६ मंसिर २०८१, बिहीबार

माधव नेपालको ‘एक्जिट डोर’ मा उभिएर हेर्दा
  • विश्‍वमणि सुवेदी

सिनेमाको ‘हाफ टाइम’ जस्तै भएको छ, नेकपा (एकीकृत समाजवादी) । यतिबेला ‘एक्जिट डोर’ मा रातो बत्ती बलेको छ । के हुन्छ, कसो हुन्छ भन्ने कौतुलहताका बीचमा कसैलाई पिसाब लाग्छ । कसैलाई चिसो पिउन मन लाग्ने । पपकर्न र त्यस्ता टिटबिटले स्वाद फेर्ने समय हो यो ।

मेटमणि चौधरीको विवादास्पद अभिव्यक्तिका विषयमा पार्टीले सोधेको स्पष्टीकरणउपर जवाफ दिइसकेपछि ‘अझै आलोचनाको गीत गाउनु नपर्ने’ अध्यक्ष माधवकुमार नेपालको भनाइ छ । फेरि उनकै कोटरीका उर्वादत्त पन्त मेटमणिलाई फौजदारी अभियोगमा जेलभित्र सडाउनुपर्ने माग गर्दैछन् । झलनाथ त झलनाथ नै भइहाले, मेटमणिलाई एकछिन पनि पार्टीमा राख्नुहुँदैन भन्ने मान्यतामा छन् ।

यसो हुँदाहुँदै एकीकृत समाजावदीको पर्दामा ‘इन्टरभल’ देखिन्छ । किनभने, समय सोह्र श्राद्धको छ, लगत्तै घटस्थापना शुरू हुन्छ । अहिले पितृपक्ष चलिरहेको समयमा धेरै पाप चिताउनु, अधर्म र असहिष्णु बन्नु हुँदैन । असोज १८ मा घटस्थापना शुरू हुन्छ । धार्मिक मान्यताअनुसार ‘घट’ को स्थापना हुने दिनलाई घटस्थापना भनिन्छ । ‘घट’, अर्थात् घटनाहरू अब हुँदैछन् । स्मरणीय छ, २०५९ को असोज १८ मा तत्कालीन राजा ज्ञानेन्द्रले व्यवस्थामाथि नै ‘कू’ गरेका थिए । ज्ञानेन्द्रपक्षीय ओली आज जिउँदै छन् ।
धार्मिक ग्रन्थ चण्डीमा उल्लेख भएअनुसार शक्तिरूपा देवीले मधु र कैटभ नामक राक्षकको बध गरेपछि यो पर्व शुरू हुन्छ । शुरूको दिनलाई घटस्थापना भनिन्छ । अर्थात्, ‘घटना स्थापना’ लाई घटस्थापना भनिएको हो । अहिले हामी कलियुगमा छौं । कोही ‘राक्षस’ नै हो भने पनि मारेपछि ज्यानमुद्दा लाग्छ । यसर्थ हामी मधु र कैटभको प्रतीकका रूपमा अष्टमीमा खसी-बोका बध गरेर पर्व मान्ने गर्दछौं ।

अहिले अध्यादेश ल्याएर एकीकृत समाजवादीलाई छिन्नभिन्न पार्नु ओलीको मूल मक्सद हो । उनले सकेसम्म घटस्थापना नकाट्ने, कटिहाले कोजाग्रत पूर्णिमाभित्रै काम फत्ते गर्ने मक्सद पालेका छन् । यसप्रकार एकीकृत समाजवादीको ‘एक्जिट डोर’ बन्द हुँदैछ ।

नेकपा (एकीकृत समाजवादी) ले आफ्ना खसी र बोकालाई असारको महाधिवेशनदेखि साउन-भदौको ‘मनोनीत एवं निर्वाचन काण्ड’ बाटै तह लगाइसकेको छ । त्यसैले अहिलेको ‘इन्टरभल’ र ‘एक्जिट डोर’ को रातो बत्तीले विशेष अर्थ राखेको हो ।

एमालेभित्र विकास भएको व्यक्तिवादी अहंकारवादले कम्युनिष्ट विरासतकै विसर्जन गर्ने भयो । यसपछि त्यहाँबाट विद्रोह गरी जन्मिएको नेकपा (एकीकृत समाजवादी) को पछिल्लो ‘राजनीतिक प्रदर्शन’ मध्यान्तरमा छ । पार्टी बन्नुअघि नै र बनिसकेपछि विभिन्न चरणमा ‘एक्जिट डोर’ खुल्ने, लाग्ने चल्दै आयो । अहिले उक्त पार्टी एउटा रोमाञ्चक मोडमा पुगेको छ ।

