कोहलपुर,बाँके:बिहीबारदेखि सुरु भएको निरन्तरको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । पानीको उच्च बहावका कारण अधिकांश जलविद्युत् आयोजना बन्द हुँदा आधाभन्दा धेरै विद्युत् आपूर्ति प्रभावित भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार विद्युत् प्रणालीमा २८ सय मेगावाट प्रवाह हुनुपर्नेमा शनिबार साँझको पिक समयमा एक हजार ३७० मेगावाट मात्र विद्युत् आपूर्ति हुन सकेको छ । काठमाडौँ उपत्यकामा चार सय मेगावाट आपूर्ति गर्नुपर्नेमा तीन सय मेगावाट मात्रै आपूर्ति गर्न सकिएको छ । नदीमा जलसतह खतराको अवस्थामा पुग्दा सुरक्षाका लागि अधिकांश आयोजना बन्द भएका हुन् । खास गरी सोलु खोला कोरीडोरका विद्युत् आयोजना, माथिल्लो तामाकोशी, चिलिमे, त्रिशूली खोला देवीघाट जलविद्युत् आयोजना पनि बन्द छन् । माथिल्लो त्रिशूली थ्री ए मर्मत नै भइरहेकाले विद्युत् उत्पादन छैन ।
अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१, लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवक्र्स) मा क्षति पुर्याएको छ । पानीको बहाव उच्च भएपछि शुक्रबार साँझ ७ बजेबाट विद्युत् उत्पादन बन्द गरिएको छ भने चार जना बेपत्ता छन् । आयोजनाका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमका अनुसार दुई जना आयोजनाका कर्मचारी र दुई जना नेपाली सेनाका जवान सम्पर्कविहीन छन् ।
गौतमले बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष, बालुवा थिग्य्राउने पोखरी (डिस्यान्डर) र नहर (कल्भर्ट) मा क्षति पुगेको छ । बाढीका कारण निजी क्षेत्रका दुई वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । बागमतीको बाढी र कुलेखानी जलविद्युत् आयोजनाबाट निकास भएको पानीसमेत थपिँदा २२ मेगावाटको माण्डु हाइड्रोको विद्युत् गृहमा ठुलो क्षति भएको जनाइएको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान) का महासचिव बलराम खतिवडाका अनुसार २१ मेगावाटको तल्लो हेवाखोला जलविद्युत् आयोजनाको हेडवक्र्स र पावरहाउसमा क्षति पुगेको छ । गत वर्ष वाढीले क्षति पुर्याएको १२ मेगावाटको माथिल्लो हेवाखोला जलविद्युत् आयोजनामा पुन क्षति पुगेको छ । आयोजना मर्मत सम्पन्न गरी शनिबारदेखि नै सञ्चालनमा ल्याउने तयारी थियो ।
प्रसारण लाइन पनि अवरुद्ध
प्रसारण लाइनका टावरहरू ढल्दा पूर्वी नेपाल र काठमाडौँ उपत्यकाको विद्युत् आपूर्तिमा समस्या भएको प्रवक्ता घोषले जानकारी दिनुभयो । दमक १३२ प्रसारण लाइनको ५१ नम्बरको टावर ढलेकाले इलामसहित ताप्लेजुङ, पाँचथरलगायतका जिल्लाका अधिकांश स्थान विद्युत्विहीन छन् । काठमाडौँ उपत्यकामा विद्युत् आपूर्ति गर्ने लामोसाँघु खिम्ती प्रसारण लाइनको सात नम्बर टावर ढल्दा उपत्यकामा विद्युत् आपूर्ति प्रभावित भएको छ । यसले गर्दा उपत्यकाको विद्युत् आपूर्ति प्रभावित भएको उहाँले बताउनुभयो । वर्षा जारी रहेकाले यी टावर पुनः निर्माण गर्न केही समय लाग्ने उहाँले जानकारी दिनुभयो ।
उपत्यकामा शनिबार दिउँसो आधाभन्दा धेरै विद्युत् आपूर्ति बन्द भएको थियो । बानेश्वर सबस्टेसनबाट ललितपुरको गोदावरी, इमाडोल, लुभु च्यासल क्षेत्रमा विद्युत् आपूर्ति भएका फिडहरू प्रभावित भएका थिए । भक्तपुर सबस्टेसनबाट खोपासी, नलिनचोक र बोडे खानेपानीलाई विद्युत् आपूर्ति दिइएका फिडर बन्द छन् । त्यस्तै पाटन सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएका खुमलटार, इमाडोल, सातदोबाटो, गोदावरी, हात्तीवन, चापागाउँ, खोकना, चक्रपथ, हरिसिद्धी, रेडियो नेपाल र लुभु फिडर बन्द गरिएको थियो ।