दैलेख : दैलेखका विभिन्न तीन ठाउँमा पानीसँगै परेको चट्टयाङ्गले लागेर चार जना घाइते भएका छन् । चट्टयाङ्ग लागेर भगवतीमाई गाउँपालिका–१ राँकाका २६ वर्षीय रेशम थापा, महाबु गाउँपालिका–२ डुँग्री गाउँका तीन जना ३० वर्षीय दिलबहादुर सुनार, २३ वर्षीय नगेन्द्र सुनार र ९ वर्षीय महेश सुनार घाइते भएका जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी सुनिल दाहालले जानकारी दिनुभयो ।
डुँग्री गाउँमा घरभित्र बसिरहेका तीन दाजुभाइ दिलबहादुर, नगेन्द्र र महेश बेहोस भएपछि दैलेख अस्पतालमा पठाएको महाबु गाउँपालिका–२ की वडासदस्य पशुपति सुनारले जानकारी दिनुभयो ।
घाइते चारै जनालाई दैलेख अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल पठाइएको दैलेख अस्पतालका इञ्चार्ज डा. धर्मराज रेग्मीले बताउनुभयो । चट्याङ्ग लागेर भौतिक सम्पतिमासमेत क्षति भएको प्रहरीले जानकारी दिएको छ ।