१० मंसिर २०८१, सोमबार

वाईसिएल अध्यक्षमाथि जबरजस्ती करणीको आरोप
  • न्युज मानसराेवर

कालीकोट : नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन वाईसिएल नेपाल कालीकोटका अध्यक्षले एक महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेको छ । जिल्लाको पलाँता गाउँपालिका–१ पुलाहका २९ वर्षीय राजबहादुर बुढाले एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि उनको नाममा पक्राउ पुर्जी जारी भएको हो ।

बुढाले पलाँता गाउँपालिका–१ मा गत २०८० फागुन ५ गते राति जबरजस्ती करणी गरेको र गर्भ बसेपछि गर्भपतन पनि गराएको जाहेरीमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालय कालीकोटले भदौ ७ गते जिल्ला अदालतलाई पत्र लेख्दै सोही पालिका निवासी २० वर्षीय महिलाको जाहेरीका आधारमा बुढालाई तत्काल पक्राउ गर्नुपर्ने भएकाले अनुमति मागेको पत्रमा उल्लेख छ ।

प्रहरीले अनुमति मागेपछि जिल्ला अदालत कालीकोटले राजबहादुर बुढाको नाममा पक्राउ पुर्जी जारी गरेर खोजी जारी राखेको छ । पीडित महिलाले आफूमाथि मिति २०८० साल फागुन ५ गते राति करणी भएको भए पनि आफूलाई जाहेरी दिनबाट रोकिएकाले थप पिडामा रहेको उल्लेख गरेको प्रहरीले जनाएको छ ।

पीडित महिलाले जबरजस्ती करणीका कारणले आफ्नो पेटमा गर्भसमेत बसेको र गर्भपतन गर्न लगाएको जाहेरीमा उल्लेख गरेकी छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी प्रहरी निरीक्षक पोषण थापाले भदौ ६ गते जाहेरी आएको पुष्टि गरेका हुन् ।

भदौ ७ गते पक्राउका लागि अदालतसँग अनुमति मागेर प्रहरीले बुढाको खोजी जारी राखेको छ । आरोपित बुढाको हुलियासहित सबै प्रहरी युनिटमा पत्राचार भएको भए पनि अहिलेसम्म फेला नपरेको उहाँले बताउनुभयो । जाहेरीपछि पीडित राजबहादुर बुढा फरार छन् ।

पीडित महिला अहिले एक सामाजिक संस्थाको आश्रयमा छन् । उता पीडित महिलाका घरपरिवारलाई जाहेरी फिर्ता लिन र अदालतमै भए पनि बयान बदल्न दबाब दिएको गुनासो समेत आएको छ । एक स्थानीयले पीडित महिलालाई मानसिक दबाब दिने काम भइरहेकोसमेत बताए । यता पालाँता गाउँपालिका अध्यक्षले समेत पीडित महिलालाई नाम सार्वजनिक नगर्न फकाएका छन् ।

  • २० भाद्र २०८१, बिहीबार प्रकाशित

  • Nabintech