३ आश्विन २०८१, बिहीबार

बाँकेमा एक महिनामै ५१ जना फरार प्रतिबादी समातिए
  • न्युज मानसराेवर

नेपालगन्ज:  जिल्ला प्रहरी कार्यालय बाँकेले गत भदौ महिनाभरमा ५१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । लामो समयदेखि फरार रहेर ९ वर्ष २३ दिन कैद र १ लाख ४८ हजार रुपैयाँ बढी जरिवाना असुल उपर गर्न बाँकि रहेका ५१ फरार प्रतिवादीलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको बाँके प्रहरीले जानकारी दिएको छ ।

भदौमा मात्रै बाँके प्रहरीले १ करोड ५८ लाख ६३ हजार ४५७ रुपैयाँ बराबरका अवैध सामग्री बरामद गर्न सफल भएको छ । बाँके प्रहरीले लत्ताकपडादेखि इलेक्ट्रिकल, मोटरपार्ट्स लगायतका अवैध सामग्री, जिप , मोटरसाइकल बरामद गर्दै ६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । भदौको १० गते नै नेपालगन्जबाट ४०७ ग्राम सुन र १० किलो चाँदीसहित ४ जनालाई पक्राउ गरी आबश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

त्यसैगरी, जिल्लाभरबाट विभिन्न कसुरका ६२ मुद्दामा ६२ जनालाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाइएको छ भने २४ वटा मुद्दा फर्छ्यौट गरिएको छ । कार्यालयमा आएका ५ सय १० ठाडो उजुरीतर्फ ४१४ मुद्दा फर्छ्यौट गरिएको छ भने ९१ वटा निवेदन प्रक्रियामा रहेको जनाइएको छ ।

त्यस्तै महिला तथा बालबालिकातर्फका २० मुद्दा दर्ता भएकोमा १० जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ । यस्तै घरेलु हिंसा सम्बन्धि ६४ वटा उजुरीमा ५१ वटा फर्छ्यौट गर्दा बाँकी अनुसन्धान  प्रक्रियामा रहेका छन् ।

यसैगरी, जिल्ला प्रहरी बाँकेमा बेपत्ता तथा हराएको भन्दै खोजतलासका लागि दिइएको ४२ निवेदनमा २६ जनालाई फेला पारेर आफन्तको जिम्मा लगाइएको र बाँकी खोजतलासको क्रममा रहेको बाँके प्रहरीले जनाएको छ ।

ट्राफिक कारबाहीतर्फ भदौ महिनामा २३ सय ७७ सवारीसाधनलाई कारबाही गर्दै १८ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

प्रहरीले २२ जना लागूऔषध कारोबारीलाई पक्राउ गर्दै लागूऔषध मुद्दा चलाएको छ भने सोही दौरानमा ८३ ग्राम ४५० मिलिग्राम ब्राउन सुगर, ११३० ट्याब्लेट  नाइट्रोजेमा, ६११ ट्याब्लेट ट्रमाडोल जस्ता लागूऔषध बरामद गरेको जनाएको छ ।

त्यसैगरी समुदाय प्रहरी सहकार्यतर्फ जिल्लाभरमा बाँके प्रहरीले ३७ पटक सचेतनामूलक कार्यक्रम गरेको छ । जसमा लागूऔषध, साइबर अपराध, चोरी सचेतना लगायतका सचेतनामूलक कार्यक्रम गरेको थियो ।

जिल्ला प्रहरी बाँकेको आन्तरिक सुदृढीकरण प्रयास अन्तर्गत भदौ महिनामा इलाका प्रहरी कार्यालय भगवानपुर उत्कृष्ट प्रहरी इकाई घोषणा गरिएको छ भने आचरण विपरीत कार्य गर्ने एक प्रहरी कर्मचारीलाई तीन पुस्ते जनिने गरी कारबाही गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

  • २ आश्विन २०८१, बुधबार प्रकाशित

  • Nabintech