९ मंसिर २०८१, आईतवार

बाँकेमा झाडापखाला तथा हैजाजन्य रोग प्रकोपको आशंका

समस्या देखिएको खण्डमा यथाशिघ्र स्वास्थ्य संस्थामा जान आग्रह

  • न्युज मानसराेवर

बाँके:बाँकेमा झाडापखाला तथा हैजाजन्य रोग प्रकोपको आशंका गरिएको छ । जिल्लाका तीन पालिकाका केही स्थानमा झाडापखाला तथा हैजाजन्य रोगको प्रकोप देखिएपछि झाडापखाला तथा हैजाजन्य रोगको आशंका गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र जानकी गाउँपालिकाका केही स्थानमा झाडापखाला तथा हैजाजन्य रोगको प्रकोप देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

‘केही ठाउँमा झाडापखाला देखिएको छ, हैजाजन्य लक्षण पनि कतै देखिएको छ, परीक्षणका लागि प्रयोगशाला पठाएका छौँ’ स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले भने,’बर्षातको समय छ, केही शङ्कास्पद केश भेटिएका छन्, सावधानी अपनाउन आवश्यक छ ।’ २४ घण्टामा तीन वा सो भन्दा बढी पटक पातलो दिसा भएमा झाडापखाला भन्ने बुझ्नुपर्ने श्रेष्ठको भनाई छ । श्रेष्ठका अनुसार चौलानी पानी जस्तो दिसा हुनु, वाकवाकी लाग्नु, वान्ता हुनु, पेट दुख्नु र जिउ शिथिल हुनु हैजाका लक्षण हुन् ।

स्वास्थ्य कार्यालय बाँकेले पानी शुद्धीकरण गरेर मात्र पिउन आग्रह गरेको छ । यस्तै बासी, सडेगलेको, झिँगा भन्केको, खुला रुपमा राखिएको खाना नखान अनुरोध गरेको छ । तारन्तार पातलो दिशा भए वा बान्ता भईरहे नुन चिनी पानी अर्थात जीवनजल तथा झोलिलो पदार्थ सेवन गर्नुपर्ने चिकित्सकहरुले सल्लाह दिएका छन । उनीहरुले यस्तो समस्या देखिएको खण्डमा यथाशिघ्र स्वास्थ्य संस्थामा जान समेत आग्रह गरेका छन ।

 

  • ३ भाद्र २०८१, सोमबार प्रकाशित

  • Nabintech