलाश पर्वतको दर्शन गरेका रहेछन्।
हिमाली क्षेत्रमा घमाइलो ठाउँलाइ निन्वा भनिन्छ। हाल सिमीकोट गाउँपालिकामा पर्ने बुराउसे, वरगाउँ, तोर्पा र लिमासंगमा तथा नाम्खा गाउँपालिका लिमीको जाग, हाल्जी र तिल घमाइलो भएर पशुपालन र खेती निकै उत्पादन फस्टाएको क्षेत्र हो। यहाँ बहुपति प्रथा भएको कारण जमिन खण्डीकरण नहुने र पशुपालन निकै प्रवर्धन हुने गरेको छ। यहाँ उत्पादित कृषि तथा पशुजन्य वस्तुहरू तिब्बत निर्यात गर्ने र तिब्बतबाट ऊन र नुन आयात गर्ने चलन थियो र हुम्लावासी र तिब्बतीहरूको जीवन सहज तवरमा यापन भइरहेको थियो। तिब्बत तथा नेपालमा भएका राजनीतिक परिवर्तनसँगसँगै सीमा कानुनहरूमा परिवर्तन आएपछि त्यसको प्रत्यक्ष प्रभाव लिमी लाप्चा क्षेत्र र समग्र हुम्लामा परेको छ। पहिला नेपाल र तिब्बता खुला चरिचरण हुन्थ्यो भने अब त्यसमा प्रतिबन्ध लागेको छ भने तिब्बत आवातजावत पनि कठिन भएको छ। लिमी एक बन्द उपत्यका जस्तो भएको छ भने विभिन्न कारणले लिमीलाई निषेधित क्षेत्र बनाइएको छ। तिब्बतसँग लिमीको सम्पर्क टुटेपछि त्यहाँका गाउँबाट काठमाडौँ बसाइँ सर्ने चलन तीव्र छ। गत वर्ष मात्र हाल्जीका ७५ घरधुरी काठमाडौँ सरेका छन्।
लिमीमा तिव्ररूपमा जनसंख्या घटिरहेको छ। लाप्चा उपत्यका मानसरोवर र कैलाश पर्वत दर्शन गर्ने नेपालको सबैभन्दा नजिकको विन्दु हो भन्ने पत्ता लागेपछि २०६४ सालदेखि लाप्चा उपत्यकालाई नयाँ तरिकाले सोच्न थालिएको छ। लाप्चाबाट मानसरोवर ७ किलोमिटर र कैलाश पर्वत ४९ किलोमिटर भए पनि एउटै भ्यु प्वइन्टबाट दुवैको दर्शन गर्न सकिन्छ। २०६४ सालमा काठमाडौँबाट कुती हुँदै लाप्चामा डोजर लगेर लाप्चा देखी सिमकोटतिर बाटो खन्न सुरु गरियो। २०७५ सालदेखि सिमकोट–लाप्चा सडक मार्ग खुलेको छ।
५२०० मिटरको न्यालुलेक काटेर जब लाप्चा उपत्यका प्रवेश गरिन्छ, तब स्वर्गमा विचरण गरेको आभास हुन्छ। त्यो उचाइमा समथर भूमिवरिपरि हिमाल, सङ्लो पानीका खोलाहरू, वन घोडा, मृग चरिरहेको दृश्यले मन उद्वेलित पारिराख्छन्। करिब ३ घण्टाजति समथर भूभागमा बोलेरो जिपको यात्रापछि पुगिन्छ बहुप्रतीक्षित लाप्चाको मानसरोवर तथा कैलाश पर्वत भ्यु प्वइन्ट। मौसम सफा भएको बेलामा यस भ्यु प्वइन्टबाट मानसरोवर र कैलाश पर्वतको दर्शन गर्न सकिन्छ। हामी यहाँ पुग्दा साढे चार बजिसकेको थियो र त्यतिबेला कैलाश पर्वतलाई तुँवालोले ढाकेको थियो। भ्यु प्वइन्टबाट करिब ३ किलोमिटर दूरीमा नेपालचीन सीमा पर्दछ।
