१४ असार २०८२, शनिबार

निष्कृय सहकारीलाई कारबाही गर्दै राप्तीसोनारी
  • न्युज मानसराेवर

बाँके\ नियम अनुसार नचलेका सहकारीलाई बाँकेको राप्तीसोनारी गाउँपालिकाले कारबाही गर्ने भएको छ । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले कागजी रुपमा मात्र सिमित रहेर बसेका सहकारीलाई कारबाहीको प्रक्रिया सुरु गरिएको बताए ।

सहकारीका बारेमा आम मानिसमा नकारात्मक सन्देश गइरहेको बेला राप्तीसोनारीले सहकारी क्षेत्रलाई चुस्त र सक्षम बनाउने योजनासहित काम गरिरहेको अध्यक्ष पौडेलले बताए ।

बाँकेको राप्तीसोनारी गाउँपालिकामा ४४ वटा सहकारी रहेका छन् । त्यसमध्ये ३९ वटा सहकारीमात्र सक्रिय रहेको राप्तीसोनारी गाउँपालिका सहकारी शाखा प्रमुख गंगा वलीले बताए । सुरुआतमा निष्कृय रहेका सहकारीलाई ३५ दिन भित्र शेयर सदस्यको रकम फिर्ता गर्नुपर्ने गरी प्रतिवेदन पेश गर्ने समय दिइएको शाखा प्रमुख वलीलले जानकारी गराए ।

३५ दिन दिनभित्र प्रतिवेदनसहित सहकारीको प्रतिनिधिले समन्वय समितिमा सम्पर्क गर्न नआए सहकारी ऐन २०७४ र नियामवली २०७५ कारबाही गरिने वलीले भनेका छन। यसैगरी, समन्वय समितिको बैठकले नेपाल सरकारको कर्मचारीलाई सहकारीको कार्यसमितिको पदाधिकारी र लाभको पद लिएर बसेकालाई हटाउन निर्देशन दिएको छ ।

गाउँपालिमा सञ्चालनमा रहेको कतिपय सहकारीमा सरकारी कर्मचारीले समेत काम गरिरहेको गुनासो आएपछि त्यस्तो निर्णय गरिएको वलीले बताए ।  सरकारी कर्मचारीलाई पदबाट नहटाएमा सहकारी ऐन २०७४, नियमावली २०७५ र राप्तीसोनारी गाउँपालिकाको सहकारी एने तथा नियमावली २०७५ अनुसार कारबाही गर्ने गाउँपालिकाले तयारी गरेको छ ।

राप्तीसोनारी गाउँपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सहकारी र जनप्रतिनिधिको उपस्थितिमा समीक्षा गोष्ठी समेत आयोजना गरिएको थियो । राप्तीसोनारी गाउँपालिका स्तरीय सहकारी समीक्षा गोष्ठीलाई सम्बोधन गर्ने क्रममा पौडेलले काम नगरेर निष्कृय अवस्थामा रहेका सहकारीलाई कारबाही गर्ने बताए ।

उनले भने , ‘‘सहकारी देशको आर्थिक विकासको मेरुदण्ड हो । सहकारीमा गाउँघरमा थोरै पुँजी भएका जनताले बचत गर्छन् । उनीहरुले त्यो पुँजीको सुरक्षा गर्नु हाम्रो दायित्व हो । राप्तीसोनारीले सहकारी क्षेत्रलाई विकासको आधार मानेको छ । सहकारी क्षेत्र बलियो भयो भने गाउँपालिकाको आर्थिक स्तर पनि माथि उठदै जान्छ । त्यसैले हामी सहकारीलाई उत्पादनशील क्षेत्रमा काम गर्न आग्रह गर्दछौं ।’’

राप्तीसोनारी सहकारी समन्वय समितिको आयोजनामा भएको गाउँपालिका स्तरीय सहकारी समीक्षा गोष्ठीमा पालिका भित्र रहेका सहकारीका प्रतिनिधिहरुको उपस्थितिमा सहकारीका बारेमा छलफल समेत गरिएको थियो । राप्तीसोनारी सहकारी समन्वय समितिका अध्यक्ष जमानसिंह वलीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारु, वडा नम्बर ४ अध्यक्ष मीनबहादुर खड्का लगायतको सहभागिता रहेको थियो ।

यसैगरी, गोष्ठीमा गाउँपालिका उपाध्यक्ष थारुले मल र विउ वितरण गर्ने सहकारीले सबै जनतालाई समान रुपमा व्यवहार गरेर काम गर्नुपर्ने बताए । मल वितरणका क्रममा जनताहरुको धेरै गुनासो आएको बताउँदै उपाध्यक्ष थारुले आगामी दिनमा त्यस्ता गुनासो नआउने गरी काम गर्न सहकारीका प्रतिनिधिहरुलाई निर्देशन दिएका छन।

 

  • १६ आश्विन २०८१, बुधबार प्रकाशित

  • Nabintech