नेपालगञ्ज : नेपालमै पहिलोपटक पाँच बर्ष अघि सञ्चालनमा आएको नेपालगञ्ज २३ स्थित ल्याण्डफिल साइट फोहोरमैला व्यवस्थापनका लागि उपयोगी बने पनि प्रशोधन कार्य प्रभावकारी ढंगले हुन सकेको छैन ।
दैनिक फोहोर उठाएर ल्याण्डफिल साइटमा लगिए पनि प्रशोधनका लागि जनशक्ति अभाव हुँदा फोहोरलाई मोहरमा बदल्ने उद्देश्य हासिल गर्न कठिनाइ भएको छ ।
२०७६ भदौमा एशियाली विकास बैङ्क (एडिबी) को साझेदारीमा झण्डै ३९ करोड रुपैयाँको लागतमा एकीकृत फोहारमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र (ल्याण्डफिल साइट) बनेको हो ।
१३ विगाह पाँच कठ्ठा क्षेत्रफलमा फैलिएको ल्याण्डफिल साइटमा ३२ वर्षसम्म फोहोर व्यवस्थापन गर्ने लक्ष्य थियो । तर, गल्ने र नगल्ने दुई प्रकारका फोहोरलाई बजार क्षेत्रबाटै छुट्याएर ल्याण्डफिल साइटमा लगी नियमितरुपमा सेग्रिगेशन अर्थात् पृथकीकरण गर्न नसक्दा समस्या भएको छ । फोहरमैला व्यवस्थापनका क्षेत्रमा क्रियाशील अभियन्ता गोपाल प्रसाद गिरीले नेपालगञ्जको गौरबको रुपमा रहेको ल्याण्डफिल साइटमा प्रशोधनको कामलाई नियमित बनाइनुपर्ने बताए । यसमा नेपालगञ्ज उपमहानगरपालिकाले उदासीनता देखाएको गिरीको आरोप छ ।
नेपालगञ्जबाट दैनिक २४ देखि ३० टन फोहोर सङ्कलन हुन्छ । तर, महिनामा ४० टन जति फोहोर मात्रै सेग्रिगेशन भइरहेको छ । यो हिसाबले फोहोर व्यवस्थापनका लागि बनाइएका सेलहरू निर्धारित समय भन्दा निकै पहिले भरिने देखिएको छ । चार वटा सेल रहेकोमा एउटा सेलले ८ बर्ष धान्ने अवस्था छ ।
१५ देखि २० वर्षमा ल्याण्डफिल साइट भरिने जोखिम बढ्दै गएको छ । प्रशोधनको काम प्रभावकारी नहुँदा फोहोरको डङ्गुर थुप्रिँदै जान थालेको छ । ल्याण्डफिल साइट इन्चार्ज शिव लामिछानेले सोचे जसरी सेग्रिगेशन हुन नसकेको बताए । निर्धारित समय भन्दा छिट्टै ल्याण्डफिल साइट भरिने जोखिम बढेको लामिछानेको स्वीकारोक्ति छ ।
ल्याण्डफिल साइट आफ्नो मातहत आएपछि आर्थिक भार थेग्न नसक्ने कारण देखाउँदै नेपालगञ्ज उपमहानगरपालिकाले त्यति बेलै कर्मचारी कटौती गरेको थियो । जनशक्ति कटौती भए पश्चात् प्रशोधन मेसिनबाट हुने सेग्रिगेशनको काम ठप्प प्रायः भएको छ ।
पछिल्लो समय त झन कम्प्याक्टर मेसिन समेत बिग्रिएको अवस्था छ । सरसफाई तथा वातावरण शाखा प्रमुख इन्जिनियर प्रकाश डिसीले मेसिन बिग्रिएकाले अझ समस्या भएको बताए । जनशक्ति अभावले पनि समस्या भएको उनको भनाई छ ।