बाँके:बाँके राष्ट्रिय निकुञ्जमा आगन्तुक सूचना केन्द्र निर्माण गरिने भएको छ । पर्यटकहरुलाई सूचना प्रदान गर्नका लागि करिब ७० लाखको लागतमा कोहलपुरमा दुईवटा आगन्तुक सूचना केन्द्र स्थापना गर्न लागिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज कुमार शाहले बताए ।
बाँके राष्ट्रिय निकुञ्ज अवलोकनका लागि आउने पर्यटकहरुका लागि भिजिटर इन्फर्मेशन सेन्टर स्थापना गर्ने तयारीमा रहेको भन्दै उनले अबको केहि समयभित्र यसको काम अगाडी बढ्ने बताए । प्रमुख शाहले सूचना केन्द्रबाट बाँके राष्ट्रिय निकुञ्ज सम्बन्धि सम्पुर्ण जानकारीहरु प्राप्त गर्न सकिने बताए ।
निकुञ्जमा गत आर्थिक वर्षमा ८ बिदेश नागरिकसहित करिब ४ सय ८० जना पर्यटकले निकुञ्ज भ्रमण गरेको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ । बाँके राष्ट्रिय निकुञ्ज विशेषगरी जैविक विविधता र बाघ संरक्षणका लागि परिचित छ ।
निकुञ्जमा मुख्य जनावरहरूमा बाघ, चितुवा, हात्ती, गैंडा, जरायो, बँदेल, नीलगाई र विभिन्न प्रजातिका चरा र सरीसृपहरू लगायतका जीवजन्तूहरु अवलोकन गर्न सकिन्छ ।