कोहलपुर,बाँके :नेकपा (बहुमत)ले लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मी विरुद्ध आन्दोलन घोषणा गरेको छ । निर्मला कुर्मीको बेपत्ता तथा अपहरण लगायतका गम्भीर अपराधको अनुसन्धानमा नाम जोडिएको भन्दै राजधानी काठमाडौंमा अधिकारकर्मी रुबी खानले निरन्तर आन्दोलन चर्कारहँदा बहुमतले बाँकेमा बहिष्कार लगायतका विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
सोमबार नेकपा बहुमत लुम्बिनी प्रदेश ब्यूरोले प्रदेशभरी नै भ्रष्टाचार विरुद्धको जनएकता अभियान चलाइरहेको जानकारी दिंदै गम्भीर अभियोगमा मुछिएका मन्त्री कुर्मीलाई बर्खास्त गर्न माग गर्दै आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरिएको जनाएको छ ।
‘यस्तालाई मन्त्री बनाइरहँदा दण्डहीनताले प्रश्रय पाएको प्रष्ट हुन्छ’, बहुमतका नेता नरेन्द्र विकले पत्रकार सम्मेलनमा भने, ‘माग पूरा नहुँदासम्म आन्दोलन चर्किंदै जानेछ ।’
नेकपा बहुमतका लुम्बिनी ब्यूरो इन्चार्ज तिलकले विज्ञप्ति जारी गरी विभिन्न तीन बुंदे घोषण सार्वजनिक गरेका छन् । असोज १ गतेसम्म मन्त्री कुर्मी विरुद्ध एक लाख हस्ताक्षर संकलन गर्ने घोषणा गरेको बहुमतले जिल्लामा प्रवेश निषेध गर्नेसम्मका कार्यक्रम सार्वजनिक गरेको छ । साथै, रुकुमका सांसद धन बहादुर केसी विरुद्ध पनि रुकुम जिल्ला प्रवेश निषेध लगायतका कार्यक्रमका घोषणा विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।
धन बहादुर केसीलाई उन्मुक्ति दिने न्यायाधीश लोकबहादुर हमालको घरमा कालो ब्यानर टासिने बताइएको छ । भाद्र ३१ गते न्यायाधीश हमालको पुत्ला दहन गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ । यसअघि सो पार्टीले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै विवादित मन्त्रीलाई बर्खास्त गर्न र सांसद केसीलाई कारवाही गर्न ध्यानाकर्षण गराएको थियो भने प्रदेश अन्तर्गतका सबै जिल्ला प्रशासन मार्फत कारवाहीको माग सहित ज्ञापनपत्र बुझाएको थियो ।