३ आश्विन २०८१, बिहीबार

भेरीमा जटिल खाले हिपको प्रत्यारोपण

दुई जना बर्दिया र एक जना सुर्खेतका बिरामीको हिपको जटिल खालको प्रत्यारोपण

  • न्युज मानसराेवर

नेपालगञ्ज : भेरी अस्पतालमा सिकलसेलका बिरामीको जटिल खाले हिप प्रत्यारोपण गरिएको छ । तीन जना सिकलसेलका बिरामीको जटिल प्रकारको हिपको प्रत्यारोपण गरिएको भेरी अस्पतालका हाड जोर्नी तथा नशा एवं मेरुदण्ड रोग विशेषज्ञ डा. तीर्थेन्द्र खड्काको टिमले गरेका हुन् ।

हाड जोर्नी तथा नशा एवम् मेरुदण्ड रोग विशेषज्ञ डा. खड्काका अनुसार दुई जना बर्दिया र एक जना सुर्खेतका बिरामीको हिपको जटिल खालको प्रत्यारोपण गरिएको बताए ।

उनले हिप प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएपछि बिरामीहरूबाट पाएको सकारात्मक प्रतिक्रियाले आफूलाई काम गर्न झन् प्रेरित गरेको बताए । नेपालमा अझै पनि हिप, जोर्नी प्रत्यारोपणको बारेमा मानिसहरूलाई ज्ञान नभएका कारण पीडामा बस्नुपरेको प्रति उनले चिन्ता व्यक्त गरे ।

नेपालगञ्जमै अति नै जटिल खालका हाड जोर्नी सम्बन्धी शल्यक्रियाहरू हुन थालेपछि यस क्षेत्रका बिरामीलाई धेरै सहज र सरल भएको डा. खड्काले बताए । यस्तै भेरी अस्पतालका सिकलसेल रोग विज्ञ वरिष्ठ फिजिसियन डा. राजन पाण्डेले सिकलसेल एनिमियाका बिरामीहरूको आवश्यकता अनुसार हिप प्रत्यारोपण मोफसलमा नै शुरु भए पछि बिरामीहरूलाई राहत भएको बताए ।

उनले भने, ‘एक हजार १०० सिकलसेलका बिरामीहरू प्रत्यक्ष सम्पर्कमा रहेर उपचार गराइरहेका छन् भने हालसम्म चार हजार भन्दा बढीको उपचार गरिसकिएको छ ।’

उनले सिकलसेल एनिमिया रगतको रातो रक्तकोषमा हुने एक जैविक वंशाणुगत रोग भएको जनाउँदै यो रोगले शरीरमा रगत बनाउने रातो रक्तकोषिकाको सङ्ख्या घटाउँदै जोर्नी, हिप लगायत शरीरको विभिन्न भागमा असर गर्ने गरेको बताए । बाँकेमा हाल १५० जना सिकलसेलका बिरामी रहेको पनि डा. पाण्डेको भनाइ छ ।

नेपाल सरकारले सिकलसेल एनिमियाका बिरामीको हिप, जोर्नी प्रत्यारोपणमा पनि एक लाख बराबरको सहुलियत दिँदै आएको सिकलसेल रोग विज्ञ डा. पाण्डेले बताए ।

  • ३१ भाद्र २०८१, सोमबार प्रकाशित

  • Nabintech