जब जिम्मेवारीले थिच्दै जान्छ, तब चाडबाडमा पनि फिकापनको महसुस हुने रहेछ। जुनबेला मलाई मेरो कर्तव्य थाहा थिएन, मेरो काँधमा जिम्मेवारी आएको थिएन, हो त्यो बेला म निर्धक्क भएर हर्ष अनि उमङ्गका साथ बडादसैँ मनाउने गर्दथेँ। त्यसबेला हरेक चाडपर्वहरू रंगीन हुने गर्दथे। तपाईंहरूले पनि बालापनमा बडादसैँको जुन आनन्द अनि उमङ्ग महसुस गर्नुहुन्थ्यो, त्यही आनन्द, उत्साह अनि उमङ्ग अहिले नभएको हुनसक्छ, नरहेको हुनसक्छ, होइन र?
स्कुलमा पढ्दै गर्दा बडादसैँ आउन लाग्यो भनेर आश्विन महिना लागेदेखि नै औधी खुसी हुने गर्दथ्यौँ। बडादसैँको घटस्थापनादेखि यमपञ्चकको भाइटीकासम्म विद्यालय छुट्टी हुने गर्दथ्यो। त्यतिखेर बिदाका बेलामा विद्यार्थीहरू बिग्रन सक्छन्, पढाइबाट उनीहरूको ध्यान अनि बानी हट्न सक्छ भनेर होला सायद, शिक्षकहरूले पनि धेरैभन्दा धेरै गृहकार्य दिने गर्नुहुन्थ्यो। सधैँभरि स्कुलमा पढ्दा पढ्दा दसैँतिहारका समयमा मज्जाले साथीभाइसँग खेलकुद गर्न पाइन्छ, आफन्तहरूसँग भेटघाट गर्न पाइन्छ अनि पढाइबाट ध्यान हटाउन पाइन्छ भनेर खुसी हुने गरेका हामीलाई गृहकार्यको बोझले केही गलाउँथ्यो।
तर पनि धेरैभन्दा धेरै समय मनोरञ्जनमा व्यतीत गर्न हामी घटस्थापनाकै दिन सम्पूर्ण गृहकार्य सकाई दसैँ तिहारभरि नपढ्न तयार हुन्थ्यौँ। त्यसबेला पढ्नबाहेक सम्पूर्ण कार्य गर्न हाम्रो मन मान्थ्यो। साँच्चै नै पढाइ भन्ने कुरा उसै त बोझ लाग्दथ्यो। अझ दसैँतिहारका बेलामा पनि लेखपढ गर्न भनेर शिक्षकबाट निर्देश हुँदा मन गह्रौँ हुने गर्दथ्यो।
उता बाआमाले आफूले चाहेझैँ या सोचेझैँ नयाँ नाना किनिदिनु हुन्छ कि हुन्न होला भनेर लाग्ने चिन्ता अझ बेग्लै हुन्थ्यो। दाजुभाइमा एकरूपता कायम गर्न सधैँ एकैथरीका कपडा किनेर टेलरको भैरव अङ्कललाई सिलाउन दिने गर्नुहुन्थ्यो। भैरव अङ्कललाई ‘भैरै अङ्कल’ भनेर हामी बोलाउने गर्थ्यौँ। लुगा कहिले तयार होला भनेर फूलपातीको दिनदेखि उहाँकैमा बास हुन्थ्यो।
त्यो लुगा सिलाएको हेर्दा हेर्दा यस्तो लाग्थ्यो, ‘आफैँ अर्को कल मागेर लुगा सिलाउँ कि! अब त लुगा सिलाएको हेर्दाहेर्दै म पनि धेरै जान्ने भइसकेको छु। बरु कसैको पनि पालो नमिची, अरु सबैको लुगा सिलाएर आफ्नो पालो आएपछि मात्र पहिले मेरो दिदीको अनि मेरो भाइको र अन्त्यमा मेरो लुगा सिलाउने थिएँ।’ फूलपातीदेखि महानवमीसम्मको करिब ३ दिनको अवधि भैरे अङ्कलकहाँ बित्ने गर्दथ्यो
