६ कार्तिक २०८१, मंगलवार

टी–२० सिरिज: ओमानमाथि नेपालको लगातार दोस्रो जित
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: कप्तान रोहित पौडेलको अलराउण्ड प्रदर्शनमा ओमानमाथि लगातार दोस्रो जित निकाल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडामा जारी टी–२० त्रिकोणात्मक सिरिजमा सुखद अन्त्य गरेको छ। बिहीबार बिहान सकिएको सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले ओमानमाथि ५६ रनको जित निकालेको हो।

सिरिजमा ओमानसँगको पहिलो खेलमा नेपालले ३७ रनको जित निकालेको थियो। क्यानडासँग भने नेपालले पहिलो खेलमा ४ विकेट तथा दोस्रो खेलमा १४ रनले पराजित भएको थियो। नेपालले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको ओमान १७।५ ओभरमा १ सय १ रन बनाउँदा अलआउट भयो।

जेसन मक्सुदले बनाएको ३५ रन नै ओमानका लागि सर्वाधिक रह्यो। कप्तान अकिब इलियासले २२ तथा प्रतिक अथाभालेले १२ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। १८ औँ ओभरमा कुशल भुर्तेलले दुई विकेट लिएपछि ओमान अलआउट भएको हो।

ओमानलाई कम स्कोरमा रोक्न नेपालका कुशल भुर्तेलले ३ विकेट लिए। रिजन ढकाल, सन्दीप लामिछाने र रोहित पौडेलले समान २ विकेट लिए। त्यसअघि क्यानडाको किंग सिटीमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५७ रनको योगफल तयार पारेको थियो।

कप्तान रोहित पौडेल ५६ रनमा अविजित रहे। उनले ४४ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै अविजित रहे। कुशल मल्ल १९, देव खनाल १८, आशिफ शेखले १६ रन बनाए। अनिल शाह र कुशल भुर्तेलले समान ११ रन थपे। सिरिजपछि नेपाली टोली अब स्कटल्यान्ड सम्मिलित आईसीसी विश्वकप लिग–२ एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि अमेरिकामा जानेछ।

  • १७ आश्विन २०८१, बिहीबार प्रकाशित

  • Nabintech