कोहलपुर,बाँके: बाँकेको सुगुम भनेर चिनिने कोहलपुर नगरपालिका अन्तरगत कार्यरत शिक्षकहरुले गत बैशाखदेखि भाद्र २६ गते हुदा सम्म आफुले खाईपाई आएको तलव पाउन नसकेपछि बुधवार कोहलपुर नगर पिता पुर्ण प्रसाद आचार्यलाई सम्वोधन गर्दै ज्ञापन पत्र पेश गरेका छन । नयाँ योजना नयाँ कामकालागि ज्ञापन पत्र बुझाउने प्रचलन भएपनि आफुले श्रम गरेर पाकिसकेको तलव नपाएपछि यसरी ज्ञापन पत्र पेश गर्नुपर्ने बाध्यता आईलागेको नेपाल राष्ट्रिय शिक्षक संगठन नगर समिति कोहलपुरका अध्यक्ष गणेश कुमार खड्काले न्युज मानसरोवरलाई वताए ।
कोहलपुर नगरपालिकालाई शिक्षाको हव बनाउने घोषित उद्देश्य राखेर नगरपालिका अगाडी बढेको सन्दर्भमा देशको जिम्मेवार पेशागत संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन शिक्षाको गुणस्तर वृद्धी र कोहलपुरलाई शैक्षिक हव बनाउने कुरामा सदैव सहयोगी रहेको व्यहोरा सहित नगर पितालाई बुझाईएको ज्ञापन पत्रमा नगरपालिकाले स्थानिय स्तरबाट नियुक्त गरेका दर्जनौ शिक्षकहरु, बालविकास शिक्षक र कर्मचारीहरुले विगत ५ महिना वैशाख देखी हालसम्म तलब नपाउदा नेपालीहरुका वार्षिक चाड पर्वको अवसरमा निक्कै खल्लो महसुस गरेको जग जाहेर गरिएको छ ।
स्थानिय तह हामी सबैको अभिभावक भएका नाताले ५ महिना सम्म नियमित तलव नपाउँदा त्यही तलवबाट घर चलाउन पर्ने शिक्षकहरुलाइ कति समस्या परेको होला नगर प्रमुख ज्यूले आफै महसुस गर्न सक्नुहुन्छ भनिएको उक्त ज्ञापन पत्रमा नेपाली समाजमा सबै तहका राज्यको प्राथमिकतामा शिक्षा र शिक्षक नपरेको परिवेशमा हाम्रो नगरपालिका मात्र कसरी अपवाद बन्ला र भन्ने प्रश्न समेत उल्लेख गरिएको छ ।
खुसी र सम्मानीत शिक्षक बिना शैक्षिक हव बनाउने कुरा सम्भव हुँदैन, आखिर कहिले सम्म बिना पारिश्रमिक शिक्षकलाई काम गराउने हो भन्ने प्रश्नको उठान गरेको राष्ट्रिय शिक्षक संगठनको ज्ञापन पत्रले महिला शिक्षकको संख्या उल्लेख्य रहेको सन्दर्भमा महिलाको चाड तीज पर्व विना तलव नै सकिएको दुखेसो समेत पोखेको छ ।
नेपालीहरुको महान चाड दशैं र तिहार भित्रिदै छन् तसर्थ एउटा जिम्मेवार पेशागत संगठन हुनाको नाताले शिक्षकको यस्तो कठिन परिस्थितिमा चुपलागेर बस्न नसक्दा दशै विदा हुनुभन्दा पहिले वैशाख देखी हाल सम्मको तलव भत्ता निकाशा गर्ने वातावरण बनाउन यो ज्ञापनपत्र पेश गरेका छौं भन्दै नगर समितिले समयमै तलवभत्ता निकाशाको व्यवस्था नगरे थप आन्दोलनका कार्यक्रम गर्न नेपाल राष्ट्रिय शिक्षक संगठन बाध्य हुने समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ भने त्यसवाट श्रृजनाहुने असहज परिस्थितिको जिम्मेवार स्वयं नगरपालिका हुने समेत भनिएको छ ।
त्यसो त कोहलपुर नगरपालिकालाई शैक्षिक हव वनाउने भन्दै भाषण गर्ने गरिएको भएपनि पुर्वाधार र शिक्षक पारिश्रमिक समेत बेलैमा निकाशा गर्न नसक्ने नगरपालिकाले कसरी शैक्षिक हव बनाउला भन्नेवारे बुद्धिजिविहरुले अडकलवाजि गर्न थालेका छन । पाँच महिना सम्म पारिश्रमिक विना काम गराउनु दुखद भएको भन्दै शैक्षिक अभियान्ताहरुले शिक्षकहरुको समस्या समाधान बेलैमा गर्नुपर्ने धारणा ब्यक्त गरेका छन ।