११ मंसिर २०८१, मंगलवार

जमुनाहा नाका मानव बेचबिखनका लागि जोखिमपूर्ण,बाँकेमा मानव बेचबिखनविरुद्ध ४७ मुद्दा

मानव बेचबिखन बढ्न थालसँगै पछिल्लो समयमा मानव बेचबिखन विरुद्धका मुद्दाहरू पनि प्रहरीमा दर्ता हुने क्रम बढ्दो

  • न्युज मानसराेवर

बाँके:पश्चिम नेपालका विभिन्न पहाडी र तराईका जिल्लाको प्रमुख नाकाको रुपमा रहेको नेपालगन्जस्थित जमुनाहा नाका मानव बेचबिखनका लागि अति नै जोखिमपूर्ण मानिन्छ। यो नाकाबाट जोखिमपूर्ण रुपमा भारत छिराउन वा छिर्न लागेका सयौँ महिला तथा युवतीहरूलाई हरेक वर्ष उद्धार गरेर घर फर्काउने गरिएको छ। मानव बेचबिखन बढ्न थालसँगै पछिल्लो समयमा मानव बेचबिखन विरुद्धका मुद्दाहरू पनि प्रहरीमा दर्ता हुने क्रम बढेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार गत तीन आर्थिक वर्षमा मानव बेचबिखन विरुद्धका ४७ वटा मुद्दा जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीले आर्थिक वर्ष २०७८र७९ मा मानव बेचबिखन विरुद्धका १७ वटा मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०७९/८० मा १३ र २०८०/८१ मा पनि १३ वटा मुद्दा दर्ता भएको बताए । उनले चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्म चार वटा मुद्दा दर्ता भइसकेको र अनुसन्धान भइरहेको बताए।

जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता भएका मुद्दामध्ये १० वटा बाहेक सबै मुद्दामा प्रहरीले अनुसन्धान गरी अदालतमा पेस गरिसकेको पनि एसपी कार्कीले बताए। माइती नेपालका अनुसार ती सबैलाई परिवारसँग पुनर्मिलन गराइएको छ। यसैगरी भारतका विभिन्न ठाउँबाट नौ जना महिला तथा बालबालिकालाई उद्धार गरिएको माइती नेपाल नेपालगन्जले जनाएको छ।

माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाका अनुसार पछिल्लो समय पढेलेखेका, आर्थिक रूपले सम्पन्न, महिला, पुरुष सबै तप्काका मानिसहरू मानव बेचबिखनमा परिरहेका छन्। जमुनाह नाकाबाट कामका लागि तेस्रो मुलुक जाने नाममा भारतको बाटो प्रयोग गर्दा पनि मानिसहरू मानव बेचबिखनमा परेको उनले बताए।

अर्कोतिर पैसाका लागि जस्तोसुकै काम गर्ने महत्त्वाकाङ्क्षा र सामाजिक सञ्जालको दुरुपयोग कर्ताको निशानामा पर्दा पनि महिला बेचबिखनमा पर्ने गरेको पाइएको छ। प्रमुख कोइरालाले माइती नेपालले भारतमा बेचबिखनमा परेकालाई अपरेसन चलाएर उद्धार गरी ल्याउने गरेको जनाउँदै पछिल्लो समय माइती नेपालमा खाडी मुलुकबाट समेत आफू बेचबिखनमा परेको र उद्धार गरिदिन भन्दै निवेदन आइरहेको बताए।

  • २१ भाद्र २०८१, शुक्रबार प्रकाशित

  • Nabintech