८ मंसिर २०८१, शनिबार

बाँकेका चिडिमारहरुको परम्परागत पेशा संकटमा

चरा मार्न नपाउँदा चिडिमार समुदायले आफ्नो परम्परागत सीप गुमाउँदै

  • सरला सुवेदी

बाँके:बाँकेको कोहलपुर नगरपालिका–१४, हवल्दारपुरस्थित चिडिमार बस्तीका मानिसहरूको पुर्खौली पेशा चरा मारेर गुजारा चलाउने हो। तर केही बर्ष पहिले सरकारले चराचुरुङ्गी र वन्यजन्तु माथि प्रतिबन्ध लगाएसँगै अहिले यो परम्परागत पेशा संकटमा परेको छ। चिडिमार जाति पुस्तौँदेखि चराहरूको शिकार गरेर जीविका चलाउँदै आएका छन्, तर वातावरणीय नियम, वन्यजन्तु संरक्षण नीति, र चरा मार्ने परम्परामा आएको परिवर्तनले गर्दा उनीहरूको जीवनयापन थप जटिल बन्दै गएको हाे।

चिडिमार समुदायका लागि चरा मार्ने पेशा केवल जीविकाको साधन मात्र होइन, यो उनीहरूको सांस्कृतिक पहिचान पनि हो। हरेक परिवारले विगतमा शिकार गरेर आफ्नो जीवन निर्वाह गर्थ्यो, तर समयसँगै यो पेशा संकटमा पर्न थालेको छ। “हाम्रो पुर्खौली पेशा संकटमा परेको छ।

चरा मार्न नपाएपछि कसरी गुजारा चलाउने?” हवल्दारपुरका ५० वर्षीय  रामप्रसाद चिडिमारले भन्नुभयो। राजा राणाका पालामा बाउबाजेलाई चरामार्न शिकार खेल्न  उ बेलादेखि चरा मार्दै आफ्नो घर परिवार पाल्दै आएका थिए। अहिले न पढाइ लेखाइ छ न त धन सम्पत्ति चरा मार्न नि पाइन्न त्यसैले घर परिवार चलाउन मुस्किल भएको रामप्रसादले भन्नुभयो।

चिडिमार समुदायको शिकारको साधनमा परिवर्तन र कानुनी प्रतिबन्धले चिडिमारहरूको मुख्य पेसा धराशायी भएको छ। पहिले जस्तो चरा मार्न सजिलो छैन, किनकि सरकारको वन्यजन्तु संरक्षण नीति कडा भएको छ। वन तथा वातावरण सम्बन्धी कानुनअनुसार चराहरूलाई मार्न कानुनी रूपमा प्रतिबन्ध लगाइएको छ। “हाम्रो बाँच्ने माध्यम शिकार थियो, तर अहिले शिकार गर्न निषेध छ। के गर्ने? रोजगारीको अरू विकल्प छैन,” रामप्रसादले गुनासो गर्नुभयो।

चिडिमारहरूको पुर्खौली पेसामा संकटको अर्को कारण भनेको जैविक विविधता र पर्यावरणीय असन्तुलन हो। धेरै क्षेत्रहरूमा चरा मार्न पाउन नसक्ने अवस्था आएको छ। वन्यजन्तुका संरक्षण प्रयासहरूले गर्दा चरा प्रजातिहरूलाई सुरक्षित गर्न त सरकारले महत्वपूर्ण कदम उठाएको छ, तर यसले चिडिमार समुदायलाई आर्थिक रूपमा ठूलो असर पुर्याएको छ। “पहिलेजस्तो चरा भेटिँदैन, जंगल र खोलाहरूमा शिकार गर्न पनि डर लाग्छ।” स्थानीय पुनम चिडिमारले भन्नुभयो।

चरा मार्न नपाउँदा चिडिमार समुदायले आफ्नो परम्परागत सीप गुमाउँदै गएको छ। यो समुदायलाई अन्य रोजगारीका अवसरहरू भने उपलब्ध छैनन्। अशिक्षा र गरिबीका कारण वैकल्पिक पेसा अपनाउन उनीहरू असमर्थ छन्। “हामीले न त राम्रो शिक्षा पायौँ, न त कुनै नयाँ सीप सिक्न सक्यौँ,”पुनमले भन्नुभयो “अब के गर्ने भन्ने थाहा छैन।”

चिडिमारहरूको पारिवारिक जीवन पनि संकटमा छ। शिकार गर्न नपाउँदा आम्दानीको स्रोत घटेको छ, जसका कारण उनीहरूको आर्थिक अवस्था दिनानुदिन कमजोर बन्दै गएको छ। चिडिमार समुदायले अन्य पेसामा लाग्न चाहे पनि तिनको लागि आवश्यक सीप, तालिम, र स्रोतको अभाव छ। “अरू पेसामा लाग्न मन त छ, तर कसरी गर्ने? हामीलाई सीप छैन, तालिम छैन,” रामप्रसादले थप्नुभयो।

चिडिमारहरूको समस्यालाई समाधान गर्न सरकारी निकाय र गैरसरकारी संस्थाहरूले वैकल्पिक रोजगारीका अवसरहरू प्रदान गर्नुपर्ने देखिन्छ। विभिन्न क्षेत्रमा चिडिमार समुदायलाई समावेश गरेर उनीहरूलाई नयाँ सीप र तालिम प्रदान गर्न सके, यो संकटबाट बाहिर निस्कन मद्दत हुन सक्छ। पर्यावरण संरक्षणसँगै यी समुदायको जीविकाको लागि वैकल्पिक उपायहरू खोज्नुपर्ने समय आएको छ।

सरकारले चिडिमारहरूको लागि उचित तालिम कार्यक्रम, स्वरोजगार योजना, र नयाँ पेसामा लाग्न आवश्यक स्रोतसाधन उपलब्ध गराउनु आवश्यक छ। पर्यावरण संरक्षण महत्त्वपूर्ण छ, तर स्थानीय समुदायको जीवनयापन र उनीहरूको सांस्कृतिक पहिचानलाई बचाउनका लागि उचित कदम पनि चाल्नुपर्ने देखिन्छ।

चिडिमारहरूको पुर्खौली पेशा संकटमा परेपनि, उनीहरूको सीप र परिश्रमलाई वैकल्पिक क्षेत्रमा प्रयोग गर्न सकिने सम्भावना छ। सरकारले समयमै ध्यान नदिए, यो समुदायको जीविकामा गम्भीर समस्या उत्पन्न हुनेछ।

  • १० आश्विन २०८१, बिहीबार प्रकाशित

  • Nabintech