भैरव अङ्कलले कुनै साल महानवमीका दिन त कुनै साल विजयादशमीका दिन बिहान मात्र नयाँ नाना तयार पारेर दिनुहुन्थ्यो। त्यो नयाँ नाना लगाइसके पछि बल्ल मेरो पनि दसैँ आयो है भन्ने भान हुन्थ्यो, खुसीको सीमा रहन्थेन। अनि नयाँ नाना लगाएर चारैतिर डुल्न रहर गरिन्थ्यो।
अहिले म मनन् गर्ने गर्छु, भैरे अङ्कललाई बिरामी हुने छुट पनि थिएन त्यसबेला। दसैँ त उहाँलाई पनि आएको थियो नि। लुगा सिलाउन नभ्याउँदा कुनै वर्ष त ‘यो दसैँमा भएन, अब तिहारमा लगाउनुहोला। अर्को साल पहिला सिलाइदिउँला’ पनि भन्नु हुन्थ्यो। त्यो बेलामा मन निकै अमिलो हुन्थ्यो, तर अर्को वर्षको दसैँमा भने अगाडि नै नयाँ लुगा लगाउन पाउनेछु भनेर आफैँले आफैँलाई सान्त्वना दिई सम्हाल्थेँ। डर लाग्थ्यो, कोही साथीहरूले देखेर ‘यसको त दसैँमा नयाँ लुगा नै छैन रहेछ’ भनेर गिज्याए भने मेरो हालत के होला। कक्षामा सधैँ अब्बल हुने म कतै दसैँमा नयाँ नाना नपाएर बेइज्जत पो हुने हो कि भन्ने डर ती समयमा मनमा सधैँ खेल्ने गर्दथे।
अर्कोतिर मासु दसैँको पर्याय जस्तै हुने गर्दथ्यो। महाअष्टमीका दिन बलि दिएपश्चात् बोकाको कान पोलेर खान पाइने आशामा बिहान ३ बजेदेखि उठेर आगो बालेर टिनमा पानी तताउन थाल्दथ्यौँ। काटमार हेर्न मलाई साह्रै डर लाग्थ्यो। खसी, बोका काट्ने बेलामा साहसीहरू भने कोही सिङ समातेर त कोही पछाडिका खुट्टा तानेर अनि कोही रगत थापेर आफ्नो बहादुरी प्रदर्शन गर्दथे। म भने मार हान्ने बेला भएपछि लुक्ने गर्दथेँ।
जे होस् त्यो खसी बोका कराएको आवाज नसुन्न म आफ्नो कान भन्ने थुन्ने गर्दथेँ। अरुको जिब्रोमा मिठो स्वाद पस्किन आफ्नो इच्छा अनि प्रकृतिको नियम विपरीत मर्दै गर्दाको प्राणीको चित्कारले त्यसबेला म पीडित हुँदोरहेछु। तर पनि मलाई त्यो बोकाको कान पोलेर खान पाए हुन्थ्यो भन्ने अभिलाषाले त्यसबेला कारुणिक सँगसँगैको एउटा रौद्र भावनालाई पनि ईङ्गित गरेको रहेछ भन्ने अहिले आएर बुझ्दैछु। हाम्रो दसैँलाई बडादसैँ बनाइदिन आवाजविहिन कति प्राणीहरूले यो धर्तीमा अरुको हातबाट प्राणको आहुति दिनुपर्ने रहेछ त भन्ने कुरा बल्ल बुझ्दैछु। त्यो प्राणीलाई यो प्राणको अस्तित्व रक्षा गर्न चाह त थियो होला नि!
