बाँके\बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतह सतर्कताको विन्दु नजिक पुगेपछि बाँकेको तटीय क्षेत्रका गाउँ बस्तीमा हाई अलर्ट जारी गरिएको छ ।
जिल्ला आपातकालीन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले कुसुम क्षेत्रमा राप्ती नदीको बाढी मापन केन्द्रमा जलसतह खतराको विन्दु ६ मिटर कायम गरिएकोमा पानी सो नजिक पुगिसकेकाले हाई अलर्ट जारी गरिएको जानकारी गराएका छन।
शनिबार बिहान ११ः३० बजे राप्ती नदीमा पानीको सतह ५ मिटर ९१ सेन्टिमिटर पुगेको उल्लेख गरे ।
सूचना व्यवस्थापन अधिकृत ज्ञवालीका अनुसार, दाङ, रोल्पा, प्युठानमा लगातार पानी परेकाले नदीको सतह बढेको हो । शनिबार बिहानैबाट नदी क्रमिक रूपले बढ्दै गएको छ । नदीमा पानीको सतह खतराको तहमा पुग्न थालेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको हो ।
सूचना अधिकृत ज्ञवालीले पानीको सतह बढेपछि नदीको वरिपरिका सबै गाउँ बस्तीमा सतर्क रहने सूचना पठाइएको बताए । जिल्ला आपातकालीन कार्य सञ्चालन केन्द्रका अनुसार कुसुममा पानीको सतह ७।८ मिटर पुग्ने बित्तिकै खतरा स्वरूप नदी छेउछाउमा साइरन बजाइन्छ । नदीको सतह ७ मिटर ८० सेन्टिमिटर पुग्ने बित्तिकै राप्ती नदी आसपासका दर्जनौँ गाउँ डुब्ने गरेका छन् ।
भारतले अन्तर्राष्ट्रिय नियम विपरीत लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध बनाएका कारण नदी प्राकृतिक रूपले बग्न नपाउँदा नेपाली भूभाग राप्ती नदीमा पानीको सतह बढ्दा राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका बासिन्दा विगत धेरै वर्षदेखि बर्सेनि डुबानमा पर्दै आएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले नदीको सतह बढेर ५.९१ मिटर पुगेपछि राप्तीपारीको उच्च जोखिममा रहेका क्षेत्रहरूमा अलर्ट जारी गरिएको जानकारी गराए ।
राप्ती नदी वरिपरिको क्षेत्रका विपद् व्यवस्थापन समितिहरू पनि तयारी अवस्थामा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।