नेपालगन्ज:व्यवसायीहरू बीमा भुक्तानीको समस्यामा नेपालगन्ज उद्योग वाणिज्य संघले चासो देखाएको छ । संघले निर्जिवन बीमा गरेका व्यवसायीहरूले बीमा दाबी गर्दा समस्या झेल्नु परिरहेको अवस्थामा समस्या पहिचान र त्यसको समाधानका लागि संघ अध्यक्ष टंक बहादुर धामी लगायत कार्यसमितिले निर्जिवन बीमा कम्पनीका प्रतिनिधिहरूसँग मंगलबार छलफल गरेको हो ।
संघ अध्यक्ष धामीको अध्यक्षता भएको बैठकमा बीमित व्यवसायीले बीमा रकम दाबी गर्दा रकम छिटो र छरितो कसरी सहज उपलब्ध हुन सक्छ भन्ने विषयमा छलफल गरिएको महासचिव भीम बहादुर रानाभाटले जानकारी दिए ।
‘बीमा गर्दा सहजै हुने दाबी गर्दा विभिन्न झन्झटिला प्रक्रियाहरू हुँदा व्यवसायीले निकै समस्या झेल्नु परिरहेको छ’, महासचिव रानाभाटले भने, ‘त्यसैले संघले निर्जिवन बीमा प्रतिनिधिहरूसँग त्यस विषयमा छलफल गरेको हो ।’
बैठकमा संघ अध्यक्ष धामीले व्यवसायीहरूबाट कुनै समस्या भए त्यसमा सहजीकरण गर्ने तर बीमा कम्पनीहरूबाट अनावश्यक झन्झट सिर्जना नगरी सहज रूपमा बीमा भुक्तानीको प्रक्रिया अघि बढाइदिन आग्रह गरेका थिए ।
१३/१४ वटा निर्जिवन बीमा कम्पनीका प्रतिनिधि सहभागी रहेको छलफलमा व्यवसायीबाट कमजोरी भए त्यसलाई सच्याउने प्रतिबद्धता समेत गरिएको थियो ।
‘आगामी दिनमा सहजतापूर्वक सेवा लिनेदिने बिषयमा आइपरेका कठिनाइहरूलाई समाधानका लागि एक आपसमा छलफल, भेटघाट र समन्वय गर्दै अगाडि बड्ने निर्णय गरिएको छ’, महासचिव रानाभाटले भने ।
छलफलमा सोमबार राती न्यूरोडमा कपडा पसलमा भएको आगलागीबाट क्षति प्रति दुःख व्यक्त समेत गरिएको थियो । त्यसक्रममा बीमा क्षति न्यूनीकरणका लागि भरपर्दो माध्यम भएपछि बीमा रकम प्राप्त गर्न र दाबीमा विभिन्न समस्या व्यवसायीहरू पलायन समेत हुनेपर्ने अवस्था रहेको भन्दै चिन्ता व्यक्त गरिएको थियो ।