पिङमा मच्चिनको मज्जा बेग्लै। एउटा साल गाउँमा गएर दसैँ मनाउँदै गर्दा पिङमा मच्चिइरहेको बेलामा खस्न पुग्दा बायाँ हात लामो समयसम्म नचल्ने भएको सम्झना छ। राइफलको तेल खोजेर मम्मीले महिनौँसम्म लगाएर मिचिदिनु भएपछि निको भएको थिएँ। त्यसपश्चात् पिङ खेल्न अनि खेलेको हेर्न त्यति रुचि जागेन।
तर दसैँका बेलामा चङ्गा उडाउन अनि बजारमा गएर अरुहरूले लङ्गुरबुर्जा खेलेको हेर्दा पनि खुबै मज्जा आउँथ्यो। धेरै पैसा हुने थिएन। कहिले सुका त कहिले मोहर अनि कहिले एक रूपैयाँ त कहिले दुई रूपैयाँसम्म। यी भन्दा बढी पैसा महँगा हुने गर्दथे। हामी बच्चाहरूलाई यति पैसा मात्र साथमा भए पनि धनी महसुस गर्ने गर्दथ्यौँ। कहिलेकाँही लङ्गुरबुर्जामा पैसा राख्दाराख्दा आफ्नोमा दाउ नआएपछि गोजीमा भएभरका सबै पैसा सकाएर निन्याउरो मुहार लिएर घर फर्किएको पनि छु। अनि पैसा गुमाउनुको पीडालाई कुन्नि के बहाना बनाई दिदीभाइसँग झगडामा रूपान्तरण गरेर रोइसकेपछि शान्त पनि हुँदोरहेछु। त्यो पनि अहिले आएर मात्र महसुस गर्ने गरेको छु। यावत् रूपमा दसैँका दिनहरू घर्किन्थे।
शत्रुमाथि विजय भएको दिन अर्थात् विजयादशमी। यो दिन आफ्ना भगवानरूपी मातापिता अनि मान्यजनबाट टीका, जमरा तथा शुभाशीर्वाद ग्रहण गरिन्छ। त्यसबेला पनि गरिन्थ्यो, तर पनि ध्यान भने दक्षिणामा बढी केन्द्रित हुने गर्दथ्यो। त्यो दक्षिणा जम्मा पारेर आफूलाई विगत लामो समयदेखि किन्न मन लागेका महँगा कुराहरू किन्न बकोध्यान जस्तै रहन्थ्यो। कोही ठूलाठालुले ठूलो पैसाको दक्षिणा दिँदा मम्मीले ‘खै ले म राखिदन्छु, फेरि हराउला’ भन्दा ‘पछि कसरी माग्ने होला’ भनेर दिनै डर लाग्दथ्यो। र भन्ने गर्दथेँ ‘म आफैँ राख्छु।’
सामान नकिनुन्जेलसम्म पैसा जोगाउन खुब चनाखो भइन्थ्यो। आफैँमाथि विश्वास नभएर कहिले किताब भित्र पैसा लुकाएर राख्ने गरिन्थ्यो र दिदीभाइले त्यो पैसा चोरिदेलान् भनेर भन्दै हिँडिन्थ्यो, ‘मैले पैसा किताबको बीच पानामा लुकाएर राखेको छैन।’ कहिले ती दक्षिणालाई जोगाउन ढुङ्गाको चेपहरूमा पनि राखियो भने कहिलेकाँही त खाल्डो खनेर प्लास्टिकले बेरेर माटोले पुर्दै बाहिर निसाना पनि छाड्ने गरिन्थ्यो।
विजयादशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्ममा टीका लगाएर त्यसबेला बढीमा २०÷२२ रूपैयाँ मात्र जम्मा हुने गर्दथे। त्यसबेलाको त्यति दक्षिणाको महत्त्व अनि औचित्य अहिलेको लाखौँ रूपैयाँले पनि पुष्ट्याइँ गर्न सक्छ जस्तो मलाई लाग्दैन।
बुवा सरकारी जागिरे भएका कारण रसुवा जिल्लाको सदरमुकाम धुञ्चेमा बसेका थियौँ। घर अनि मामाघर भने नुवाकोट जिल्लामा थियो। दसैँमा मान्यजनबाट टीका आशीर्वाद ग्रहणका लागि घर अनि मामाघर जाने गर्दथ्यौँ। घर र मामाघर जम्मा १० मिनेटको दूरीमा थियो भने जहाँ बसेका थियौँ, त्यहाँबाट दसैँमा घर अनि मामाघर जान टाढा पर्दथ्यो करिब एक दिन।
