राप्तीसोनारी :राप्तीसोनारी गाउँपालिका वडा न ९ ढकेरीमा जंगली हात्ती आंतकका कारण स्थानीयवासीले हैरानी व्यहोर्नुपरेको छ । विगत ३ दिनदेखि बाँके राष्ट्रिय निकुञ्जको ढकेरी मध्यवर्ती क्षेत्र अन्तर्गतका बुचापुर, खैरी र गुरुवागाउँमा लगाइएको धानबालीमा हात्तीले क्षति पुर्याउन थालेपछि स्थानीयले आगो बालेर थाल, ड्रम ठटाउँदै, रातभर पहरा दिने गरेका छन् ।
हात्तीले खैरीका धन बहादुर वली, ओमप्रकाश परियार, सिह बहादुर वली, प्रेम बहादुर वली, बुचापुर क्षेत्रका पदम बहादुर परियार, भरत थारु लगायतको धानबालीमा खाने र कुल्चिएर क्षति पुर्याएको छ । हात्ती धपाउन स्थानीयवासीले बाटोमा आगो बालेर पहरा दिने गरेको स्थानीयवासी खुम बहादुर खड्काले बताए ।
भित्र्याउने बेलाको धानबाली जंगली हात्तीले नोक्सान गर्न थाल्यो निकुञ्जलाई खबर गर्दा वेवास्ता गर्छ रातभर नसुती पहरा दिनुपर्छ खड्काले भने अर्का स्थानीय भरत थारुले जंगली हात्ती गाउँमा पसेपछि निकुञ्जको गस्ती आउनुपर्नेमा त्यसो नभएको बताए ।
खैरीका स्थानीय सिंह बहादुर वलीले यता चुकेनालाले खेत कटान गरिरहेको र उता हात्तीले धानबालीमा नोक्सान गरेकोले के खाएर बाँच्ने चिन्ताले सताएको बताए । उनले कसैले कुरा नसुनिदिएकोमा दुःख व्यक्त गरे । ‘धानबालीको क्षतिपूर्तिका लागि जाउँ भने क्षति भएको एक भाग पनि पाईंदैन’ उनले भने ।
ढकेरी मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष दलबहादुर खड्काले जंगली हात्ती गाउँमा पसेपछि आफुलाई जानकारी हुनसाथ निकुञ्जसंग समन्वय गरि हात्ती धपाउन आवश्यक पहल गरिदिन जानकारी गराउने गरेको बताए । त्यस्तै बालीनाली क्षति भएमा मध्यवर्ती क्षेत्र समितिलाई जानकारी गराउन समेत अनुरोध गरेका छन् ।