५ आश्विन २०८१, शनिबार

नेपालगन्ज उपमहानगरपालिकाद्धारा गत भदौंमा सम्पन्न नभएका १९ वटा योजनाको म्याद
  • न्युज मानसराेवर

नेपालगन्ज:ठेक्का लिने र समयमै काम नसक्ने प्रवृत्तिमा कुनै न कुनै बहानामा म्याद थप हुने गरेको छ । ठेकेदार ठेक्का लिएर काम नगर्दा पनि निर्धारित समयसम्म कुर्नुपर्ने, त्यसपछि ठेक्का रद्द गरी नयाँ प्रक्रियामा जाँदा थप व्यायभार बढ्ने भएकाले पनि सकभर म्याद थपेर भएपनि निर्माण कार्य सक्ने गरिएको पाइन्छ । तीन तहकै सरकारका पूर्वाधार निर्माणका योजनाहरू समयमा नसकिंदा पटकपटक म्याद थप हुने गरेको छ ।

त्यसको पछिल्लो उदाहरण हो परसपुर–गौघाट सडक खण्ड । भदौ २५ गते सडक निर्माणको सम्झौता सकिंदा त्यहाँ २० प्रतिशत मात्र काम भएको थियो । संघीय सरकारको लगानीमा बन्न लागेको उक्त सडक खण्ड निर्माणको लागि कन्काई–गणपति जेभीले ठेक्का पाएको थियो । नेपालगन्जको परसपुर देखि गौघाट सम्म १४ किलोमिटर सडक कालोपत्रे गर्नको लागि कन्काई–गणपति जेभीले ठेक्का पाएको थियो ।

स्थानीय तहले पनि लगाएका ठेक्काहरू समयमा नसिकने गरेका छन् । समयमा नसकिएका ठेक्काहरूका ठेकेदार म्याद थपका लागि विभिन्न बहाना बनाउने गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकाले गत भदौंमा सम्पन्न नभएका १९ वटा योजनाको म्याद गरेको छ ।

भदौ ९ गते भएको कार्यपालिका बैठकले निर्माण सम्पन्न गर्ने म्याद गुजारेका १९ वटा योजनाहरूको निर्माण सम्पन्न मिति कार्तिक मसान्तसम्म लम्ब्याएको छ । यद्यपि, यसपटक उपमहानगरपालिकाको कार्यपालिका बैठकले उपमहानगरपालिकाले म्याद थपको निर्णय गर्दा उल्लेख गरेको छ, ‘म्याद भित्र नसकेमा ३ महिना पूर्व निर्धारित क्षतिपूर्ति लिई कार्यान्वयन गर्ने र सो समयावधीभित्र पनि नसकेमा कारवाही प्रक्रिया अगाडि बढाउने ।’

नेपालगन्ज उपमहानगर पालिकाले १५ वटा ठेकेदार कम्पनी र ४ वटा उपभोक्ता समितिबाट अगाडि बढाइएका योजनाहरूको म्याद थप गरेको हो । जसमध्ये अधिकांस सडक निर्माणका योजना रहेका छन् ।

उपमहानगरपालिकाको कार्यपालिकाको निर्णय अनुसार, गत जेठ ३० गते सम्पन्न हुनुपर्ने सुर्जीगाउँचोकदेखि क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरी बाटो पिच, असार १५ गते सम्पन्न हुनुपर्ने जिससबाट महिला कलेज र बीचबाट पूर्व जाने बाटो निर्माण, असार ८ गते सकिनुपर्ने वडा नं. १३ बाबु गाउँ जाने पिच देखि गंगापुर हुँदै पिच बाटोसम्म जोड्ने सडक निर्माण योजना, जेठ १५ मा सम्पन्न हुनुपर्ने वडा नं. १६ सुर्खेतरोड हाइवेदेखि जामा मस्जिद हुँदै शिवमन्दिर जाने बाटो, बसपार्कदेखि सुर्जेगाउँ जाने बाटो र अन्य सडक निर्माणको म्याद थप गरिएको हो ।

त्यस्तै, गत असार ५ देखि १५ गतेसम्म सम्पन्न भैसक्नुपर्ने नगरपालिकाको विभिन्न स्थानामा छुटेको पिच निर्माण, पासाङ्ग ल्हामु मार्ग निर्माण, रत्न राजमार्ग मिडियन व्यवस्था गर्ने, सुर्खेतरोड गणेशमानचोक देखि कारकाँदोचोकसम्म फुटपाथ व्यवस्थापन तथा सौन्दर्यीकरण, बागेश्वरी चिल्डे«न पार्क न्यूरोड निर्माण, जिप्रका पश्चिम रितु पनको घरदेखि सेन्ट थोमस स्कुल हुँदै पूर्व जाने सडक, कुलिङ्ग सेन्टर निर्माण, घर नम्बरिङ्ग योजना, वडा नं. ९ विष्णु लामाको घरदेखि पशुपति मन्दिर जाने सडक मर्मत योजनाको म्याद थप गरेको हो ।

त्यस्तै, उपभोक्ता समितिबाट गत असार १५ गतेसम्म सम्पन्न हुनुपर्ने वडा नं. २ हनुमानगढी निर्माण कार्य, वडा नं. २३ वडा कार्यालय भवन निर्माण कार्य, श्री नेपालगन्ज कन्या मा.वि.मा खानेपानी र मर्मत कार्य, वडा नं. २० खोप केन्द्र निर्माण कार्यको पनि कार्तिक मसान्तसम्म म्याद थप गरिएको छ ।

नेपालगन्ज उपमहानगर पालिकाको गत भदौ ९ गते भएको कार्यपालिका बैठकले निर्माण योजनाको म्याद थप्ने बाहेक विभिन्न सात वटा निर्णय गरेको थियो । उपमहानगरपालिका कार्यपालिका बैठकले नेपालगन्ज उपमहानगरपालिकाको जग्गा प्राप्ति तथा मुआब्जा वितरण कार्यविधि २०८१ र सार्वजनिक निजी साझेदारी मञ्च (कृषक) सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०८१ आवश्यक छलफल पछि स्वीकृत गर्ने निर्णय गरेको थियो ।

कार्यपालिका बैठकले नेपालगन्ज उपमहानगरपालिकाको बालमैत्री स्थानीय शासन नीतिगत, प्रक्रियागत कार्य कार्यान्वयनका लागि नतिजामूखि कार्ययोजना २०८१/०८२ स्वीकृत गर्ने निर्णय गरेको थियो । त्यस्तै, उपमहानगरपालिकाको कार्यपालिका बैठकले अपांगता भएका व्यक्तिहरूको परिचयपत्र वितरण कार्यविधि अनुसार स्थानीय समन्वय समितिमा अमृता कुमारी सिंहलाई सदस्य मनोनित गर्ने गर्ने निर्णय गरेको थियो ।

  • ५ आश्विन २०८१, शनिबार प्रकाशित

  • Nabintech