त्यही दसैँका बेलामा अनि विशेष गरी हिँउदे बिदा र वर्षेबिदामा हामी गाउँको घर र मामाघर जाने गर्दथ्यौँ। त्यही बेलामा मोटर बस चढ्न पाइन्थ्यो। मोटरबस चढ्न पनि कयौँ महिना प्रतीक्षा गर्नु पर्दथ्यो। धेरैजसो समय त डाँडाहरूमा बस कुदेको हेरेर पनि एक किसिमको आनन्द लिने गर्दथ्यौँ। लामोदूरीमा मोटरबस चढ्न पाउनुको मज्जा पनि बेग्लै हुन्थ्यो। आनन्द लाग्थ्यो, आफैँ कुद्ने मोटरबसमा चढेर यात्रा गर्न पाएकोमा अनौठो किसिमको गर्व लाग्दथ्यो। अझ बसका चालकलाई देखे पश्चात् ठूलो भएर म पनि ड्राइभर बन्छु भन्ने विचारहरू मनमा आउँथे।
धुञ्चेदेखि बसबाट यात्रारम्भ गरे पश्चात् बेत्रावती भन्ने स्थानमा झरेर नुवाकोट जिल्ला र रसुवा जिल्लाको सीमामा पर्ने अर्चले भन्ने स्थानमा रहेको घर अनि मामाघर पुग्न झण्डै २ घण्टा पैदल हिँड्नु पर्थ्यो, त्रिशुली नदीको किनारै किनार। मामाघर पुग्ने आशामा कत्ति पनि थाकिँदैनथ्यो। अझ दसैँको बेलामा त हिँडेरै धुञ्चेदेखि नुवाकोटसम्म जानु पर्दथ्यो किनकि विजयादशमीका दिन सवारीसाधन खासै चल्दैनथ्यो त्यसबेला।
मामाघरमा पुग्दा भाञ्जाभाञ्जी आउनुभयो भनेर छुट्टै किसिमको सत्कार हुन्थ्यो। नाति भन्दै सधैँभरि मलाई माया गर्ने आदरणीय हजुरआमा, ९० सालको भुइँचालोमा परेर कान नसुन्ने हुनुभएका आदरणीय हजुरबुवा, काँधमा बोकेर मेरो भाञ्जा भन्दै मलाई गाँउभरि डुलाउने मेरा आदरणीय मामा अनि मिठोमिठो पकाएर खुवाउने प्यारी माइजूको माया अनि ममता पाउन झण्डै वर्षभरि तड्पिएका हामी दिदीभाइहरूभित्र संसार विजयी भएको अनुभूत गर्दथ्यौँ मामाघर जान पाउँदा मात्र। घरमा पनि त्यत्तिकै माया ममता। घरका हजुरबुवा हजुरआमा अनि काकाकाकीहरूले पनि उत्तिकै माया गर्नुहुन्थ्यो। घरमा, मामाघरमा विभिन्न ठाउँबाट टीका लगाउन भेलाजम्मा भएका काकाकाकी, दिदीभाइ लगायतका सबै आफन्तजनको उपस्थितिले साँच्चै गाउँमा दसैँ आएको आभास हुन्थ्यो। ती क्षणहरू अहिले भने मेरा मानसपटलमा मात्र सीमित रहेका छन्।
जसरी विजयादशमीसँगै एकादशी, द्वादशी, त्रयोदशी, चतुर्दशी हुँदै कोजाग्रत पूर्णिमाको दिन आउँथ्यो, तब दसैँ त सकिइहालेछ नि भनेर मनमा एउटा नैरश्य पनि छाउँथ्यो। तैपनि यमपञ्चक आउनेवाला हुन्थ्यो र तिहारको पर्खाइमा फेरि खुट्टा उफार्दै आफ्ना दिदी, भाइ अनि सहउमेरका साथीहरूमाझ रम्न पुग्थेँ। बालमस्तिष्कमा सिर्जित विचारहरू अनि अनुभवहरू साथीहरूसँग आफ्नो शैलीमा साझेदार गर्दै दसैँको समीक्षा गर्नुको मज्जा बेग्लै हुने गर्थ्यो।
