नेपालगञ्ज : प्रतिष्ठित व्यवसायी अच्युत प्रसाईको निधन भएको छ । ललिपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको नेपालगञ्ज उद्योग वाणिज्य संघका कोषाध्यक्ष मख्खन धामीले जानकारी दिए । प्रसाई नेपालगञ्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष, पुर्व केन्द्रीय सदस्यसमेत हुन् । नेपालगञ्जमा राजनीति र सामाजिक कार्यमासमेत उतिकै सक्रिय प्रसाईको निधनले स्तब्ध बनाएको कोषाध्यक्ष धामीले बताए ।
बौद्धिक व्यक्तित्व प्रसाई उद्योग वाणिज्य संघको राजनीतिका क्षेत्रमा चर्चित नाम हो । प्रसाई २०५२ सालबाट नेपालगञ्ज उद्योग वाणिज्य संघमा सक्रिय थिए ।संघमा मनोनित भएपछि उनी लगायतले संघको स्वामित्वमा रहेको जग्गा अतिक्रमण हटाउने काम भएको थियो । यद्यप प्रयास असफल भयो । कर्मचारीको अवस्था बेहाल थियो । तलव अति कम भएपछि तलब बृद्धि गर्ने काम भएको थियो, त्यसबेला । संघको भौतिक संरचना राम्रो थिएन ।
बिधान पनि एक पन्ने थियो । त्यसलाई संशोधन गर्ने काम भयो । निर्वाचन गराउन दबाब दिइयो । २०५३ सालमा निर्वाचन भयो । तत्कालिन उपाध्यक्ष बिजयमान पति र प्रसाईबीच प्रतिस्पर्धा भयो । १५ जना कार्यसमितिमा १२ जना प्रसाई पक्षका बिजयी भए । निर्वाचन जिते पनि उनी सामु धेरै चुनौती थिए । ती चुनौती पार गर्ने काम उनले गरे ।
त्यसबेला उद्योगी, व्यवसायीहरुलाई हेर्ने प्रहरीको नजर गलत थियो । दुहुनो गाई बनाउने चलन थियो । त्यसलाई रोक्न उनले निकै ठुलो मेहेनत गर्नुपरेको थियो । गुण्डाहरुको सताउने काम त्यस्तै थियो । यि सबै कुरा समाधान गरे उनले । एउटा कोठाबाट सुरु भएको संघको कार्यालय तीन तले भवन निर्माण भयो । संघले बिधान पायो भने भौतिक संरचना सम्पन्न भयो ।
यसका साथै पहिलो पटक उनी नै नेपाल उद्योग वाणिज्य महासंघमा सहभागि भए । पहिलो पटक प्रसाई केन्द्रीय सदस्य भएपछि अहिलेसम्म त्यो कार्यले निरन्तरता पाएको छ । हरेक वर्ष नेपालगन्ज उद्योग वाणिज्य संघबाट केन्द्रमा प्रतिनिधित्व हुन्छ । उनकै कार्यकालमा माइन जर्मनी कार्यक्रम सन्चालन भयो । ३ सय सदस्य रहेको संघलाई उनकै कार्यकालमा १८ सय सदस्यको धनी बनाइएको थियो ।