बाँके\जनता समाजवादी पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जनमत र जनाधार भएका नेतालाई अपमान गरेको आरोप लगाएका छन् । जसपा जिल्ला कार्यसमिति रुपन्देहीको घोषणासभालाई आइतबार भैरहवामा सम्बोधन गर्दै महासचिव राईले अहिले जसपा नेपालमा २०६२ सालदेखि नेतृत्व गरेका केन्द्रीय नेताहरुमध्ये उपेन्द्र यादव एक्लै भएको दाबी गरे ।
उनले भने, ‘उपेन्द्रजीले व्यक्तिगत स्वार्थ, सत्ता र पद लोलुप्ताले जनमत भएका, जनाधार भएका र मधेश आन्दोलनमा योगदान गरेका नेतालाई सम्मान नगरेर अपमान गर्नुभयो । उहाँको एकलौटी निर्णय र एकदमै हैकमवादी चरित्र छ । नेताहरुलाई लखेट्नुभयो । अहिले उहाँ एक्लै बस्नुभएको छ ।’ महासचिव राईले पद र शक्तिका लागि उपेन्द्र यादवले रामसहाय प्रसाद यादवलाई सांसदबाट राजीनामा गराएर उपराष्ट्रपति बनाएको आरोप लगाए ।
उनले जसपा एउटा शक्तिको रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै भने, ‘पार्टी विभाजन गर्नु दुःखद कुरा हो, भारी मनले पार्टी विभाजन गर्नुपर्यो ।’ पार्टीका केन्द्रीय सदस्य महेन्द्र यादवले उपेन्द्र यादवकै कारण पार्टी विभाजन भएको बताए । उनले ५४ सीट पाएको पार्टी अहिले ५ सीटमा सीमित भएको बताए । कार्यक्रममा केन्द्रीय सदस्यहरु मनिकर कार्की, नवीन सुनुवार, अलाउद्दिन मुसलमान, पूर्वमन्त्री भण्डारीलाल यादव, युवा नेता अकरम खाँ, जयप्रकाश यादव, रामकेश धवल, जसपा कपिलवस्तुका सचिव उदयभान यादव, योगेन्द्र चौधरी, असलम खान, मोहम्मद अलीलगायतले भनाइ राखेका थिए । कार्यक्रममा शिवदास यादवको अध्यक्षतामा जसपा रुपन्देही जिल्ला कार्यसमिति गठन गरिएको थियो ।