यो पार्टी कसको हो भन्नेमा कुनै द्विविधा वा प्रश्न छैन । माधव नेपालले विद्रोह गरेर निर्माण भएको पार्टी हो । त्यसपछि त्यहाँ मोहनचन्द्र अधिकारी, झलनाथ खनाल, मुकुन्द न्यौपाने, प्रदीप नेपाल, मोदनाथ प्रश्रित, बद्रीप्रसाद खतिवडा, कमल कोइरालासहित अनगिन्ती एमाले विरासत निर्माण गर्ने मूर्धन्य व्यक्तित्व जोडिए । बुझौं कि, जसजसले एमाले बनाए, उनीहरू नै त्यहाँबाट बाहिरिए । त्यसको नाम नेकपा (एकीकृत समाजवादी) भयो । अहिले त्यसैको मध्यान्तरमा पुग्दा शुरूवातजस्तो रौनक, छनक, उत्साह र ऊर्जा छैन ।

कम्युनिष्ट आन्दोलनको रूपान्तरण जरुरी छ । माधव नेपाल, झलनाथ खनाल, अर्थात् जसले हिजो कोअर्डिनेशन केन्द्र बनाउँदै छिन्नभिन्न कम्युनिष्ट घटकका बीच एकता गराए । नेकपा (माले) र प्रकारान्तरमा एमाले बनाए । उनीहरूले नै आन्दोलनको पुनर्गठन गर्ने भनिसकेपछि त्यसमा कुनै द्विविधा नपाली पंक्तिकारजस्ता थुप्रै सुधासाधा, वृद्धवृद्धा, बालक, बबुरा सवै सामेल भइयो ।

यो आन्दोलनका निम्ति वामदेव गौतम उत्तिकै मूर्धन्य थिए । तर, उनी ‘ढोडको लौरो टेको न हतियार’ जस्ता हुँदा उनको ‘कोर टीम’ बाट बहिर्गमित पंक्तिकारसहितको ठूलो पंक्ति आज पनि एकीकृत समाजवादीमै छ । यसमा आएपछि यसका आधाउधी दृश्य देखियो । पिसाब फेर्न निस्किँदा केही कुरा सोच्न बाध्य भइएको छ ।

मनोनीत केन्द्रीय सदस्यबाट पदाधिकारी चयन गर्दा अरुले त हारे-हारे, माधव नेपाललाई पार्टी बनाउने कुरामा लेटरप्याड-स्ट्याम्प तयार पार्ने चरणबाट सहयोग गरेका लक्ष्मण केसी पनि बाँकी भएनन् । उनीहरू हिजोको एमालेभित्र पनि माधव नेपालका ‘वंशज नागरिक’ थिए । पंक्तिकारजस्ता ‘अंगीकृत’ ले त्यहाँ लागेका दिनदेखि खेप्नु परेका भुक्तमान अर्को लेखनीमा पेश गरौंला । अहिले चाहिँ यतिमात्रै बुझौं कि, गुटको हो कि होइन भन्ने बुझ्नका निम्ति थुक, खकार र रगत यहाँ पनि जाँचिन्छ, जसरी ओलीले एमालेमा जाँच्छन् ।

नेकपा (एकीकृत समाजवादी) ले आफ्ना खसी र बोकालाई असारको महाधिवेशनदेखि साउन-भदौको ‘मनोनीत एवं निर्वाचन काण्ड’ बाटै तह लगाइसकेको छ । त्यसैले अहिलेको ‘इन्टरभल’ र ‘एक्जिट डोर’ को रातो बत्तीले विशेष अर्थ राखेको हो ।

लक्ष्मण केसीहरूलाई बिगारिँदा माधव नेपाल कस्ताका भर परे भन्ने कुरा बुझ्नुपर्छ । पार्टी कार्यालयको प्रचार विभागभित्र चुक्कुल लगाएर ‘मिटिङ’ चलाउने मान्छेलाई महासचिवको उम्मेदवार बनाउँदा लक्ष्मणलाई लात हानियो । चुक्कुल लगाएको कोठाभित्र के-के हुन्थ्यो ? नदेखेको कुरा नलेखौं ।

