राप्तीसोनारी:राप्तीसोनारी गाउँपालिका–६, सिधनवास्थित सिद्धेश्वर माध्यमिक विद्यालयमा निम्न माध्यमिक विद्यालय तहका अङ्ग्रेजी विषयका शिक्षक गणेश खड्का हरेक शुक्रबार विद्यार्थीको अभिभावकका घरमा पुग्छन । शिक्षक खड्का यसरी हरेक शुक्रबार अभिभावकको घरमा पुग्न थालेको एक वर्षभन्दा बढी भइसक्यो । खड्काले गत वर्षको वैशाख १८ गतेबाट ‘हप्तामा एक दिन अभिभावकसँग’ भन्ने अभियान नै सञ्चालन गरेर हरेक हप्ताको शुक्रबार अभिभावकको घरमा पुगेर भेटघाट सुरु गरेको बताउछन ।
खड्काले भने, “सामुदायिक विद्यालय भन्नेबित्तिकै त्यसै पनि गरिब, असहाय तथा निम्न वर्गका अभिभावकका विद्यार्थीले पढ्ने विद्यालय भनेर भन्ने गरिन्छ, सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरलगायतका विषयमा पनि धेरै पटक बहस हुने गर्दछ । तसर्थ यी विषयलाई दृष्टिगत गर्दै विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि, शिक्षक, अभिभावक र विद्यार्थीबिचको सम्बन्धलाई पारिवारिक र सुमधुर बनाउनु पर्छ भनेर यस्तो योजना बनाएँ ।”
खड्काले गत वर्ष वैशाख महिनाको १८ गतेबाट सञ्चालन गरेको ‘हप्तामा एक दिन अभिभावकसँग’ अभियान अन्तर्गत गत शैक्षिक सत्रमा ४२ वटा शुक्रबार अभिभावकसँग भेटघाट र छलफल गरेको वताए । यो शैक्षिक सत्रको गएको शुक्रबार १८ औँ शृङ्खला पुग्यो ।
धेरै विद्यार्थी विद्यालयमा अनुपस्थित हुने गरेका कारण र अभिभावकसँग सहकार्य गरी विद्यार्थीको शैक्षिक गुणस्तरमा वृद्धि गर्ने उद्देश्यका साथ समस्या पहिचान गरी समाधान गर्नका लागि यो अभियान अत्यन्तै महत्वपूर्ण रहेको उनको भनाइ छ । विद्यालय र अभिभावकबिचको सम्बन्ध सुधार हुने, विद्यार्थीको पढाइमा रुचि जगाउने, विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि परामर्श गर्दै अभिभावकको सल्लाह र सुझाव सङ्कलन गरी सोही अनुसार योजना बनाएर अगाडि बढिरहेको खड्काले बताए । अभियानले शिक्षक, अभिभावक र विद्यार्थीबिचको सम्बन्ध सुमधुर बनाउने, पारिवारिक सम्बन्ध स्थापना हुने, विद्यार्थीको कक्षामा हुने अनियमित अनुपस्थितिलाई न्यूनीकरण गर्ने र विद्यार्थीको पढाइ र पारिवारिक अवस्थासमेत जानकारी प्राप्त हुने गरेको उनले बताए।
यस वर्ष दलित, जनजाति, टुहुरा, शारीरिक अशक्तता भएका, द्वन्द्वपीडित विद्यार्थीका अभिभावकलाई भेटघाट गरिरहेको शिक्षक खड्काले जानकारी दिदै भने, “यो शैक्षिक सत्रमा दलित, जनजाति, टुहुरा, शारीरिक अशक्तता भएका, द्वन्द्वपीडित विद्यार्थीका अभिभावकलाई भेट्ने योजना अनुसार उहाँहरूका घर घरमा पुगिरहेको छु, धरै जसो विद्यार्थी यिनै समुदायबाट अनुपस्थित हुने गरेका छन् ।”
अभिभावकको घरमा पुगेर छलफल गर्दा अभिभावक, विद्यार्थी, विद्यालय तथा शिक्षक कहाँ कसको समस्या छ भन्ने पहिचान हुने र समाधान गरी अगाडि बढ्न सजिलो हुने गरेको आफनो अनुभव सुनाउदै उनले भने । अभियान सञ्चालन गर्दा केही समय एक्लै हिँडे पनि पछिल्ला दिनमा भने अन्य शिक्षकले पनि साथ दिएको उनले वताए । विद्यालयका प्रधानाध्यापक ओमप्रकाश पुनले शिक्षक खड्काले सुरु गरेको यो अभियानले अत्यन्तै सकारात्मक काम हुन सकेको प्रतिक्रिया ब्यक्त गरेका छन ।