५ आश्विन २०८१, शनिबार

नेपालगन्ज भन्सारबाट दुई अर्ब ९९ करोड ४३ लाख ५४ हजार रुपियाँ राजस्व सङ्कलन

हरेक महिनामा लक्ष्य भन्दा करिब ३० देखि ३५ प्रतिशत कम मात्र राजस्व सङ्कलन हुने सङ्केत

  • न्युज मानसराेवर

नेपालगन्ज: पश्चिम नेपालको प्रमुख व्यापारिक नाकामा रहेको नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा करिब तीन अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ।  नेपालगन्ज भन्सार कार्यालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को साउन र भदौ महिनामा दुई अर्ब ९९ करोड ४३ लाख ५४ हजार रुपियाँ राजस्व सङ्कलन गरेको हो ।

गत आर्थिक वर्ष २०८०।०८१ को सोही समयमा दुई अर्ब ८६ करोड ५२ लाख ७८ हजार रुपियाँ राजस्व सङ्कलन गरेकोमा चालु आर्थिक वर्षको सुरुका दुई महिनामा राजस्व सङ्कलनमा १४ करोड भन्दा बढी बढेको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए ।

उनले चालु आर्थिक वर्षको साउन महिनामा एक अर्ब ५० करोड ३० लाख ३४ हजार र भदौ महिनामा एक अर्ब ४९ करोड पाँच लाख २० हजार रुपियाँ राजस्व सङ्कलन गरिएको बताए।

नेपालगन्ज भन्सारलाई हरेक महिनामा दुई अर्बभन्दा बढी राजस्व सङ्कलन गर्ने लक्ष्य दिए पनि गत दुई महिनाको सङ्कलन हेर्दा हरेक महिनामा लक्ष्य भन्दा करिब ३० देखि ३५ प्रतिशत कम मात्र राजस्व सङ्कलन हुने सङ्केत देखिएको भन्सार कार्यालयले जनाएको छ।

लक्ष्य भन्दा कम राजस्व सङ्कलन हुने मुख्य कारणमा चोरी पैठारी बढ्नु, सशस्त्र द्वन्द्वका बेला विस्थापित भएका जिल्लाका ६ वटा छोटी भन्सार पुनर्स्थापना नहुनु र आयात घट्दै जानु रहेको भन्सार कार्यालयले जनाएको छ।

  • ५ आश्विन २०८१, शनिबार प्रकाशित

  • Nabintech