९ मंसिर २०८१, आईतवार

हैजाको हटस्पट ललितपुर, देशभर ३० जनामा हैजा

काठमाडौँ र ललितपुरलगायत कैलाली र प्युठानमा हैजा

  • न्युज मानसराेवर

काठमाडौँ: पछिल्लो तथ्याङ्क अनुसार देशभर ३० जनामा हैजा देखिएको छ । काठमाडौँ उपत्यकाका दुई जिल्ला काठमाडौँ र ललितपुरलगायत कैलाली र प्युठानमा हैजा देखिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ललितपुरमा १९ जना, कैलालीमा ८ जना, काठमाडौँमा एक जना र प्युठानका २ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको छ ।

ललितपुरको गोदावरी नगरपालिका–१४ का १० जनालाई हैजा पुष्टि भएको हो । गोदावरीको एक पुनर्स्थापना केन्द्रका १६ वर्षीय युवालाई साउन ४ गते (जुलाई १९) टेकु अस्पताल ल्याएको थियो । उनको परीक्षण गर्दा ७ साउनमा (जुलाई २२) गते हैजा पुष्टि भएको थियो । त्यसपछि पुनर्स्थापना केन्द्र बस्ने १० जनालाई हैजा पुष्टि भएको थियो । यस्तै, ललितपुरकै इमाडोल, ग्वार्को, चापागाउँ लगायत विभिन्न स्थानका ९  जनामा हैजा पुष्टि भएको छ ।
यसैगरी, काठमाडौँको टोखा नगरपालिकाका १ जनाको दिसा परीक्षण गर्दा हैजा देखिएको छ । यता, कैलालीको धनगढी उपमहानगरपालिका–१ का ८ जनामा हैजा पुष्टि भएको छ ।   प्युठानका २ जनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन आग्रह गरिएको छ ।

  • २२ श्रावण २०८१, मंगलवार प्रकाशित

  • Nabintech