२१ असार २०८२, शनिबार

दिवंगत सदस्यको स्मरणमा नेपालगञ्जमा गाईजात्रा

गाईजात्रामा सहभागी बटुवाहरुलाई सगुन खुवाएमा पितृले मुक्ति पाउने समुदायमा विश्वास रहँदै

  • न्युज मानसराेवर

नेपालगञ्ज : नेपालगञ्जका नेवाः समुदायले समुदायका १० दिवंगत सदस्यहरुको सम्झनामा गाईजात्रा निकालेका छन् । एक वर्षको अवधिमा दिवंगत भएका नेवाः परिवारका सदस्यहरुको सम्झनामा नेपालगञ्जमा गाईजात्रा निकालिएको हो ।

नेवाः पुच बाँकेको आयोजना र नेपालगञ्जमा क्रियाशील नेवाः समुदायको गुठी, खलः र पुचःहरुको सह आयोजनामा निकालिएको गाईजात्रा बागेश्वरी पार्कमा पुगेर समापन भएको छ । १० वटा दिवंगत परिवारबाट फरक फरक सृङ्गार गरिएका देबी देवता र गाईको प्रतिकात्मक बालबालिका तथा बयस्कहरुको लावा लस्कर स्थानीय स्वस्तिक कटेजबाट सुरु भएर भुरेस्कुल, घरबारीटोल, धम्बोझी, सेतुबिक चोक, न्युरोड हुँदै बागेश्वरी मन्दिर परिषर पुगेर समापन भएको थियो ।

जात्रामा देवी देवताका आवरणमा सृङरिएका बालबालिका सहित , तायमचा, लाखे नाच लगायतका झाँकी प्रदर्शन गरिएको थियो । नेवाः समुदायको महत्वपूर्ण पर्व मानिन्छ । नेपालगञ्जमा मंगलबार बिहानैदेखी परेको अविरल वर्षाका बाबजुद पनि नेवार समुदाय सहित मृतक घरका आफन्त र छिमेकीहरुको गाईजात्रामा उल्लेख्य उपस्थिती रहेको थियो । वर्षामा भिज्दै जात्रामा सहभागी भएका सबैजनालाई नेवाः पुच बाँकेका अध्यक्ष जितेन्द्रकुमार जोशीले धन्यबाद दिए ।

गाईजात्रामा सहभागी हुन आउने नेवाः समुदायको मृतकका घरका सदस्य आफन्तहरुमा समबेदना प्रकट गर्दै गाईजात्रा ब्यवस्थापन समितिका संयोजक हरिश्चन्द्र श्रेष्ठले मृत आत्माको चिर शान्तिको कामना गरे ।

पितृहरुको स्मरणमा निकालिने गाईजात्रामा सहभागी बटुवाहरुलाई सगुन खुवाएमा पितृले मुक्ति पाउने समुदायमा विश्वास रहँदै आएको छ । नेवाः पुचले हरेक वर्ष नेपालगञ्जमा मृत आत्माको शान्तिको कामना गर्दै गाईजात्रा पर्व मनाउँदै आएको छ ।

  • ४ भाद्र २०८१, मंगलवार प्रकाशित

  • Nabintech