अहिले म याद गर्ने गर्छु, मेरो दिदी अनि भाइले नयाँ नाना लगाउँदा कुनै वर्ष त मेरो मम्मीलाई पनि ब्लाउज र धोती किनिदिने गर्नहुन्थ्यो बाले। तर मेरो बा भने सधैँ उही पुरानो लुगामा सजिनु हुन्थ्यो। कहिलेकाँही उहाँले पनि नयाँ लुगा किन्ने गर्नुहुन्थ्यो, तर त्यो हुन्थ्यो ढाकाटोपी। उहाँलाई पहिलेदेखि नै ढाकाटोपी लगाइरहन मन पर्थ्यो रे। सरकारी कर्मचारीको तलबले नपुग्ने, दसैँमा घरमा चिचि पकाउन, जहान अनि छोराछोरीलाई नयाँ नाना किनिदिन कति दुःख गरेर अपुग पैसाको जोहो गर्नुहुन्थ्यो, त्यो पनि आंशिक ऋणका रूपमा।
दसैँमा आउने भत्ताले कति ठाउँ टार्नुपर्ने हुन्थ्यो। खाइनखाई छोराहरूलाई बोर्डिङ्ग स्कुलमा पढाउने धोकोका कारण दसैँमा पनि बाध्यतामा परेर प्रायः ऋण लिने गर्नुहुन्थ्यो। त्यो ऋण तिर्न कयौँपटक भाखा सारेको पनि मेरो बालमस्तिष्कमा कैद छ, ढिलो भए पनि इमान्दारीपूर्वक अर्काको सहयोगलाई फिर्ता गर्नुपर्छ भन्ने गर्नुहुन्थ्यो। माघ फाल्गुणसम्म लगाएर बुवाले ती ऋण तिरिरहनु हुन्थ्यो। परिवारको खुसी अनि छोराछोरीको शिक्षादीक्षामा उहाँले सदैव आफूलाई समर्पित गराउँदै आउनुभयो।
कहिल्यै आफ्नो लागि नयाँ नाना नकिनेको देखेपछि एउटा वर्ष दसैँताका हिम्मत गरेर म लजालु छोराले सोधेँ उहाँलाई, ‘बा तपाईंलाई चाहिँ नयाँ लुगा किन्नु पर्दैन? बरु म यसपालि पुरानै लुगा लगाउँछु, तर तपार्इं नयाँ लुगा सिलाउनु न।’
यति मात्र के भनेको थिएँ मेरो बा त भक्कानिनु भएछ, बेजोडसँग। मैले छोरा मान्छे रुँदैनन् भन्ने सुनेको थिएँ, मेरा बा पनि छोरा मान्छे हुनुहुन्थ्यो, नरुनु पर्ने। मनमा जिज्ञासा सुरु भयो। अनि फेरि हेरेँ बाको अनुहार। बाले रुञ्चे स्वरमा भन्नुभयो ‘तिमीहरू खुसी भए मलाई त्यही त हो मेरो दसैँ।’ छ्या! हाम्रो बा रोएको त कस्तो नसुहाएको। बरु मम्मी रोएको राम्रो देखिन्छ। मेरा मनमा विचारहरू उब्जिए।
त्यसअघि मैले मेरो बालाई कहिल्यै कमजोर देखिनँ। जब म बासँग हुन्थेँ, तब मलाई लाग्दथ्यो, यो संसारमा मलाई कसैले हराउन सक्दैन, किनकि परिआउँदा मेरो रक्षा गर्ने मेरो बा साथमा हुनुहुन्छ। विजयादशमीका दिन सवारीसाधन कम चल्ने गर्दथ्यो। अनि विजयादशमीकै दिन आफ्ना भगवानरूपी बाबुआमाको हातबाट टीका लगाउनु पर्छ भनेर रसुवाको सदरमुकाम धुञ्चेदेखि नुवाकोट जिल्लाको साविक मनकामना गाविस– वडा नं. ८ अर्चले भन्ने स्थानसम्म बाको काँधमा बसेर घोप्टेभिरमा त्यो मध्यरातमा ब्याट्रीवाला टर्चको सहायताले हिँडेको अनुभव मैले बासँग गरेको छु।
कुनामा कुलो, छङ्गछङ्ग धुन निकाल्दै पानी बगिरहेको थियो, अनि यही आवाजमा जुनकिरीले पस्किरहेको थियो किरिरिरिको धुन। कहिलेकाँही तल त्रिशुली नदी सुसाएको पनि सुनिन्थ्यो। पहाडको अफ्ट्यारो गोरेटो बाटोमा हिँड्दै गर्दा चन्द्रमाको हल्का प्रकाशले पनि साथ दिई नै रहेको थियो। भिरालो अनि डरलाग्दो पहाड, साँघुरो बाटो, एउटा खुट्टा फुस्किएमा मात्र पनि झण्डै तीन सय मिटर तल त्रिशुली नदीमा पुग्ने भिरालो स्थानमा हिँड्दै गर्दा बाको काँधमा कपाल समातेर निर्धक्कका साथ बसिरहँदा मलाई के लाग्थ्यो भने यदि बाको खुट्टा चिप्लिएर लड्न लागेमा म उहाँलाई यो कपाल समातेरै भए पनि जोगाउँछु, अहिले मेरो बा कमजोर हुनुहुन्छ, उहाँलाई मैले रक्षा गरिरहेको छु। मेरो बाल चेतना।
