९ मंसिर २०८१, आईतवार

गट्ठाघर दुर्घटनामा ज्यान गुमाउने स्कुटर चालक महिला नभएर पुरुष भएको पुष्टि

ज्यान गुमाउने स्कुटर चालक महिला हो कि पुरुष भनेर छुट्याउनै प्रहरीलाई झण्डै पाँच घण्टा

  • न्युज मानसराेवर

भक्तपुर:भक्तपुरको गट्ठाघरमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनामा ज्यान गुमाउने व्यक्ति महिला नभएर पुरुष भएको खुलेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजन कार्कीले स्कुटर चालक महिला नभएर पुरुष भएको पुष्टि भएको बताए।

यसअघि दोलखाको मेलुङ गाउँपालिका ४ का शम्भु नेपालीले प्रहरी कार्यालयमा पुगेर दुर्घटनामा ज्यान गुमाउने आफ्नी बहिनी भएको जानकारी दिएपछि प्रहरीले सुरुमा त्यही विवरण सार्वजनिक गरेको थियो। तर उनले गलत जानकारी दिएको खुलेपछि प्रहरीले सनाखतको लागि थप प्रयास गरेको थियो।

मृतक झण्डै ४०/४५ वर्षको पुरुष भएको परिसरले जनाएको छ। तर, उनको सनाखत भने हुन सकेको छैन। बिहीबार दिउँसो २ बजेतिर गट्ठाघरमा ना६ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो।शव क्षतविक्षत भएकाले दुर्घटनामा ज्यान गुमाउने व्यक्ति महिला हो कि पुरुष हो यकिन गर्नै प्रहरीलाई हम्मे परेको हो।

शम्भु नेपालीले दुर्घटनामा आफ्नी बहिनीको मृत्यु भएको जानकारी गराएपछि प्रहरीले सुरुमा त्यही विवरण सार्वजनिक गरेको थियो। आफ्नो मृत्यु भएको समाचार सार्वजनिक भएपछि ती युवती भने प्रहरीको सम्पर्कमा आएकी थिइन्। स्कुटरलाई ठक्कर दिने ट्रक चालक भने सर्लाही मलंगवा नगरपालिका  २ घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठ रहेको खुलेको छ। उनी आफैँ प्रहरी कार्यालयमा पुगेपछि प्रहरीले उनलाई नियन्त्रणमा राखेको छ।

भक्तपुरको गट्ठाघरमा बिहीबार दिउँसो ट्रकको ठक्करबाट ज्यान गुमाउने स्कुटर चालक महिला हो कि पुरुष भनेर छुट्याउनै प्रहरीलाई झण्डै पाँच घण्टा लागेको छ।  बिहीबार दिउँसो १ बजेर ४० मिनेट जाँदा गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक व्यक्तिको मृत्यु भएपछि सुरुमा भक्तपुर प्रहरीले मृतक महिला भएको विवरण सार्वजनिक गरेको थियो।

तर, साँझ ६ बजेपछि मात्रै दुर्घटनामा ज्यान गुमाउने व्यक्ति महिला नभएर पुरुष भएको निष्कर्षमा  प्रहरी पुगेको हो। जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारीसमेत रहेका डीएसपी राजन कार्कीले झण्डै पाँच घण्टपछि मात्रै मृतक पुरुष भएको निष्कर्षमा आफूहरु पुगेको बताए।

दुर्घटनामा ज्यान गुमाउने व्यक्ति महिला हो कि पुरुष भनेर छुट्याउनै प्रहरीलाई किन त्यत्रो समय लाग्यो त? यो प्रश्नमा डीएसपी कार्कीले  भने, ‘शव क्षतविक्षत अवस्थामा थियो। चिन्न सक्ने अवस्थामा थिएन। त्यहीबेला एकजना व्यक्ति आएर मृतक आफ्नी बहिनी भएको बताएपछि हामीले मृतक महिला भएको विवरण सार्वजनिक गरेका थियौँ।’ उनले मृतकको एउटा खुट्टा बाहेक शरीरको कुनै पनि भाग सग्लो नहुँदा पनि सनाखतमा समस्या भएको बताए।

