बाँके: बाँकेका मुस्लिम धर्मालम्वीले सोमबार इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती मनाएका छन् । ‘मोहम्मद डे’ भनिने मोहम्मद पैगम्बरको जन्मदिनमा नेपालगन्जका विभिन्न स्थानबाट मुस्लिम समुदायले र्याली निकालेका थिए ।
र्याली सहित उनीहरू त्रिबेणीमोड, त्रिभुवन चौक, बिपी चौक, पुष्पलाल चौक लगायत नगरको विभिन्न भागको परिक्रममा गरेका थिए । जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभाका सदस्य डा. सिके राउत, पूर्व मन्त्री अब्दुल खान, दिपक शाह लगायतका शिर्ष नेताहरू र्यालीमा पुगेर मुस्लिम समुदायलाई शुभ कामना दिनु भएको थियो । र्यालीमा पुग्ने राउत सहितका नेताहरूलाई मुस्लिम अगुवा एवं नेकपा एमालेका केन्द्रीय सदस्य हारुन कादरी लगायतले स्वागत गरेका थिए ।
एक्लैनीमा रहेको जामा मस्जिद लगायतका स्थानमा रहेका मस्जिदहरुबाट ब्यानर सहित र्याली निकालिएको थियो । इस्लामी पात्रो हिजरी सम्वतको रब्बीअव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमबिनाको कोखबाट हजरत मोहम्मदको जन्म भएको दिनको सम्झनामा जन्म जयन्ती मनाउने गरिन्छ ।
उनको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिएको मुस्लिम समुदायका अगुवाहरू बताउँछन् ।
जसलाई मुस्लिम समुदायले जलसा ईद मिलादुन नवी, तकरिर गर्ने भन्दछन् । एकदमै उत्साहपूर्वक मोहम्मदको सम्झना गरेर मनाइने पर्वमा गाउँमा भोजको आयोजना गरेर यतिम खानाका बालबालिकालाई समेत खुवाउने गरिन्छ ।
नेपाल सरकारले सोमबार सामुदायिक बिदा दिएको छ भने नरैनापुर, जानकी र नेपालगन्ज उपमहानगरपालिकाले सार्वजनिक बिदा समेत दिएको छ ।