अहिले त्यसस्थानमा नेपाल–चीन जोड्ने राजमार्ग निर्माण भइरहेको छ, करिब करिब अन्तिम चरणमा पुगेको छ। दुई लेनको उक्त पिचबाटोमा एक्लै मोटरसाइकलमा यात्रा गर्दा मलाई त्यो बाटोमा दिउँसोको समयमा अहिले पनि डर त लाग्छ भने त्यतिखेर बाटोघाटो नभएको बेलामा पनि घाँसमा समाउँदै, झुण्डिएर, रातको समयमा घोप्टेभिरमा हिँड्दै आफ्नो सन्तानलाई सुरक्षित साथ गन्तव्यमा पुर्याउने अदम्य साहस एउटा पितासँग मात्र हुन्छ। मैले बालाई कहिल्यै थाकेको देखिनँ, कहिल्यै गलेको देखिनँ। परिवार अनि सन्तान परिआएमा सिंगो पहाड उचालेर हिँड्न सक्ने अदम्य साहस भएको एउटा नायकका रूपमा मात्र देखेँ। वास्तवमा बा मेरा लागि नायक नै हुनुहुन्थ्यो। असल पिता हरेक सन्तानका लागि नायक नै हुने गर्दछन्, मात्र आफ्ना अभिभावक अनि उनीहरूको त्याग र समर्पणभावलाई मनन् गर्न सक्ने सन्तान हुन जरुरी हुन्छ।
त्यो बेलामा हामीसँग पर्याप्त पैसा थिएन, हो अहिलेको जस्तो विकास पनि थिएन त्यसबेलामा। हातहातमा मोबाइल फोन थिएन। हप्तौँ कुरेर पीसीओ बुथमा पुगी लाइन बसेर ल्यान्डलाइनबाट आफन्तजन अनि काम परेकाहरूसँग फोन गरेको अनुभव हामीले गरेका छौँ।
पैसाको अभाव, नजिकै आधुनिक बजारको अभाव, सवारीसाधनको अभाव, सूचना तथा सञ्चार प्रविधिको अभाव, यस्ता विभिन्न हजारौँलाखौँ अभावहरू पक्कै थिए। ती कुराहरूको पूर्ति अहिले भइरहेको होला। तर पनि त्यो बेलाको दसैँ र अहिलेको दसैँ।
भगवानसँग मागेर पाउने भए म फेरी अनुरोध गर्ने थिएँ कि मलाई त्यो बालापनको दसैँ फर्काइदेऊ न भनेर। जहाँ जिम्मेवारी थिएन, जहाँ मैले पूरा गर्नुपर्ने कर्तव्यको बोझ थिएन। थियो त केवल हर्ष, उत्साह, उमङ्ग अनि उल्लासमय वातावरण। पारिवारिक भेटघाट, आफन्तजनसँगको न्यानोपनको स्पर्श, स्मृति साटासाट, भावनात्मक सम्बन्धमा मजबुती, ठाउँठाउँमा हुने गरेका नाचगान, कौडा खाल, निधारभरि टीका र जमरा, आकाशमा उडिरहेका चङ्गाहरू, पालो कुरेर चाम्लिङ फोटो स्टुडियोमा खिचेका फोटाहरू। यी अनि यस्ता कुराहरूलाई कुरेर दसैँलाई स्वागत गर्न पाउँदाको उमङ्ग अलग्गै हुन्थ्यो।
कयौँ समय पर्खिएपछि आएको दसैँले ल्याएको बहार र खुसीहरूलाई शब्दमा अभिव्यक्त गर्न निश्चय नै गाह्रो हुन्छ। यस्ता यावत् अनि अनगिन्ती सम्झनाहरू मेरो मानसपटलमा ताजै छ। अहिलेको यस क्षणमा सम्पूर्ण कुराहरू पस्किन पक्कै पनि कठिन छ। सम्पूर्णमा बडादसैँको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछु!