२३ असार २०८२, सोमबार

अन्ततः ओली नेतृत्वमै समाप्त भयो ‘द्वन्द्वको खेती’
  • न्युज मानसराेवर

काठमाडौँ: सशस्त्र विद्रोहको नाममा माओवादीले चलाएको हिंसाप्रति एमाले अध्यक्ष केपी शर्मा ओली सधैँ कडा आलोचक रहनुभयो । उहाँले अहिलेसम्म कुनै पनि हिंसाको पक्षपोषण गर्नुभएको इतिहास भेटिएको छैन । माओवादी नेतृत्वमा भएको हिंसा होस् कि आफ्नै पार्टीका अन्य कुनै संघर्षका नाममा भएको किन नहोस् ।

इतिहास फेरि यसरी मोडिएको छ कि कुनै पनि प्रकारका हिंसाको सदैव आलोचक रहनुभएका ओलीकै नेतृत्वमा अहिले १८ वर्ष लामो शान्ति प्रक्रिया विराम उन्मुख भएको छ । माओवादीको नेतृत्वमा मुलुकमा चलाइएको दस वर्षे सशस्त्र युद्धका नाममा भएका हिंसात्मक घटनामा पूर्वमाओवादी वा राज्य पक्षबाट पीडा भोगेका नागरिकले मेलमिलाप मार्फत शान्तिको श्वास फेर्ने मार्ग प्रशस्त हुँदै छ ।

बुधबार ओलीकै नेतृत्वमा संघीय संसद्‍बाट संक्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित भएपछि यो सम्भव भएको हो । त्यही भएर हुन सक्छ– एक महिना अगाडि सत्ताच्युत हुनुपर्दा संसदको रोष्ट्रममा उभिएर प्रधानमन्त्री ओलीमाथि विष वमन गर्नुभएका पूर्वप्रधानमन्त्री तथा माओवादी हिंसाका सिर्जनाकार पुष्पकमल दाहाल प्रचण्डले त्यही रोष्ट्रममा ओलीको मुक्तकण्ठले प्रशंसा गर्न पुग्नुभयो ।

माओवादीले वाईसिएलका नामबाट ताण्डव मच्चाँउदा ओलीले त्यसको प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिने गर्नुहुन्थ्यो । त्यसैले माओवादीले सधैँ ओलीको विरोध गर्दै आएको थियो ।

एमालेको बुटवलमा सम्पन्न आठौँ महाधिवेशनमा समेत अप्रत्यक्ष कित्ताबन्दी  भएको थियो । जसमा तत्कालीन उपाध्यक्ष वामदेव गौतम लगायतका नेताहरूलाई सहयोग गरेर माओवादी ओलीलाई हराउन चाहन्थ्यो । तत्कालीन प्रधानमन्त्री दाहालको  विशेष ‘मिसन नै’ अध्यक्षमा ओलीलाई जसरी पनि हराउनु थियो ।

महाधिवेशनको मुखमा अनेक नामका नक्कली फ्याक्सन खडा गरेर ओलीविरुद्धका बनिबनाउ प्रतिनिधि खडा गरिएका थिए । यसको सबै कारण थियो– माओवादी हिंसाको आलोचना गर्ने ओलीलाई कुनै पनि हालतमा अध्यक्ष हुन नदिन पार्टीभित्र  र बाहिरको खेल सक्रिय भयो ।
ओलीले माओवादी हिंसाको आलोचनापछि सधैँ भन्ने गर्नुभएको एउटा भनाइ थियो– माओवादी सच्चिनुपर्छ ।

तत्कालीन एमाले उपाध्यक्ष वामदेव गौतमले संविनधासभामा माओवादी ठुलो पार्टी भएकामा खुसी प्रकट गर्नुभएको थियो । उहाँले संविधानसभामा आएका सबै कम्युनिष्ट घटकको सिट संख्या गनेर संविनधासभामा वामपन्थीहरूको ६५ प्रतिशत भन्दा ओलीले त्यसको कडा जवाफ दिनुभएको थियो ।

देशको सबैभन्दा ठुलो पार्टी एमाले तेस्रो स्थानमा पुगेको बेला गौतमको यो भनाइ सायद ओलीलाई चित्त नबुझेको हुनुपर्छ । गौतमको भनाइमा ओलीको टिप्पणी रहेको थियो– आफ्नो खेत बाँझो राखेर हाम्रा काकाका भकारीमा धेरै धान छ भने जस्तो हो यो ।

उहाँले त्यसलाई पुष्टि गर्दै भन्नुभएको थियो– देशको ठुलो पार्टी सुकेर ३३ सिटमा झरिसक्यो अनि वामपन्थीका नाममा अरूका सिट गनेर बस्ने कि आफ्नो पार्टी बलियो बनाउने ?