त्यो भ्यु प्वइन्टबाट करिब दुई किमिसम्म पश्चिम हिँडेर हेर्दा मानसरोवर देख्न सकेँ भने कैलाश पर्वत घुर्मैलो देखिएको थियो। चीनका तर्फबाट सीमा सुरक्षाको पक्की घरहरू बनेका छन् भने नेपालतर्फ सडकको रेखा कोर्ने मात्रै काम भएको छ। मानसरोवर भ्यु प्वइन्टमा दिउँसोपख एकदम हावा चल्दो रहेछ। त्यहाँ यात्रुलाई आराम गर्ने उदेश्यले एकतले सानो घर बनाइएको छ। अधिक हावा चल्ने हुने भएकोले धुपबत्ती बाल्न, पूजा सामग्री राख्न र केही क्षण आराम गर्नको लागि त्यो घर प्रयोग गर्ने गरिएको छ।
तिब्बतमा अवस्थित कैलाश मानसरोवर हिन्दु तथा बौद्धहरूको आस्थाको धरोहर हो। कैलाश मानसरोवरको दर्शन विश्वका सबै हिन्दु र बौद्ध धर्मालम्बीहरूको चाहना हो। तिब्वतमा अवस्थित भएकोले नेपाल र भारतका धर्मस्थलहरूजस्तो नेपाली तथा भारतीय र अन्य देशका हिन्दु एवम् बौद्ध धर्मालम्वीहरूको सहज पहुँचमा छैन कैलाश मानसरोवरको यात्रा। चिनियाँ भिसा अनिवार्य हुन्छ र बाटो पनि लामो पर्दछ। केही समय पहिला चीन र नेपालको बारेमा सीमाका विषयमा नकारात्मक कुरा उठेको भए पनि यसबारे स्थलगत रिपोर्टिङ गरेका पत्रकार मित्र नवराज महतराले हाल कुनै समस्या नरहेको बताए।
कैलाश मानसरोवर दर्शन गर्ने सबैभन्दा छोटो र सहज विन्दु लाप्चा हो। त्यसकारण चिनियाँ भिसामा पहुँच नहुने विश्वभरका हिन्दु र बौद्ध पर्यटकहरूको गन्तव्य हुन सक्छ लाप्चा। २ महिनाअगाडि सद्गुरुको ३०० जनाको टोली यहाँ दुई दिनसम्म वसेको थियो। यो धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थलको रूपमा विश्वप्रसिद्ध गन्तव्यको रूपमा विकास गर्न सकिने प्रचुर सम्भावना भएको ठाउँ हो। २४२० वर्ग किमी क्षेत्रमा फैलिएको नाम्खा गाउँपालिकाको करिब दुई तिहाइ क्षेत्रफल लिमी लाप्चा उपत्यकाले ओगटेको छ। यसरी हेर्दा यो उपत्यका करिव १६ सय वर्ग किलोमिटर भन्दा बढी भएको अनुमान गर्न सकिन्छ जुन पोखरा भन्दा ४ गुणा र काठमाडौँभन्दा करिब अढाई गुणा ठूलो हो। लिमी उपत्यकाका गाउँहरूमध्ये दजांग गाउँ ३९२० मिटर, हाल्जी ३७०० मिटर र तिल ४१०० मिटरमा अवस्थित छन् र यहाँ बाह्रै महिना मानिसको बसोवास हुने गर्दछ। विशेषत चैतदेखि कात्तिकसम्म ८ महिना यहाँ पूर्णतः आवातजावत गर्न सकिन्छ र सबै क्रियाकलापहरू सुचारु सञ्चालन हुन सक्दछन्।
सामुदायिक विकासको विद्यार्थी भएको हुँदा यस भ्यालीमा यात्रा गर्दा मनमा निकै धेरै प्रश्नहरू खेली नै रहे। यदि टोनी हागन र हर्क गुरुङहरू यहाँ आएको भए यसको कसरी वर्णन गर्थे होलान्? ली क्वान यु, महाथिर वा तेङ स्याओ पिङले यसको विकास गर्न पाएको भए कसरी गर्थे होलान्? हाम्रो देशको योजना आयोग र त्यहाँका उत्कृष्ट योजनाविदहरूले किन यो क्षेत्रको विकासको लागि केही वास्ता गरेनन् होला?
