कोहलपुर,बाँके: रासायनिक मल नपाउँदा उत्पादन घट्छ कि भनेर बाँकेका किसानमा चिन्ता बढेको छ। सरकारले माग र आवश्यकता अनुरुप रासायनिक मल उपलब्ध गराउन नसक्दा भर्खरै रोपाइँ सकेका बाँकेका किसान धान उत्पादन घट्ने हो कि भन्ने चिन्तामा छन् । भूमि उर्वर भए पनि सरकारले मल बीउको व्यवस्थापनमा गम्भीरता नदेखाउँदा किसानको श्रम र लगानीले उचित प्रतिफल दिन सकेको छैन ।
बाँके जानकी गाउँपालिका बोगटिया गाउँका महिलाल कोरिलाई धान खेतीका लागि कम्तीमा दश बोरा युरिया मल चाहिन्छ। तर मुस्किलले दुई बोरा मात्र पाएको वताउछन। आफूसँग पैसा भएको बेला मल नपाउने र मल पाइएको बेला आफूसँग पैसा नहुने दुखेसो उनको छ। यस्तो समस्याले गर्दा बर्सभरि खाने अनाजको उत्पादनमै चुनौती थपिएको उहाँको भनाई रहेको छ।
यस्तै जानकी गाउँपालिकाका अर्का किसान खगेन्द्र प्रसाद बर्माले कृषि सामाग्री कम्पनीसँगै युरिया बिक्रीको अनुमति पाएका कृषि सहकारी सस्थाहरुले ठुला जमिनदार र पहुँच हुनेहरूलाई मात्र मल दिने तर निमुखाहरूलाई रित्तै फर्काउने गरेको बताउछन।
यस्तै बाँकेको खजुरा गाउँपालिकाको कृषि सहकारीमा कृषकको लागि अनुदानमा आएको मल पाउनको लागि पनि तिन दिन देखि पालो पर्खिरहेको बताए।
किसानले मल नपाएको तर सहकारीहरूले कृषि सामाग्री कम्पनीबाट पाएको मल लुकाउने र बढी मूल्यमा ठुला जमिनदारलाई बिक्री गर्ने गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय बाँकेको अनुगमन टोलिले आकस्मिक निरीक्षण गर्दा सहकारीको गोदाममा हुनुपर्ने मल ठुला किसानको घरमा फेला परेको छ। कतै भने कसलाई बिक्री गरेको हो भन्ने अभिलेखनै नराखिएको भेटिएको छ।
अनुगमन तथा निरीक्षणमा संलग्न अधिकारीहरूले नै मल लुकाउने र बढी मूल्यमा बिक्री गर्ने सहकारी सञ्चालकहरूलाई जानकारी दिएर जोगाउने गरेको स्थानीय किसानहरूको आरोप रहेको छ।
बाँके जिल्लामा १ सय ४५ कृषि सहकारीहरू छन् । यस्ता सहकारीहरूलाई कृषि सामाग्री कम्पनीको शाखा कार्यालयले कोटा निर्धारण गरि मल उपलब्ध गराउँछ। अहिले यो कम्पनीलाई बाँकेमा ५ सय ३ मेट्रिक टन मल प्राप्त भएको छ। जबकि बाँके जिल्लामा ६ हजार मेट्रीकटन मलको माग छ तर पोटास र डिएपिको त्यति अभाव नभएको कम्पनीले जनाएको छ ।