नौबस्ता,बाँके: बाँकेको बैजनाथ गाउँपालिका स्थित नौबस्ता औद्योगिक क्षेत्रमा अलपत्र पूर्वाधार निर्माण कार्य अगाडि बढाइने भएको छ । बुधबार वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको बैठकले नौबस्ता औद्योगिक क्षेत्रमा रहेका समस्या समाधान गरी पूर्वाधार निर्माण गर्ने बारे सहमति जुटाएपछि निर्माण कार्य अगाडि बढाइने भएको हो । ‘सम्भवत अब निर्माण कार्य अगाडि बढ्छ’, बैठकमा सहभागी सांसद लक्ष्मी तिवारीले न्युज मानसरोवरसंग भनिन्, ‘त्यसका लागि सर्वदलीय, सर्वपक्षीय सहमति भएको छ ।’
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको नेतृत्वमा भएको बैठकले एक बुंदे निर्णय गर्दै विवादित बाहेक २ सय ५५ विगाह जमिनमा औद्योगिक क्षेत्र निर्माण कार्य अगाडि बढाउँदै पूर्वाधारको कामलाई तिव्रता दिने सहमति जुटाएको हो । ‘औद्योगिक क्षेत्रमा रहेको अव्यवस्थित बस्तीको उचित व्यवस्थापनका लागि नेपाल सरकार मार्फत सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरियो’, बाँके जिल्लाबाट प्रतिनिधिसभामा सांसद सुर्य ढकाल, डा. धवल समशेर राणा, आशा विक, लक्ष्मी तिवारी लगायतको सहभागितामा भएको बैठकले गरेको निर्णयमा भनिएको छ ।
बैठकमा उद्योग मन्त्रालयका सचिव कृष्ण बहादुर रावत, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओली, निर्देशक सञ्जयलाल मानन्धर, नेपालगन्ज औद्योगिक क्षेत्रका तत्कालीन प्रमुख कृष्ण बहादुर पुन लगायत सहभागी थिए ।
निर्णयमा भनिएको छ, ‘नेपाल सरकारले बाँकेको नौबस्तामा घोषणा गरेको औद्योगिक क्षेत्रको बस्ती व्यवस्थापनको समस्यालाई समाधान गरी औद्योगिक क्षेत्रको विकास निर्माण कार्य अगाडि बढाउने सन्दर्भमा छलफल गरी नौबस्ता औद्योगिक क्षेत्रमा रहेको अव्यवस्थित बस्ती रहेको भुभाग छोडी (गाउँपालिका बैजनाथको सिफारिस अनुसार) खाली रहेको करिब २ सय ५५ विगाह जमिनमा औद्योगिक क्षेत्र निर्माणको कार्य अगाडि बढाउने निर्णय गरियो ।
औद्योगिक क्षेत्र निर्माणका लागि बर्षौदेखि पहल हुँदै आएपनि अव्यवस्थित बस्तीको विवाद र अवरोधका कारण अहिलेसम्म पनि काम हुन नसकेपछि पछिल्लो पहल गरिएको हो ।