नेपालगन्ज:नेपालगन्जमा अत्याधुनिक ल्याब सहितको टेष्ट ट्युब बेबी सेन्टर स्थापना गरिने भएको छ । त्यसका लागि आइभीएफ ल्याब सेटिङ्गमा जुटेको नेपालगन्ज स्थित एचसीआरसी अस्पतालले दक्ष चिकित्सक तयारीका लागि आवश्यक उच्च शिक्षणमा जनशक्ति खटाएको जनाएको हो ।
‘यसैबर्ष अत्याधुनिक आइभीएफ ल्याब सहितको टेष्ट ट्युब बेबी सेन्टर स्थापना गरिसक्न आवश्यक जनशक्ति प्रशिक्षण भैरहेको छ’, वरिष्ठ प्रसुति तथा बाँझोपन विशेषज्ञ डा. मञ्जु बिसी शाहको नेतृत्वमा भारतको लखनउ स्थित इन्दिरा टेष्ट ट्युब बेबी सेन्टरमा उच्च शिक्षण भैरहेको जानकारी दिंदै अस्पतालका निर्देशक रमेश सिटौलाले भने । निर्देशक सिटौलाका अनुसार, आवश्यक उपकरण ल्याउने कार्य सुरु भैसकेको छ ।
एचसीआरसी अस्पतालका प्रमुख डा. कुमार सान शाहले करोडौं लगानीमा बनाइएको अत्याधुनिक अस्पतालको पूर्वाधारलाई विशेषज्ञ अस्पतालका रुपमा सञ्चालनमा ल्याइएको जानकारी दिंदै पश्चिम नेपालमै निःसन्तानपनको उपचारका लागि टेष्ट ट्युब बेबी सेन्टर स्थापना गर्न लागिएको बताए ।
‘त्यसका लागि भारत स्थित इन्दिरा टेष्ट ट्युब बेबी सेन्टर (आइभीएफ)सँग प्राविधिक सहकार्य गरिरहेका छौं’, डा. शाहले दैनिक भने, ‘निःसन्तानपन नेपाली दम्पत्तिको ठूलो समस्या भएकाले नेपालगन्जमै सहज र सहुलियत उपचारमा प्रतिबद्ध छौं ।’ यसैबीच, अस्पतालमा शनिबार निःसन्तानपन उपचार परामर्श शिविर आयोजना गरिएको छ । एचसीआरसी अस्पतालले दिएको जानकारी अनुसार, प्रसुति तथा बाँझोपन विशेषज्ञ डा. मञ्जु बिसी शाहको नेतृत्वमा रहेको भारतको इन्दिरा टेष्ट ट्युब बेबी सेन्टर आइभीएफका वरिष्ठ महिला प्रसुति तथा बाँझोपन विशेषज्ञ डा. ज्याति सिंह सँगको सहकार्यमा निःशुल्क परामर्श शिविर गरिएको हो ।
अस्पतालका निर्देशक रमेश सिटौलाका अनुसार, शिविरमा १ सय २४ जनाले परामर्श सेवा लिएका थिए । जसमध्ये १ सय १५ जनामा बाँझोपन निःसन्तानपन सम्बन्धी समस्या देखिएको अस्पतालले जनाएको छ । ९ जनाले भने प्रजनन सम्बन्धी परामर्श लिएका छन् । बाँके, बर्दिया, दाङ्ग, सुर्खेत, सल्यान, दैलेख, कालिकोट र रुकुमबाट समेत शिविरमा सहभागिता जनाइएको अस्पतालको तथ्यांकमा उल्लेख छ ।