यस्तै कुरा खेल्दै गर्दा मेरो मनमा यो अद्वितीय क्षेत्रको विकासका केही मार्गचित्र कोरिए। हर्क गुरुङका अनुसार, सन् १९५९ पछि तिब्बत बाहिरी व्यक्तिहरूको लागि निषेधित थियो तर सन् १९७९ मा तिब्बत पर्यटन तथा पर्वतारोहणको लागि खुला गरियो। के लिमी लाप्चा भ्याली खुला गरेर हुम्लाका जनताको जीवनस्तरमा आमूल रूपान्तरण ल्याउने गरी वातावरण र सांस्कृतिक संरक्षण सहितको समाजवादी मोडलको विकास गर्न सकिँदैन? सुविधासम्पन्न होटल तथा रेस्टुरेन्ट खोलेर, विमानस्थल निर्माण गरेर मौसमी उडान गरी संसारसँग जोड्न सकिँदैन होला? २ अर्ब हिन्दु र बौद्ध धर्मालम्वीहरूको गन्तव्यस्थलको अतिरिक्त मानव सभ्यता, हिन्दु र बौद्ध संस्कृति, हिमालयको उत्पत्ति, हिमाली वनस्पति तथा वन्यजन्तुहरूको अध्ययन तथा अनुसन्धान गर्ने विश्वस्तरीय शैक्षिक तथा अनुसन्धान केन्द्रको स्थापना गर्न सकिँदैन होला? के विश्वको सबैभन्दा उच्च स्थानको गल्फ कोर्ट निर्माण गरेर संसारका धनाढ्यहरूलाई बोलाउन सकिँदैन? द्वन्द्वमा परेका देशहरूका दुवै पक्षका राष्ट्रप्रमुखहरूलाई कैलाश मानसरोवरको दर्शन गराउँदै ध्यान गराउँदै वार्ता गराएर शान्ति निर्माणको वार्तास्थलको रूपमा विकास गर्न सकिँदैन? विश्वका महँगा फिल्म सुटिङ गर्ने प्राकृतिक स्टुडियोको रूपमा विकास गर्न सकिँदैन? विश्वको सबैभन्दा अग्लो स्थानको फुटबल, भलिबल, क्रिकेट, मोटर रेस, स्किी लगायतका खेल मैदानको रूपमा विकास गर्न सकिँदैन?
के हामी यसलाई लुम्बिनीजस्तै राष्ट्रिय गौरवको परियोजनाको रूपमा विकास गर्न सक्दैनौँ? भगवानले त यहाँभन्दा बढी के दिन मिल्ला र? प्रधानमन्त्रीज्यू! हाम्रो असक्षमतालाई कहिलेसम्म प्रकृतिले ठग्यो भनेर धिक्कार्ने? प्रकृतिले ठगेको हो कि असक्षम र अयोग्यलाई आवश्यकताभन्दा बढी वर दिएको हो? निश्चित रूपमा देशभरिको बजेट आफनो चुनाव क्षेत्रमा केन्द्रित गर्न चाहनेहरूसँग यति धेरै अपेक्षा नगर्न मिल्ला तर एकदिन कसै न कसैले त इतिहास र भविष्यप्रति जिम्मेवार भएर सोच्ला र केही गर्ला भन्ने विश्वास त्यहीँबाट जागेको थियो। मनमा कता कता देशले त्यो पात्र पाएको हो कि भन्ने आशाका साथ यो ध्यानाकर्षण पत्र लेखेको हुँ। कैलाश भगवानको कृपाले मेरो आश निराशामा परिणत नहुँदा यहाँले विकासप्रेमी नेताको रूपमा नयाँ इतिहास रच्नु हुनेछ भने पिछडिएको हुम्ला अन्तर्राष्ट्रिय आकर्षणको विकसित हुम्लामा परिणत हुने सौभाग्य पाउनेछ।
यो बहुआयामिक धार्मिक, सांस्कृतिक, प्राकृतिक, पर्यटकीय, तथा पौराणिक सभ्यता, आविष्कार र व्यापारको इतिहास बोकेको उपत्यकाको एकीकृत गुरुयोजना निर्माण गरी अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा विकास गर्न सक्ने हो भने यसले लिमी, हुम्ला र कर्णालीको परिचय त बदल्छ नै, सिंगो नेपालको समृद्धिको नयाँ इतिहास कोर्न सफल हुनेछ। विकासको उत्कृष्ट नमुना प्रस्तुत गर्न रुचाउने प्रधानमन्त्रीको ध्यान यतातिर जाओस् भनेर अनुरोध गर्दछु।
(लामिछाने इस्टर्न रिसर्च इन्स्टिच्युट अफ पोजिटिभ साइन्सका प्रमुख कार्यकारी हुन्)