बाँके\स्वदेशी र विदेशी पर्यटक आकर्षित गर्ने उद्देश्यले होमस्टे स्थापना गरिएको बाँकेको गाभर क्षेत्रमा पर्यटक बढ्दै जाँदा होटल व्यवसायमा लगानी थपिंदै गएको छ । बाँके राष्ट्रिय निकुञ्जको छेउमा रहेको गाभर भ्याली निकै रमणीय रहेको तथा त्यहाँबाट बाघलगायतका दुर्लभ जनावरसमेत देख्न सकिने हुँदा गाभरमा जाने पर्यटकको सङ्ख्या बढ्दै गएको हो ।
सोही कारणले त्यहाँ पर्यटन व्यवसायीले विभिन्न होटल, होमस्टे र अन्य पर्यटकीय क्षेत्रमा लगानी थपिरहेको गाभर भ्याली सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष कृष्ण चौधरीले जानकारी दिएका छन।
अनुसार गाभर क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत लक्षित गरी यहाँ सञ्चालित सामुदायिक घरबासले पनि धमाधम स्तरोन्नति गर्न थालेका छन् । यहाँ सुविधासम्पन्न रिसोर्ट पनि थपिएका छन् ।
पर्यटकलाई स्तरीय सेवा दिन लगानी थप गरी यहाँका होमस्टे र होटलको स्तरोन्नति भइरहेको गाभर भ्याली सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष चौधरीले बताउनुभयो । आन्तरिक पर्यटकलाई अधिकतम सुविधा दिँदै बाह्य पर्यटकलाई समेत लक्षित गरी होमस्टेमा लगानी थप भइरहेको उनको उहाँको भनाइ छ ।
बिशषगरी भारतका पर्यटकलाई लक्षित गरेर गाभर भ्यालीमा पछिल्लो पटक १२ करोड रुपियाँको लगानीमा सुविधा सम्पन्न बिसौनी ग्रिनरी रिसोर्ट सञ्चालनमा ल्याइएको छ ।गाभरमा स्थानीय स्वाद, संस्कृति र परम्पराको संरक्षण गर्दै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले रिसोर्ट सञ्चालन गरिएको रिसोर्टका महाप्रबन्धक केशवप्रसाद चालिसेले भने ।
रत्न राजमार्गदेखि करिब ७०० मिटरभित्र मिनी गाभरक्षेत्रमा रहेको बिसौनी ग्रिनरी रिसोर्टमा मार्सी चामलको भात, थारु समुदायका परिकार, घोँगीसमेत पाहुनालाई उपलब्ध गराउने गरेको रिसोर्ट सञ्चालकको भनाइ छ ।होटलका आकर्षक भवन संरचना प्रवेशद्वारमै रहेको झरना लगायतको हरियाली वातावरणले पाहुनालाई आकर्षित गर्ने गरेको छ । होटलका प्रबन्ध निर्देशक उपेन्द्रकुमार शाहीले हालसम्म १२ करोड रुपियाँ लगानी भइसकेको र अझै धेरै संरचना निर्माणका क्रममा रहेकाले लगानी थपिंदै जाने बताए ।
गाभरमा बिसौनी रिसोर्ट सञ्चालनमा आएपछि अहिले यस क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । बर्दिया, सुर्खेत, नेपालगन्ज, र कोहलपुरलगायत छिमेकी भारतका नजिकका ठाउँबाट दैनिक रुपमा घुम्न र बस्न आउने पाहुनाको सङ्ख्या पनि बढ्दै गएको छ ।