७ मंसिर २०८१, शुक्रबार

किन घट्यो नेपालगञ्ज नाकाबाट चिनीको आयात
  • न्युज मानसराेवर

नेपालगञ्ज : नेपालगञ्ज नाकाबाट हुँदै आएको चिनीको आयात गत आर्थिक वर्ष २०८०/८१ मा घटेको छ । विगतका वर्षमा हरेक वर्ष ठुलो परिमाणमा भारतबाट चिनी आयात हुँदै आए पनि गत आवमा भने चिनीको आयात धेरै ठुलो परिमाणमा घटेको पाइएको छ ।

नेपालगञ्ज भन्सार कार्यालयका अनुसार अघिल्लो आव २०७९/८० मा यो नाकाबाट एक अर्ब ५४ करोड ६५ लाख ५६ हजार रुपैयाँको १५ लाख ४६ हजार ५२६ किलो चिनी आयात भएकोमा गत आव २०८०/८१ मा १० करोड ७२ लाख आठ हजार रुपैयाँको दुई लाख २५ हजार ६४३ किलो मात्र चिनी आयात भएको छ ।  नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत पूर्णप्रसाद लम्सालले अघिल्लो आवको तुलनामा गत आवमा चिनीको आयात १३ लाख किलोभन्दा बढी घटेको देखिएको बताए ।

उनले यसरी चिनीको आयात घट्दा भन्सार कार्यालयको ८८ करोडभन्दा बढी राजस्व गुमेको जनाउँदै अघिल्लो आव २०७९/८० मा चिनी आयातबाट ८८ करोड ६५ लाख ९९ हजार रुपैयाँ राजस्व सङ्कलन भएकोमा गत आव २०८०/८१ मा सो घटेर ५० लाख ८० हजार रुपैयाँ मात्र राजस्व सङ्कलन भएको बताए । उनले यसरी गत आवमा चिनीको आयात यति धेरै किन घट्यो ? त्यसको अनुसन्धान गरिनुपर्ने बताउँदै अवैध आयात र चोरीपैठारी बढेकाले पनि वैध आयात घटेको हुन सक्ने बताए ।

उता प्रहरीले केही दिनको फरकमा पटक पटक भारतबाट अवैध रूपमा भित्र्याइएको चिनी बरामद गर्दै आएको छ । केही महिनाअघि प्रहरीले भारतबाट तस्करी गरेर ल्याई नेपाली बोरामा भरेर बिक्रीका लागि राखिएको धेरै ठुलो परिमाणको चिनी बरामद गरेको थियो । दुई दिनअघि पनि प्रहरीले १६ क्विन्टल अवैध चिनी नेपालगञ्जबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यी घट्नाबाट पनि चिनीको अवैध आयात र तस्करी नियमित रूपमा भइरहेको र सोही कारणले वैध रूपमा हुँदै आएको आयात घटेको र ठुलो परिमाणको राजस्वसमेत गुमेको स्थानीय नागरिकको गुनासो छ ।  नेपालगञ्ज–११ का जावेद राईले चिनीको अवैध तस्करी र चोरी निकासी अत्यधिक बढेकाले वैध रूपमा हुँदै आएको आयात ह्वात्तै घट्न गएको बताए । उनले सो सम्बन्धमा गहिरिएर छानबिन हुनुपर्ने माग पनि गरे ।

  • २१ श्रावण २०८१, सोमबार प्रकाशित

  • Nabintech