उहाँले यसो भने पनि माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने भूमिकामा कुनै कसर राख्नु भएन । उहाँ सशस्त्र विद्रोहरूपी हिंसामा रहेको माओवादीलाई शान्तिपूर्ण बाटोमा ल्याउनका लागि भएको १२ बुँदे सहमतिको मस्यौदाकारसमेत रहनुभयो ।

माओवादीको हिंसात्मक गतिविधिको कडा आलोचक मानिनुभएका  प्रधानमन्त्री ओलीले आफैँ सरकारको नेतृत्व गर्नुभएको बेला शान्ति प्रक्रियाका बाँकी  रहेको विषयलाई निकर्षमा पु-याउनुभएको छ । उहाँकै नेतृत्वमा १८ वर्षदेखि बाँकी रहेको टिआरसी विधेयक पारित भएको छ । १७ वर्ष सत्तामा बस्दा पनि माओवादीले टुंग्याउन नसकेको यो विधेयक ओलीले आफू प्रधानमन्त्री शपथ खाएको महिना दिन नबित्दै बुधबार प्रतिनिधिसभाको बैठकबाट पास गराई स्वयं माओवादीलाई चकित तुल्याइदिनुभयो ।

माओवादी अध्यक्ष दाहाललाई सत्ताबाट विस्थापित गरेर सत्तारोहण गर्नुभएका एमाले अध्यक्ष ओलीले सधैँ माओवादीका नेता-कार्यकर्तालाई त्रासमा राखिरहेको टिआसी विधेयक यति सजिलै पास गरिदिनुहोला भन्ने धेरैलाई लागेकै थिएन । आफूले प्रधानमन्त्री पदको शपथ खाए लगत्तै मुलुकको अभिभावकीय जिम्मेवारी सम्हाल्ने उद्घोष गर्नुभएका ओलीले सोही वाचाबमोजिम शान्ति प्रक्रियालाई निष्कर्षमा पुग्ने बाटो खालिदिनुभयो ।

परिणामतः अब नेपालमा द्वन्द्वको खेती सधैँका लागि समाप्त हुने अड्कल गर्न थालिएको छ । एमाले केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार माओवादीलाई आलोचना गरेर, सम्झाएर, थर्काएर, फकाएर भए पनि शान्तिमा रूपान्तरण गर्ने अग्रणी नेता ओली हुनुभएका कारणले नै उहाँकै नेतृत्वमा शान्तिप्रक्रियाले पूर्णता पाएको हो । त्यति मात्र होइन एमाले अध्यक्ष ओली माओवादीलाई हिंसात्मक द्वन्द्व विसर्जन गरेर शान्ति प्रक्रियामा ल्याउन गरिएको १२ बुँदे सहमतिका प्रमुख मस्यौदाकार समेत हुनुहुन्छ ।

अहिले प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकार बनेको बेला सिंहदरबार र बानेश्वर घुमिरहेको टिआरसी विधेयक पारित भएपछि उहाँको नेतृत्वको कौशलताको प्रशंसा धेरै तिरबाट भएको छ । स्मरणीय रहोस् माओवादी द्वन्द्वमा ओलीबाहेकका धेरै नेताहरू सत्ता पक्ष र विद्रोही पक्षका नाममा जोडिएका छन् । एमाले केन्द्रीय सदस्य विष्णु रिजालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला १८ वर्ष लामो शान्ति प्रक्रियाले कानूनमार्फत पूर्णता पाउनु अत्यन्त सुखद भएको टिप्पणी गर्नुभएको छ ।

उहाँले आफ्नो समाजिक सञ्जालमा लेख्नुभएको छ
अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला १८ वर्ष लामो शान्ति प्रक्रियाले कानूनमार्फत पूर्णता पाउनु अत्यन्त सुखद भएको छ । यसबाट खासगरी माओवादीका नेता–कार्यकर्ताहरूमा रहँदै आएको त्रास मेटिनेछ र पीडा मेटाएर मेलमिलापतर्फ जाने बाटो खुल्नेछ ।

उहाँ अगाडि लेख्नुहुन्छ
यसर्थ प्रधानमन्त्री ओलीलाई शान्ति प्रक्रियाको महत्त्व राम्ररी थाहा छ । त्यही भएर राजनीतिक विमतिका बीचमा पनि माओवादी र कांग्रेसलाई साथमा लिएर उहाँले सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता नागरिकसम्बन्धी जटिल कार्यलाई कानुनमार्फत टुंग्याउने सफलता पाउनुभएको छ ।

  • ३१ श्रावण २०८१, बिहीबार प्रकाशित

  • Nabintech