महाधिवेशनपछि त्यसको राजनीतिक, वैचारिक सन्देश पर्खिएका नेता-कार्यकर्ताले एउटा फेक (नक्कली) सेक्स टेपको ‘दर्शन’ गर्नुपर्‍यो । त्यो नक्कली भिडियो कसले बनायो ? किन बनायो ? यी प्रश्नको निरूपण कानून कार्यान्वयन गर्ने निकायले गरोस् । त्यही नाममा समाचार लेखेका पत्रकारले कतै पनि व्यक्तिको नाम लेखेनन्, अनुहार छोपे । तर, ‘तत्व’ हरू यसरी सल्बलाए कि, त्यसको पात्रलाई ‘त्यो मैं हुँ’ भन्दै उफारियो । यसप्रकार पार्टीका संस्थापक केन्द्रीय सदस्य एवं वरिष्ठ पत्रकार शम्भु श्रेष्ठसम्मलाई साइबर क्राइमले बयान लिन बोलायो ।

हुने, नहुने चर्तिकला आफू गर्ने, पीडा र यातना पत्रकारलाई दिने । सञ्चार माध्यममा प्रकाशित, प्रशारित सामाग्रीउपर नियामक निकायले कारवाही अगाडि बढाइरहँदा फेरि प्रहरीको साइबर व्युरो गुहार्ने तहको हर्कत भयो । के कानुनी राज्यमा एउटै कसुरमाथि दोहोरो, तेहेरो दण्डको सुविधा हुन्छ ? पंक्तिकारले नेतृत्व गरेको संगठनका महासचिवले यही आशयको विज्ञप्ति प्रकाशित गर्छन् । त्यसपछि ‘चुक्कुल लगाउने’ टोली उनीमाथि खनिन्छ ।

को हो गलत ?

पार्टी विभाजन हुनुको कारणबारे एउटा जिउँदो मान्छेले मुटुमा हात राखेर भन्दा माधव नेपाल र केपी ओलीमा केपी नै गलत भन्नुपर्छ, भन्छ पनि । तर, माधव नेपाल कस्ता–कस्ताका पछाडि लागेर सकिँदैछन् भन्ने कुरा सम्झिँदा विरक्त लाग्छ ।

भन्छन् नि, ‘लाहुरेभन्दा गुण्टा बढी उफ्रिनु हुँदैन ।’ माधव नेपाल २५ वर्षदेखि कोटेश्वरको उही घरमा बस्छन् । उनको भेटघाट कक्ष २५ वर्षअगाडि जस्तो थियो, आज पनि त्यस्तै छ । तर, काँडाघारीतिर कोटेश्वर बिर्साउने महल कसरी बन्छन् ? जब लाहुरेभन्दा गुण्टा बढी चम्किन्छ, अनि त्यस्तो हुन्छ । यसर्थ, गलत माधव नेपाल हैनन्, उनले व्यहोरेका ‘दुःख’ गलत छन् ।

विद्रोह सही थियो । तर, यसले विद्रोहको औचित्य पुष्टि गरेन । माधव नेपालको कुरा एउटा छ, झलनाथको अर्को । घनश्यामका कुरा सुन्दा दुबैका भन्दा फरक छन् । गर्नुपर्ने राजनीतिक विमर्श । भइरहेको छ, नक्कली सेक्स टेप कसले ल्यायो र मिडियामा लग्यो भन्नेबारेको चासो ।

अब ‘एक्जिट डोर’ बन्द हुँदैछ

केपी ओलीलाई अरु केही चाहिएको छैन, माधव, झलनाथ, वामदेव, भीम रावलहरूको सर्वनाशबाहेक । कम्तीमा आफू बाँचुञ्जेल तिनीहरू एमालेमा नभए सुखले मर्न पाइन्छ भन्ने उनलाई लागेको हुँदो हो । आफू सुखले मर्ने नाममा एउटा दुस्साहसी आन्दोलनबाट निर्माण गरेको विरासतका निर्माणकर्तालाई निषेध गर्ने हक उनीसँग कदापि छैन ।

अहिले अध्यादेश ल्याएर एकीकृत समाजवादीलाई छिन्नभिन्न पार्नु ओलीको मूल मक्सद हो । उनले सकेसम्म घटस्थापना नकाट्ने, कटिहाले कोजाग्रत पूर्णिमाभित्रै काम फत्ते गर्ने मक्सद पालेका छन् । यसप्रकार एकीकृत समाजवादीको ‘एक्जिट डोर’ बन्द हुँदैछ ।

यसमा को पिसाब फेर्न, रिफ्रेस हुने वा अन्य कुनै नाममा उताउतै भाग्लान्, थाहा छैन । तर, यो ‘एक्जिट डोर’ माधव नेपालको पार्टीका निम्ति एउटा ठूलो संकट भने अवश्य हो ।

  • १० आश्विन २०८१, बिहीबार प्रकाशित

  • Nabintech