‘खुट्टा हेर्दा महिलाको जस्तो देखिन्थ्यो। चप्पल पनि महिला/पुरुष दुवैले लगाउन मिल्ने खालको थियो,’ कार्कीले थप प्रष्ट पार्दै भने, ‘सुरुवाल पनि महिलाले लगाउने टाइट खालको थियो। त्यही भएर हामीले सुरुमा मृतक महिला भएको अनुमान लगाएका थियौँ।’ दुर्घटना हुने बित्तिकै त्यहाँ लफडा सुरु भएकाले पनि राम्ररी शव हेर्न नपाउँदा अनुमान गलत भएको उनले प्रष्ट पारे।

‘दुर्घटना हुनेबित्तिकै त्यहाँ लफडा सुरु हुन थालिहाल्यो। हामीले लाशतिर ध्यान दिन पनि पाएनौँ। लाश राम्ररी हेर्न पनि पाइनौँ,’ कार्कीले भने, ‘अनुसन्धानको टोली गएर लाशलाई ओल्ट्याउने, पल्टाउने गरेपछि मात्रै मृतक महिला नभएर पुरुष भएको निष्कर्षमा हामी पुगेका हौँ।’दुर्घटनास्थलको अवस्था शान्त भएपछि मात्रै प्रहरीको अनुसन्धान टोली घटनास्थलमा पुगेको थियो।

‘अनुसन्धानको टोली नआइ हामीले लाशलाई ओल्टाउने-पल्टाउने कुरा हुँदैनथ्यो,’ कार्कीले भने, ‘त्यही बेला एक व्यक्तिले मृतक आफ्नी बहिनी भएको दाबी गरेपछि मिडियामा गलत विवरण गयो।’ बिहीबार साँझ घटनास्थलको सीसीटीभी फुटेज हेरेपछि मात्रै प्रहरी मृतक पुरुष भएको निष्कर्षमा पुगेको हो।

‘सीसीटीभी फुटेज हेर्दा दुर्घटना हुनुभन्दा एक मिनेटअघि कौशलटारबाट गट्ठाघरतिर आउँदै गरेको त्याे स्कुटरमा पुरुष सवार थिए,’ कार्कीले भने, ‘त्यही स्कुटर केही बेरमै गठ्ठाघरको दुर्घटनामा परेको कारण मृतक पुरुष भएको निष्कर्षमा हामी पुगेका हौँ।’ मृतकको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) पनि फेला परेको पनि कार्कीले बताए।

‘मृतकको साथमा नाम उत्तम कोइराला, ठेगाना ओखलढुंगा रातमाटे- ५ लेखिएको सवारी लाइसेन्स फेला परेको छ,’ डीएसपी कार्कीले भने, ‘तर, कतिपयले अर्काको लाइसेन्स बोकेका पनि हुनसक्छन्। आफन्त आएर सनाखत गरेपछि मात्रै मृतकको विषयमा हामी निश्चित हुन्छौँ।’ उनले ट्राफिक प्रहरीले चेकिङ गरिरहेको स्कुटरलाई ट्रकले ठक्कर दिएको भन्ने कुरा गलत भएको पनि बताए।

‘घटनास्थलभन्दा झण्डै सय मिटर अगाडि मात्रै ट्राफिक प्रहरीको चेकिङ थियो। ५ जना ट्राफिक ड्युटीमा थिए,’ डीएसपी कार्कीले भने, ‘ट्राफिकले स्कुटर र ट्रक दुवै सवारीलाई रोकेकै थिएन। घटनास्थल भन्दा निकै अगाडि मात्रै ट्राफिक थिए। ट्रकलाई स्कुटरले ओभरटेक गर्दा बाँया साइटबाट गर्यो। ट्रकको पछाडिको चक्कामा स्कुटर परेपछि घटना भएको हो।’ त्यो स्कुटर आफैँ लरबरिएर ट्रकको चक्कामा परेको हो वा कुनै सवारीले हुत्याइदिएको हो, अनुसन्धानपछि मात्रै खुल्ने उनले बताए।

 

  • ३२ श्रावण २०८१, शुक्रबार प्रकाशित

  • Nabintech