९ मंसिर २०८१, आईतवार

कांग्रेसभित्रको किचलोले लुम्बिनी सरकारले पाएन पूर्णता, सबै मन्त्री लिएर मुख्यमन्त्री काठमाडौंमा
  • न्युज मानसराेवर

कोहलपुर,बाँके:नेपाली कांग्रेसबाट मन्त्री छान्ने विषयमा बढेको किचलोका कारण लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन । १२ मन्त्रालय रहेको प्रदेशमा अहिलेसम्म मुख्यमन्त्रीसहित ९ जना मात्रै मन्त्री रहेका छन् । साउन ७ गते मुख्यमन्त्री बनेका चेतनारायण आचार्यसहित ९ मन्त्रीले शपथ लिएका थिए । सोही दिन नेपाली कांग्रेसबाट मन्त्री बनेर सरकारमा पार्टीको नेतृत्व गर्न लागेका प्रमुख सचेतक जन्मजय तिमिलसिनालाई शपथपूर्व पाटीबाटै रोकिएपछि किचलो बढेको हो ।

पार्टीको संस्थापन समूहमा रहेका तिमिलसिनालाई इतर समूहमा रहेका प्रदेश अध्यक्ष अमरसिंह पुनसहितको नेतृत्वबाट तीव्र दवाव आएपछि रोकिएको थियो । त्यसपछि पनि साउन १८ गते मन्त्रीहरूले पनि कार्यविभाजन पाउने र कांग्रेसबाट पुनः जन्मजयलाई सरकारमा पठाउने तयारी गरिए पनि पुनः उनलाई रोकिएको छ ।

पटक पटक आफ्नो नाम पहिले चर्चामा ल्याएर विवाद बढाउने र बन्न नदिनेहरू सक्रिय भएको प्रमुख सचेतक तिमिल्सिनाको गुनासो छ । असन्तुष्ट बन्दै गएका उनले प्रमुख सचेतक पदबाट राजीनामा दिएका छन् । एमाले कांग्रेस गठबन्धन गर्दा नै मुख्यमन्त्रीसहित ५ मन्त्रालय एमाले र ५ मन्त्रालय कांग्रेसले पाउने र पहिलो दिन नै सरकारलाई पूर्णता दिने समझदारी गरेका थिए । तर अहिलेसम्म रोकिएको छ ।

दुई दलको सहमतिकै समयमा दुई मन्त्रालय साना दललाई दिने समझदारी भएको थियो । यही अनुसार साना दलबीच पनि उस्तै आकांक्षा बढेको छ । अहिलेको गठबन्धनमा रहेर सरकारमा जान जनमत, लोसपा, जसपा, जसपा नेपाल, नागरिक उन्मुक्ति सबै तयारी छन् तर मन्त्रालय जम्मा दुई वटा मात्रै छन् ।

मन्त्री भूमिश्वर ढकालका अनुसार सरकारबारे सबै विषयमा छलफल गर्न मुख्यमन्त्री सबै मन्त्रीहरू, कांग्रेस दलका नेता डिल्ली चौधरीसहितका मन्त्रीहरु काठमाडौंमा रहेको र दुई दिनपछि मात्रै फर्कने बताए । ‘तीन मन्त्री थप्न बाँकी छ, कांग्रेसबाट नाम टुंगो लागेको छैन, अशोक राईवाला जसपाबाट अवधेश त्रिपाठीको नाम आएको छ, अर्को कसले पाउने टुंगो छैन, हामी सबै काठमाडौं छौं, फर्केपछि मात्रैअघि बढ्छ’ उनले भने ।

सरकारले पूर्णता नपाएसँगै तीन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री चेतनारायण आचार्य आफैँले राखेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अहिले मुख्यमन्त्रीसँग छ । लोसपा नेपाल संसदीय दलका नेता सन्तोष पाण्डेले सरकारमा जाने निर्णय भए पनि मन्त्रालयबारे टुङ्गो नलागेको बताए ।

नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता धर्म बहादुर चौधरीले सरकारमा सामेल हुने विषयमा सामान्य छलफल भएको तर केही निचोड नआएको जनाए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य भने राजनीतिक भेटघाटका लागि काठमाडौँ गएका छन् । मुख्यमन्त्री फर्किएपछि साना दलसहित बाँकी मन्त्रीको नाम टुङ्ग्याउने सरकारका प्रवक्ता एवं कृषिमन्त्री दिनेश पन्थीले बताए ।

उनले सरकारमा लैजाने विषयमा ४ वटा साना दलसँग छलफल भए पनि अझै कुन मन्त्रालय कसलाई दिने भन्ने नटुङ्गिएको बताए । मुख्यमन्त्री काठमाडौँबाट फर्किएपछि सरकारलाई पूर्णता दिने उनको भनाइ छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले आफ्नो पार्टीको कोटामा परेको थप एक जना मन्त्री टुङ्ग्याउन कुनै समस्या नभएको दाबी गरे । तर कांग्रेसमा यहीँ विषयले बढेको विवादबारे उनले अनविज्ञता जनाए ।

 

  • २५ श्रावण २०८१, शुक्रबार प्रकाशित

  • Nabintech