४ भाद्र २०८२, बुधबार

बाढी र पहिरोका कारण २४ परिवार विस्थापित
  • न्युज मानसराेवर

बाँके\बाढी र पहिरोका कारण लुम्बिनी प्रदेशका विभिन्न स्थानमा कम्तीमा २० परिवार विस्थापित भएका छन् ।

पहाडी ६ जिल्लाका ४० भन्दा बढी सडकमा पहिरोले क्षति पुर्‍याएको छ । पाल्पाको तानसेन नगरपालिका, रैनादेवी र बगनासकाली गाउँपालिकाका २० घरका ८० जना विस्थापित भएको लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

पहिरोका कारण सबैभन्दा बढी पाल्पामा विस्थापित भएका छन् । लुम्बिनीका १२ जिल्लामध्ये पाल्पामा सबैभन्दा बढी वर्षा भएको छ । जल तथा मौसम विभागले पाल्पाका विभिन्न चार स्थानमा राखेको मापन केन्द्रको रेकर्ड अनुसार शुक्रबार र शनिबार गरेर पाल्पामा ३ सय ५० मिलिमिटर बढी वर्षा भएको देखाएको छ । लगातारको वर्षाले पाल्पाको तानेसने नगरपालिका–५ कैलाशनगरमा मात्र ९ घर परिवार विस्थापित भएका छन् ।

त्यस्तै गुल्मीको छत्रकोट गाउँपालिका–२ मा ३ घर र रोल्पाको त्रिवेणी गाउँपालिका–६ मा एक घर विस्थापित भएको पनि मन्त्रालयले जनाएको छ । अर्घाखाँची, प्यूठान र रुकुम पूर्वमा पनि पहिरोले क्षति पुर्‍याएको र विवरण संकलन गर्ने कार्य भइरहेको मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेले बताए ।

त्यस्तै लगातारको झरीले लुम्बिनी प्रदेशका सबै पहाडी जिल्लाका अधिकांश सडक अबरुद्ध भएका छन् । सिद्धार्थ राजमार्ग, कालीगण्डकी करिडोर, मदन भण्डारी लोकमार्ग, रोल्पाको सहिद मार्ग लगायतका ठुला सडकमा यातायात अबरुद्ध भएको छ । लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार गुल्मीका रिडी तम्घास सडक, रिडी रुद्रवेणी वामीटक्सार सडक, तम्घास छल्दी सिमलटारी सडक, अर्घाखाँचीको सन्धिखर्क गोरुसिंगे सडक, तम्घास सन्धिखर्क लगायतका सडकमा पनि दर्जनौं पहिरो गएका छन् । पहिरोले सडक अबरुद्ध भएका छन् । ‘अहिलेसम्म मानवीय क्षती भएको छैन्,’ उनले भने, ‘मुख्य राजमार्गहरू खुलाउने प्रयास जारी रहेपनि ग्रामिण र सहायक सडकहरु खुल्न समय लाग्छ ।’

लुम्बिनी प्रदेशको पहाडी जिल्ला रोल्पाको त्रिबेणी गाउँपालिकास्थित सहिद मार्ग पनि पहिरोले पूर्ण रुपमा अवरुद्ध भएको छ । त्यस्तै, गुल्मीको छत्रकोट गाउँपालिकाका विभिन्न ठाउँमा गएको पहिरोले रिडी तम्घास सडक खण्ड पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ । धार्मिक क्षेत्र रिडी कालीगण्डकीमा पानीको बहाव बढेपछि जलमग्न भएको छ ।

प्यूठानको प्यूठान भालुवाङ सडक खण्डको माण्डवी गाउँपालिकाको गर्जेनीस्थित सिमलचौर, सरुमारानी गाउँपालिकाको पाखुरी खोला नौबहिनी गाउँपालिकाको कालिमाटीस्थित मैरामारे क्षेत्रमा दर्जनौ पहिरो झरेका छन् । प्यूठान र रुकुम पूर्वका मुख्य र सहायक सडक पनि अबरुद्ध भएका छन् । रोल्पाको सहिद मार्गको तीन स्थानमा पहिरो गएको छ । लुम्बिनी प्रदेशका तराईका जिल्लाहरु रूपन्देही, पश्चिम नवलपरासी, कपिलबस्तु, दाङ, बाँके र बर्दिया पनि पानीको डुबानमा परेका छन् ।

नवलपरासीमा गण्डक, रुपन्देहीमा तिनाउ, दावन र रोहिणी, कपिलवस्तुमा वाणगंगा, दाङमा राप्ती नदीको सतह बढेपछि नदी किनारका बासिन्दाहरुलाई सुरक्षित स्थानमा सारिएको लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद पन्थीले बताए ।

  • १२ आश्विन २०८१, शनिबार प्रकाशित

  • Nabintech